चौधरी ग्रुपले दुबईमा खोल्यो नयाँ तारे होटल ‘ताज जेएलटी’, प्रतिस्पर्धा उही ब्राण्ड ‘ताज दुबई’

बिजमाण्डू
२०७६ मंसिर १२ गते १४:४७ | Nov 28, 2019
चौधरी ग्रुपले दुबईमा खोल्यो नयाँ तारे होटल ‘ताज जेएलटी’, प्रतिस्पर्धा उही ब्राण्ड ‘ताज दुबई’


Tata
GBIME
Nepal Life

अर्बपति ब्यापारी बिनोद चौधरीले सिजी होटल्स अन्तर्गत बनेको दुबईस्थित ताज जेएलटी बुधबारदेखि शुभारम्भ भएको ट्विट गरे।

सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक छोरा राहुलको अगुवाईमा ताज जेएलटी अघि बढेको भन्दै उनले सिजी होटल्स टिमलाई बधाई समेत दिए। हस्पिटालिटी सेक्टरमा आक्रमक रुपमा अघि बढेको चौधरी ग्रुपको ताज जेएलटी पछिल्लो भेन्चर हो।   

दुबईको जुमेराह लेक्स टावरमा अवस्थित यो होटल लोकेसनका हिसाबले असाध्यै उत्कृष्ट र आकर्षक रहेको गत महिना बिजनेस ट्राभलरले गरेको रिभ्यूमा छ।  

दुबईस्थित जुमेराह लेक्स टावर्स ८० वटा टावरहरुको भब्य संरचना हो जहाँ तीनवटा कृत्रिम तालहरु बनाइएका छन्। कृत्रिम तीनवटा तालहरुको वरिपरि फैलिएको यो विशाल शहरी संरचनाभित्र ३४ देखि ४५ तल्लासम्ममा गगनचुम्बी टावरहरु छन्।

यसको प्रमुख आकर्षणको केन्द्र बनेको अलमास टावर सबैभन्दा अग्लो ६६ तल्ले छ। सन् २००८ देखि निर्माण सुरु भएको जुमेराह लेक्स टावरहरु दुबईको आकर्षक क्षेत्र मानिन्छ। 

चौधरीको ताज जेएलडी जुमेराह लेक्स टावर्स स्थित सेख जायद रोडमा छ। यस होटल 'जेबिल अलि' नजिक रहेको छ जसमा युनिलिभर, दुबई इन्टरनेट सिटी र दुबई मिडिया सिटी अवस्थित छ। यस होटलका सम्भावित क्लाइन्टहरुमा नजिकैका आइबिएम, हनिवेल, ब्रिटिस अमेरिकन टोबाको र टिसिएस जस्ता कर्पोरेट अफिसहरु पर्छन्।

होटल अवस्थित एरिया कर्पोरेट र रेसिडेन्सियल दुबै हो।  त्यहाँ अवस्थित साना र मध्यम स्तरका धेरै व्यवसायीहरुलाई पनि होटलले लक्षित ग्राहकका रुपमा लिएको छ। केही सुन उत्पादन गर्ने ठूला कम्पनीहरु पनि होटलका सम्भावित ग्राहक हुने अपेक्षा गरिएको छ।  होटलबाट करिब ५ मिनेटमा पुगिने दामाक मेट्रो स्टेसनले दुबई वर्ल्ड ट्रेड सेन्टरसँग सहजै लिंक गराइदिन्छ ।  ताज जेएलडि नजिकै रहेको भिदा इमिरेट्स हिल्स यस ठाउँको अर्को नयाँ आकर्षण हो।

 

२ सय कोठाको होटल ४६ तले भवनमा अवस्थित छ। यहाँ अपार्टमेन्ट र होटल दुबै प्रयोजनकालागि कोठाहरु तयार गरिएको छ। १ सय ७१ वटा सामान्य रुम तथा २९ वटा सुइट रुम रहेको यो होटलमा पाँचवटा रेष्टुरेन्टहरु छन्।

सामियाना रेष्टुरेन्ट अल डे डाइनिङका लागि प्रसिद्ध मुम्बईको ताज महलकै रेष्टुरेन्ट हो। ताज मुम्बईमा सन् १९७० को दशकमै स्थापित रेष्टुरेष्टकै निरन्तरताका रुपमा ताज जेएलटीमा सामिनाया स्थापना भएको हो।

भुईंतलामा रहेको बिस्ट्रो क्याफे, ४६ औं तलामा रहेको स्यान्टोरिनी, अमेरिकन इटालियन खानाको लागि मेरिगानो र एशियन कुजिनका लागि नोन्या सामियाना बाहेकका विकल्प हुन्। 

प्रतिस्पर्धामा को सँग?
होटल व्यवस्थापनले ताज दुबई भन्दा यहाँ १५ देखि २० प्रतिशत कम दर राख्दा नयाँ होटलतर्फ लक्षित ग्राहकलाई आकर्षित गर्न सक्ने बिजनेस ट्राभलरको रिभ्यूमा उल्लेख छ।

ताज ब्राण्डकै अर्को तारे होटल ताज दुबईसँग जम्मा २५ किलोमिटरको दुरीमा रहेकाले उसलाई पृथक पहिचान कायम गर्न बढी बल गर्नुपर्ने हुन्छ। 

यहीँ अवस्थित तारे होटलहरु बोनिङटन जेएलटी, पुलम्यान जेएलटी र मुभएनपिक जेएलटीसँग पनि  ताज जेएलटीको स्वाभाविक प्रतिस्पर्धा देखिएको छ।