थकाली परिकारलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा ‘जिम्बु थकाली’, दिल्लीमा फ्रेञ्चाइज खोल्दै

बिजमाण्डू
२०७८ बैशाख ६ गते १२:५५ | Apr 19, 2021
थकाली परिकारलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा ‘जिम्बु थकाली’, दिल्लीमा फ्रेञ्चाइज खोल्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। थकाली खाना पस्किँदै आएको टंगालको 'जिम्बु थकाली' रेष्टुरेन्टले भारतको नयाँ दिल्लीस्थित आफ्नो फ्रेञ्चाइज सञ्चालनमा ल्याउने भएको छ।

मुलकको रैथाने परिकार परिकारसँगै संस्कृति प्रवर्द्धन पनि हुने भएकाले दिल्लीको कनाट प्यालेसमा फ्रेञ्चाइज सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक विवेकमान शेरचनले बताए। 'हाम्रो कल्चर सेयर भयो तर कलिनरी कल्चर भने सोचे जति सेयर हुन सकेन। अब काठमाडौंमै हेर्ने हो भने कयौं भारतीय परिकार पस्कने रेष्टुरेन्ट चलेका छन्। दिल्लीमा भने नेपाली परिकार पस्कने रेष्टुरेन्टको संख्या औंलामा गन्दा पनि नभेटिने छन्,' उनले भने, 'हामीले नेपाली रैथाने थकाली खाना प्रवर्द्धन गर्न दिल्लीमा आफ्नो फ्रेञ्चाइज सञ्चालनमा ल्याउन लागेका हौं।'  

हाल काठमाडौंका टंगाल र झम्सिखेलमा सेवा सञ्चालन गर्दै आएको रेष्टुरेन्टको फ्रेञ्चाइज दिल्लीमा बहिनी र साथीले चलाउन लागेको शेरचनले बताए। 'थकाली संस्कृति र रैथाने परिकारले आफ्नै मौलिकता र महत्त्व राख्दै आएको छ। खानामार्फत उत्तर र दक्षिण संस्कृतिलाई जोड्ने उद्देश्यले हामीले दिल्लीमा आफ्नो सेवा विस्तार गर्न लागेका हौं,' उनले भने, 'भारतीयहरु खानाको पारखी हुन्छन्। थकाली परिकार यसै पनि उनीहरुको रोजाइमा उत्कृष्ट हुँदै आएको छ।' 

मुलुकमा भारतीय परिकार प्रवर्द्धन हुँदै आए पनि नेपाली रैथाने परिकार भारतीय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन नभएको उनी बताउँछन्। तर नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले थकाली परिकार रुचाउँदै आएको उनको भनाइ छ। विश्व बजारमै थकाली परिकारको माग आएसँगै आफ्नो सेवा अन्तर्राष्ट्रिय बजारमा लाने क्रममा रेष्टुरेन्ट सुरुमा भारतीय बजारदेखि आफ्नो सेवा विस्तार गर्न लागेको उनले बताए।
काठमाडौं-दिल्ली-काठमाडौं हुँदै आएको आउजाउलाई मध्यनजर गर्दै सुरुमा दिल्लीमा आफ्नो सेवा विस्तार गरेको उनले बताए। यो क्षेत्रमा रहेका भारतीयसँगै वर्षौँदेखि कार्यरत नेपालीको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तार गर्दा नेपाली खानाले बजार पाउने विश्वास उनको छ। 
   
उनका अनुसार दिल्लीमा सेवा विस्तार गरिएसँगै थकाली परिकारमा प्रयोग हुँदै आएको टिमुर, जिम्बु लगायत विभिन्न पाक सामाग्री (इन्ग्रिडीयन्ट्स) नेपालबाटै पठाइने छ। 'यसरी सेवा विस्तार गर्दा मुलुकको रैथाने परिकार र योसँग जोडिएको संस्कृतिको प्रवर्द्धन त हुन्छ नै। यो सँगै हाम्रै मुलुकमा उब्जाउ हुँदै आएको फापर, टिमुर, जिम्बु लगायतको निर्यातको पनि बाटो खुल्छ,' शेरचनले भने, 'अहिले पनि हामीले आफ्नो परिकारमा हिमाली क्षेत्रमा उत्पादन हुँदै आएको जिम्मु, टिमुर लगायतका सामाग्री प्रयोग गर्दै आएका छौं। खास स्वाद दिन हाम्रा परम्परागत मसलाको विशेष भूमिका हुन्छ र दिल्लीमा पनि हामीले यहीँको सामाग्री प्रयोग गर्नेछौं।'

