व्यवसायिक संगठन नेतृत्वलाई साक्षी राखेर व्यापारीले किन लगाए बालुवाटारमा टीका?

बिजमाण्डू
२०७७ चैत्र १३ गते १४:५१ | Mar 26, 2021
व्यवसायिक संगठन नेतृत्वलाई साक्षी राखेर व्यापारीले किन लगाए बालुवाटारमा टीका?


Tata
GBIME
Nepal Life

काठमाडौं। चैत ६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई छलफलका लागि बोलाएको भन्दै प्रमुख आर्थिक सल्लाहकार एवं व्यवसायी मोतीलाल दुगडले म्यासेज पठाए।

दुगडले पठाएको म्यासेजमा भनिएको थियो-सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायको बारेमा छलफल गर्न खोज्नुभएकाले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु।’ यो म्यासेज पाएपछि उद्योगी व्यवसायी शुक्रबार साढे ४ बजे नै प्रधानमन्त्री निवास पुगे। 

प्रधानमन्त्री ओलीसहित सबैजसो मन्त्रीसहित भएको छलफल कार्यक्रम सञ्चालन उनै आर्थिक सल्लाहकार दुगडले गरे। उद्योगीको परिचय बनाएर सद्भावना पार्टीबाट सभासद, आफ्नै दल निर्माण हुँदै नेकपा एमाले प्रवेश गरेर उद्योग राज्यमन्त्री बनेका दुगडले तयार पारेको सेड्युल अनुसार विभिन्न व्यवसायिक संस्थालाई बोल्ने अवसर दिइएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, साना तथा घरेलु उद्योग महासंघहुँदै मारवाडीसँग सम्बन्धित संस्थाका प्रतिनिधिले बोलेका थिए। त्यसपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीको भाषण सकिएपछि एकाएक एमाले प्रवेश गरेका उद्योगी व्यवसायीलाई स्वागत गर्ने कार्यक्रम घोषणा गरियो। यो घोषणासँगै व्यवसायीहरु अक्क न बक्क परेका थिए। घोषणासँगै कतिपय व्यवसायी भने अर्को कार्यक्रममा सहभागी हुन भन्दै बालुवाटारबाट बाहिरिएका थिए। तर दुगडले प्रधानमन्त्री ओलीकै आग्रहमा व्यवसायीका लागि मारवाडी भोजन तयार पारिएको भन्दै अन्तिमसम्म बस्न बाध्यात्मक अवस्था सिर्जना गरेका थिए।

यो घोषणापछि व्यवसायिक मुद्दामा छलफलमा बोलाएर आफूलाई फसाएको अनुभव केही उद्योगी-व्यवसायीले गरे। 

‘प्रधानमन्त्रीसँग उद्योग व्यवसायको मुद्दामा छलफल होला भनेर गएका थियौं। तर हामीलाई साक्षी राखेर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराउने काम भयो,’ एक व्यवसायीले भने, ‘यो सरासर गैर व्यवसायिक काम थियो। सँगै अरु व्यवसायीलाई समेत मनोवैज्ञानिक दबाब दिन योजनाबद्ध रूपमा गरिएको काम हो भन्ने हामीले बुझेका छौं।’ ती व्यवसायीका अनुसार दुगडले आफ्नो राजनीति बलियो बनाउन तयार पारेको योजनामा अरु व्यवसायीलाई फसाए।

‘दुगडले आफ्नो पद बचाउन र राजनीतिक भविष्य सुनिश्चित पार्न अरु व्यवसायीलाई ट्रयापमा पारे,’ ती व्यवसायीले भने, ‘गैरराजनीतिक पदमा बसेका व्यवसायीलाई समेत विवादमा तान्ने प्रयास गरियो।’ यो योजनाले राम्रा व्यापारी प्रधानमन्त्रीसँग झन् बिच्किएका छन्। दुगडले आफ्नो स्वार्थसिद्धिका लागि प्रधानमन्त्रीलाई समेत उपयोग गरेको व्यवसायीको निष्कर्ष छ।

अझ नेपाल उद्योग वाणिज्य महासंघको विधानमै राजनीतिक पद धारण गर्ने व्यक्तिले पदाधिकारीमा बस्न नपाउने व्यवस्था नै छ। त्यही व्यवस्था अनुसार व्यवसायी प्रमोद श्रेष्ठको जिल्ला-नगर उपाध्यक्ष पद खोसिएको थियो। उनी एमालेका तर्फबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवार बनेपछि महासंघको उपाध्यक्ष पद खोसिएको थियो।

एमालेमा प्रवेश गर्नेको सूची देखेर अचम्मित
उद्योगीको भेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समेत आफ्नो मन्तव्य राखेका थिए। उनले प्रधानमन्त्रीज्यू र सरकारले विगत एक वर्षमा कोभिड नियन्त्रण र खोप वितरणमा गर्नुभएको उदाहरणीय काम भन्दै प्रशंसा गरेका थिए। उनको भाषणको व्यापारिक जगतमा अहिले पनि चर्चा परिचर्चा भइरहेको छ।
पढ्नुहोस्- शेखर गोल्छाले प्रधानमन्त्री ओलीको गरे प्रशंसा, ‘बजेट र मौद्रिक नीतिले व्यवसाय तंग्रिन पायो’

