एनसेलको नौं महिनाको खुद मुनाफा १२ अर्ब १८ करोड रुपैयाँ, भ्वाइस कलको ब्यापार घट्यो

बिजमाण्डू
२०७६ मंसिर १२ गते १५:५८ | Nov 28, 2019
एनसेलको नौं महिनाको खुद मुनाफा १२ अर्ब १८ करोड रुपैयाँ, भ्वाइस कलको ब्यापार घट्यो


काठमाडौं। निजी दुरसंचार सेवा प्रदायक एनसेलको नाफा घटेको छ। सन् २०१९ को तेस्रो त्रैमाशिक अवधिमा एनसेलको खुद नाफा १९.३५ प्रतिशतले घटेको हो। कम्पनीको सञ्चालन आम्दानी ५.७१ प्रतिशतले घट्दा नाफामा गिरावट आएको हो।

Tata
GBIME
Nepal Life

तेस्रो त्रैमाशिक अवधिमा एनसेलले १२ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा एनसेलले १५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो। 

दूरसञ्चार सेवा प्रदान गरिरहेको एनसेलले सञ्चालन कुल आम्दानी ४१ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष कम्पनीको यस्तो आम्दानी ४४ अर्ब १२ करोड रुपैयाँ थियो। भ्वाइस सेवाबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुँदा कुल आम्दानी प्रभावित भएको हो। 

कम्पनीले नेपाल सरकारलाई दूरसञ्चार सेवा मार्फत भुक्तानी गर्नु पर्ने शुल्क तिर्दा पनि नाफामा असर गरेको जनाएको छ। कम्पनीले रोयल्टी बापत यस वर्ष दुई अर्ब रुपैयाँभन्दा माथि भुक्तानी गरेको थियो। 

एक्जिएटाले नेपाल सहित मेलेसिया, इन्डोनेसिया, बंगलादेश, श्रीलङ्का, कम्बोडियामा टेलिकम कम्पनी खोलेर सेवा प्रदान गरिरहेको छ। ६ वटा देशमध्ये यस वर्ष एनसेलको नाफा घटेको हो। 

एक्जिएटाले लगानी गरेकामध्ये सबैभन्दा धेरै मलेसियाको सेलकमले ५४ करोड २४ लाख मेलेसियन रिङगेट नाफा आर्जन गरेको छ। नाफामा गिरावट आए पनि नेपाल दोस्रो नम्बरमा छ। नेपालले ४४ करोड २४ लाख  रिङगेट नाफा आर्जन गरेको हो। एक्जिएटाको टेलिकम्युनिकेसन अन्तर्गतका लगानीमा नाफा भए पनि अन्य क्षेत्रमा गरिएका लगानी नोक्सानमा छ। समग्रमा ग्रुपको नाफा भने एक अर्ब ३१ करोड रुपैयाँ रिङगेट छ।

पछिल्ला दुई वर्षदेखि एनसेलको भाइस कल सेवा मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको छ। मलेसियमा पनि भ्वाइस कल मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको एक्जिएटाले जनाएको छ।