दुई वर्षदेखिको तयारी 
दिल्लीमा आफ्नो फ्रेञ्चाइज विस्तारका लागि रेष्टुरेन्टले दुई वर्षदेखि सम्भाव्यता हेरिरहेको उनी बताउछन्। 'काठमाडौं-दिल्ली सामान्यता दैनिक दर्जनौं उडान हुने गर्छ। हामीले भारतीय बजार पनि अध्ययन गर्‍यौं। अहिले दिल्लीमा मःमः को राम्रो प्रवर्द्धन भइरहेको छ। भारतीयहरु खानेकुराको पारखी हुने भएकाले हाम्रो थकाली परिकार अवश्य मन पराउने छन्।'

जिम्बु थकालीको फ्रेञ्चाइज सञ्चालनमा ल्याउन दिल्लीको ऐतिहासिक क्षेत्र कनाट प्लेसमा एक वर्षअघि नै आउटलेटका लागि स्पेस लिएको उनले जानकारी दिए। 'कोभिड सुरु हुनु अगाडि नै हामीले स्पेस लिइसकेका थियौं। सम्झौताका लागि जाने तयारीका बेला कोभिड महामारीले जान नसकेपछि त्यो स्पेस पाएनौ। फेरि नयाँ स्पेसका लागि दिल्ली जाने योजना छ।'  

कनाट प्लेस भारतको राजधानी दिल्लीको फाइनान्सियल अब मानिन्छ। उक्त क्षेत्रलाई फेञ्चाइज आउटलेटका लागि रोज्नुमा सम्भाव्यता हेरेको उनले बताए। दिल्लीको फ्रेन्चाइजमा लगानीको केही हिस्सा आफ्नो पनि हुने शेरचनले जानकारी दिए। थकाली खाना सेवा दिँदै आएको 'जिम्बु थकाली' करिब पाँच वर्षअघि  सञ्चालनमा आएको रेष्टुरेन्ट हो।

१५ वर्ष अमेरिका बसेर आएका शेरचनले जिम्बु थकाली सञ्चालनमा ल्याउनु अघि  भाटभटेनीमा क्यापिटल ग्रिल रेष्टुरेण्ट चलाएका थिए। भूकम्पका कारण यो अमेरिकन डाइनिङ रेष्टुरेन्टलाई उनले टंगालमा स्थान्तरण गरेका थिए। टंगालमा आएसँगै थकाली परिकारलाई नै प्रवर्द्धन गर्ने अवधारणा आएको बताउँदै उनले भने, 'अमेरिकन डाइनिङ सेवा दिँदै आएको थिएँ। जति अमेरिका बसे पनि आखिर मन त थकाली नै हो।' त्यसपछि क्यापिटल ग्रिल र जिम्बु थकालीलाई मर्ज गरेर सञ्चालनमा ल्याएको उनले सुनाए।

जिम्बु थकालीको व्यवसाय राम्रो भएसँगै उनले झम्सिखेलमा आफ्नो सेवा विस्तार गरेका हुन्। हाल सञ्चालित  दुई आउटलेटमा ७० जना जनशक्ति कार्यरत छन्। 

तेस्रो आउटलेट बानेश्वरमा 


जिम्बु थकाली रेस्टुरेन्टले बानेश्वरमा तेस्रो आउटलेट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। दुई वटा फ्लोरमा एक सय १५ जनाको क्षमताको यो नयाँ आउटलेट डेढ महिनाभित्र सञ्चालनमा ल्याउने काम सुरु भइसकेको उनले बताए।

टंगालबाट बिस्तार हुँदै झम्सिखेलपछि बानेश्वरमा बिस्तार हुँदा जिम्बु थकालीका तीन आउटलेट हुनेछन्।