आन्तरिक राजस्व कार्यालय वीरगंजले लक्ष्य भेट्टाउन सकेन, अन्त:शुल्कमा सबैभन्दा ठूलो धक्का

बिजमाण्डू
२०७७ मंसिर ३० गते ११:५२ | Dec 15, 2020
आन्तरिक राजस्व कार्यालय वीरगंजले लक्ष्य भेट्टाउन सकेन, अन्त:शुल्कमा सबैभन्दा ठूलो धक्का

Tata
GBIME
Nepal Life

वीरगंज। आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य हासिल गर्न सकेको छैन। आन्तरिक राजस्व अन्तर्गत अन्तःशुल्क शीर्षकको राजस्व कमी आउँदा लक्ष्य भेट्न कठिन भएको हो।

२ अर्ब १५ करोड १३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा एक अर्ब ६६ करोड ४४ लाख रुपैयाँ मात्र संकलन गरेको कार्यालयले जनाएको छ। यो कुल लक्ष्यको ७७.३७ प्रतिशत मात्र हो ।कार्यालयले आयकरतर्फ ३६ करोड २९ लाख, मूल्य अभिवृद्धि करतर्फ ६१ करोड ९३ लाख र अन्तःशुल्कतर्फ ६६ करोड ११ लाख रुपैयाँ संकलन गरेको कार्यालयका प्रमुख सुनिलकुमार यादवले जानकारी दिए।

पहिलो चौमासिकको लागि आयकरतर्फ ३३ करोड ६ लाख, मूल्य अभिवृद्धि करतर्फ ४५ करोड २९ लाख र अन्तःशुल्कतर्फ एक अर्ब ३३ करोड ९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो। उनले आयकरतर्फ ७ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ३६ प्रतिशत बढी राजस्व संकलन भएपनि अन्तःशुल्कतर्फ ४९.३५ प्रतिशत मात्र राजस्व संकलन भएकाले लक्ष्य हासिल गर्न नसकेको उनले बताए।

अन्त:शुल्कको रूपमा सबैभन्दा बढी राजस्व दिने जिल्लामा रहेका मदिरा उद्योगहरू अन्य जिल्लामा स्थानान्तरण भएका र केही मजदुर विवादले बन्द भएकाले लक्ष्य पूरा नभएको यादवले बताए। गत आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यालयले कुल लक्ष्यको ७९ प्रतिशत  मात्र राजस्व संकलन गरेको थियो।

गत आव २०७६/७७ को पहिलो चौमासिकको लागि विभागले २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा कार्यालयले एक अर्ब ९१ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।