वीरगंज आन्तरिक सुक्खा बन्दगाह ब्यवस्थापन र सञ्चालन जिम्मा प्रिस्टिन भ्याली ड्राइपोर्टलाई

बिजमाण्डू
२०७७ साउन २३ गते १६:४४ | Aug 7, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। वीरगंज आन्तरिक सुक्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइपोर्टले पाएको छ। शुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालिमार्फत सञ्चालन गर्दै आएको थियो।

नेपालको सुक्खा बन्दरगाहको नियामक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्रमोहन शाहीले १६ वर्ष अघिदेखि सञ्चालनमा आएको बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेदारीको काँधमा सुम्पेको बताए। 

रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत हिस्सा व्यवस्थापन गर्दै आएको छ र आगामी दिनमा नयाँ व्यवस्थापनले वाणिज्य व्यापारमा थप टेवा पुर्‍याउनेमा विश्वस्त रहेको उनले जानकारी गराए। 

आज एक कार्यक्रमका बीच नयाँ व्वस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्वस्थापन र सञ्चालनको जिम्मेवारी दिइएको हो। २०५७ मा निर्माण शुरु भई २०६१ सालदेखि सञ्चालनमा आएको वीरगंज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ। भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगंज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन्।

भ्याली टर्मिनल्सका निर्देशक माधव बरालले कोभिड-१९ को महामारी शुरु भएपछि बन्दरगाह कूल क्षमताको ३५ प्रतिशतको हाराहारीमा मात्रै सञ्चालनमा रहेको बताए। महामारीको प्रकोप समाप्त हुने समयसीमा यकिन नभएको हुनाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने सम्भावना रहेको उनको भनाइ छ।  

टर्मिनल व्यवस्थापन कम्पनिका निर्देशकहरु रजनिश कुमार र बाबुराजा रावलले यो साझेदारीले लाभग्राहीलाई प्रदान गर्ने सेवामा स्तरोन्नति र व्यापक रुपान्तरण गरिने बताए। उनका अनुसार सँगसँगै पूर्वाधारको विस्तार र स्तरोन्नति गरि र बन्दरगाहको क्षमता अभिवृद्धि गराउने बताए। 

प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिको भारतीय साझेदार ‘प्रिस्टिन मेगालजिस्टिक्स पार्कले आफ्नै ३५ वटा कन्टेनर रेलहरुमार्फत बिगत १० वर्षदेखि लुधियाना, कानपूर, सिलिगुडी र पटना लगायत धेरै स्थानहरुमा इन्ल्याण्ड क्लियरेन्स डिपोहरु सञ्चालन गर्दै आएको छ। 

पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरेको छ। नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’ भ्याली ग्रुपको लजिस्टिक्स क्षेत्रमा काम गर्ने भगिनी कम्पनी हो। भ्याली ग्रुपले कुखुराजन्य उत्पादन र वितरण, फास्ट फुड, अटो मोबाइल, निर्माण सामाग्री उत्पादन, पूर्वाधार, आइटी लगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।