उद्योगी व्यवसायीसँगको छलफल कार्यक्रम सकिएपछि पार्टी प्रवेशको सूचीमा शेखरका भतिजा हितेश गोल्छाको समेत नाम बोलाइयो। हितेश एमालेमा प्रवेश गर्ने विषय शेखरले त्यहीँ थाहा पाए। हितेश दिवाकर गोल्छाका छोरा हुन्। गोल्छा परिवारबीच २०७३ सालमै अशंबण्डा भने भइसकेको छ। हितेश मात्रै होइन कतिपय संयुक्त लगानीमा व्यवसाय गर्दै आएका साझेदारलाई समेत जानकारी नदिई बालुवाटारमा एमालेको टीका थाप्न पुगेका थिए।

‘एउटै उद्योग व्यवसायमा साझेदार रहेकाले समेत आफ्नो साथीभाईलाई एमाले प्रवेश गर्दैछौं भन्ने जानकारी दिएका थिएनन्। योजनाबद्ध रूपमा पार्टी प्रवेश गराएर हलचल ल्याउने रणनीति बालुवाटारबाट भएको देखिन्छ,’ ती व्यापारीले भने।

केहीको स्वार्थ, केहीलाई दबाब
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग टिका लगाउने केही व्यवसायीले आफ्नो व्यवसायिक स्वार्थ हेरेको देखिन्छ भने कतिपयलाई मनोवैज्ञानिक दबाब समेत दिएको स्रोत बताउँछ।

हितेशले गैंडाकोटमा रहेको भृकुटी कागज कारखानाको जग्गा र रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सको जग्गा बेच्ने योजना बनाएको धेरै भइसकेको छ। तर यी दुवै जग्गा बेच्न कानुनीदेखि स्थानीय लफडा छ। यो सबै लफडा मिलाउने आशा र भरोसामा हितेश एमाले प्रवेश गरेको उनी निकट एक व्यवसायीले बताए। कतिपयलाई भने दुगडले राजस्व लगायतका लफडाको सहजीकरण गरिदिने आश्वासन दिएर पार्टी प्रवेश गराएको स्रोत बताउँछ।

‘तपाइँहरुलाई केही समस्या पर्न सक्छ, त्यसैले अहिले नै एमाले प्रवेश गरेर सहज बाटो तय गर्नुहोला,’ दुगडले कतिपय व्यवसायीलाई भनेका थिए, ‘कुनै समस्या आएमा पछि हामीलाई नभन्नुहोला।’ दुगडबाट आएको मनोवैज्ञानिक दबाबका अगाडि केही व्यवसायीले पार्टी प्रवेश नगरी धर नै पाएनन्।

‘कसैलाई फसाएको छैन’
प्रमुख आर्थिक सल्लाहकार दुगडले बालुवाटारको कार्यक्रम दुई चरणको रहेको पूर्व जानकारी रहेको बताउँदै कुनै पनि व्यवसायीलाई फसाउने नियत नभएको बताए। ‘प्रधानमन्त्रीसँग छलफल गर्ने उद्योगी व्यवसायीलाई छुट्टै र पार्टी प्रवेश गर्नेको छुट्टै निम्ता थियो। उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल सकिएपछि उहाँहरु डिनरमा जानुभयो। त्यसपछि पार्टी प्रवेशको कार्यक्रम गरिएको थियो,’ उनले बिजमाण्डूसँग भने।

उनले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न व्यवसायीलाई प्रयोग गरेको भन्ने मिथ्या आरोप रहेको बताए। ‘मेरो स्वार्थ भनेको उद्योग व्यवसायको विकाससँगै मुलुकको आर्थिक समृद्धि हो। मैले धेरै पद पाइसकेको छु,’ दुगडले भने, ‘मैले उद्योगी व्यवसायीलाई राजनीतिक स्पेस तयार पारिदिएको हो। उद्योगी व्यवसायीले पनि राजनीतिक नेतृत्व गरेर मुलुकलाई सफल बनाउन भूमिका खेल्न सक्छन् भन्नका लागि पार्टी प्रवेश लगायतको कार्यक्रम गरिएको हो।’

दुगडले व्यवसायीको स्वार्थ वा दबाबका आधारमा पार्टीमा आएको भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे। ‘गोल्छा परिवारलाई कसले दबाब दिन सक्छ?’ उनले भने, ‘स्वार्थका आधारमा उहाँहरु एमालेमा आउनुभएको होइन। स्वेच्छाले आउनुभएका सबैलाई विभिन्न जिम्मेवारी दिनेछौं।’

डर धम्कीको श्रृंखला
ओली नेतृत्वको सरकार आएपछि उद्योगी व्यवसायीमाथि विभिन्न खाले मनोवैज्ञानिक दबाब परिरहेको थियो। डा. युवराज खतिवडाले ल्याएका तीन वटा बजेटको आलोचना गर्ने उद्योगी व्यवसायीलाई अर्थमन्त्रालयका उच्च तहका अधिकारीले फोन गरेर हप्काउने गर्थे। उनीहरुले बजेटमा भएका राम्रा पक्ष मात्रै बोल्नका लागि दबाब दिने गरिन्थ्यो। खतिवडाले उद्योगी व्यवसायीका राम्रा सुझाव सुन्नै चाहेनन् बरु उल्टै हप्काए।

त्यसपछि उद्योगी व्यवसायीले सरकारको आलोचना गर्न नै छाडे। ‘सरकारलाई हामीले उपयोगी हुने सुझाव दिँदासमेत उल्टै धम्की खेप्नुपर्यो्। सरकारको समर्थन गरेर बोल्नेलाई फाइदा हुनेगरी नीतिगत निर्णयहरु भयो,’ एक व्यवसायीले भने, ‘सरकारले तीन वर्ष अघिदेखि सुरु गरेको मनोवैज्ञानिक त्रासको उत्कर्ष रूप पार्टी प्रवेश हो।’ सरकारका केही निकाय उद्योगी व्यवसायीलाई कस्न सक्नेगरी निर्माण गरिएका छन्। त्यहाँ बस्ने कर्मचारी नैतिकवान नभए त्यस्ता निकायले उद्योगी व्यवसायीलाई सहजै फसाउन पनि सक्ने आधार छ।

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग लगायतका निकायहरुले उद्योगी व्यवसायीलाई विगतमा पनि बिना आधार दु:ख दिने गरेका थिए। त्यो प्रवृत्ति अहिलेसम्म पनि कायमै छ। ‘केही सरकारी निकायलाई शक्तिशाली बनाएर उद्योगी व्यवसायीलाई धम्क्याउन सक्ने वातावरण तयार पारिएको छ। त्यही भएर अहिले व्यवसायिक संस्थाका पदाधिकारीहरुले समेत सरकारको आलोचना भन्दा भक्तिगान गाउने होड चलेको छ,’  ती व्यापारीले भने, ‘आफ्नो व्यवसाय गुमाउनु भन्दा भक्तिगान गरेर नाफा बढाउने होड चलेको छ।’

‘काम हुन सजिलो छैन’
व्यापारिक स्वार्थमा पार्टी प्रवेश गरे पनि सहज रूपमा काम हुन भने कठिन देखिन्छ। पार्टी प्रवेश गरेका व्यवसायीसँग व्यापारिक स्वार्थको काम हुनेवित्तिकै त्यसको विरोध सुरु हुन्छ। ‘पहिला बरु भित्रभित्रै काम गर्न सक्ने वातावरण हुन्थ्यो होला। तर अब एमालेमा प्रवेश गरेपछि जग्गा बिक्री गर्नेदेखि राजस्वका मुद्दा मिलाउन सहज छैन्,’ ती व्यवसायीले बिजमाण्डूलाई भने, ‘पार्टी प्रवेशले उल्टै एक्सपोज हुने काम मात्रै भयो।’

‘पदका लागि गएको होइन,  तर प्रधानमन्त्रीज्यूले कुनै पद दिनुहोला’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोरकुमार प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न एमालेमा गएको बताए। ‘प्रधानमन्त्री ज्यूको नैतिकता र सिद्धान्तले मुलुकको आर्थिक समृद्धि हुन्छ। त्यसलाई केही योगदान गरौं भनेर एमाले प्रवेश गरेको हुँ,’ उनले बिजमाण्डूसँग भने, ‘अब हामी लगानीका लागि अवरोध रहेका विषयमा अध्ययन गर्नेछौं। र, ती समस्या समाधानका लागि कर्मचारीतन्त्रदेखि प्रधानमन्त्रीज्यूसम्म पुर्‍याउनेछौं।’

उनले आफू पदका लागि नभएर उद्योगी व्यवसायीको समस्या समाधानका लागि गएको समेत जिकिर गरे। ‘म कुनै पद प्राप्त गर्नका लागि गएको होइन। कुनै पदको नेगोशिएसन गरेर गएको पनि होइन,’ प्रधानले भने, ‘तर काम गर्दै गएपछि प्रधानमन्त्रीज्यूले पक्कै केही सोच्नुभएको होला।’ उनले प्रधानमन्त्रीको सोचलाई मूर्तरुप उद्योगी व्यवसायीलाई एमालेमा प्रवेश गराएर दुगडले सफल बनाइदिएको बताए। ‘प्रधानमन्त्रीको सोचलाई मेरो भाइजस्तो दुगडले सफल बनाइदिएका छन्,’ प्रधानले भने।