कार्यकालभर आलोचना खेपेर पदमुक्त भए सेबोन अध्यक्ष कार्की, सुधारमा  यस्तो रह्यो योगदान

बिजमाण्डू
२०७६ असोज ३० गते ०८:५९ | Oct 17, 2019
कार्यकालभर आलोचना खेपेर पदमुक्त भए सेबोन अध्यक्ष कार्की, सुधारमा  यस्तो रह्यो योगदान

Tata
GBIME
Nepal Life

काठमाडौं। जसले काम गर्छ उसकै बारेमा धेरै आलोचना हुने गर्छ। शायद नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको हकमा यही लागू भयो। जतिबेलासम्म उनी बोर्डको अध्यक्ष पदमा रहे आलोचना खेपिरहे। आजै आफ्नो कार्यकाल पूरा गरी उनी बोर्डको जिम्मेवारीबाट मुक्त हुँदैछन्। 

आफ्नो जीवन कालमा १० वटाभन्दा धेरै संस्थामा काम गरेर खारिएका रेवत बहादुर कार्की चार वर्ष अगाडि  बोर्डमा जागिर मात्र खान आएका थिएनन्। उनको केही भिजन र मिसन थियो। उनको अठोट थियो' नेपालको पूँजी बजारमा देखिने गरी सुधार ल्याउनेछु।' 

केही समयअघि मात्रै बोर्डले कार्की अध्यक्ष भएर आएपछि उनको नेतृत्वको बोर्डले धितोपत्र तथा बस्तु विनिमय बजारको सुधारका लागि गरेका कामहरुको धेरै लामो सूचि सार्वजनिक गर्यो। यसबाट कार्कीले गरेका सुधारका कामहरु देखिएको छ। 

विगत चार वर्षको अवधिमा नेपालको शेयर बजारले धेरै ठूलो फड्को मार्यो। सिमित ब्रोकर र लगानीकर्ताको हातमा रहेको बजार अहिले आम सर्वसाधारणको पहुँचमा पुग्न सकेको छ। 

यस अवधिमा धेरै नितीगत सुधारका कामहरु भैसकेका छन्  जसले प्राथमिक र दोस्रो बजारमा जुनसुकै लगानीकर्ता जतिबेला पनि प्रवेश र बाहिरिन सक्ने वातावरण बनेको छ।  

नेपाल राष्ट्र बैंकको २५ वर्षे नियामकिय अनुभव, नेपाल स्टक एक्सचेन्जमा सञ्चालक तथा कार्यकारी प्रमुखको अनुभवले उनलाई शेयर बजारमा कहाँ कहाँ सुधार आवश्यक छ भन्ने राम्रो ज्ञान थियो। 

कानुनी तथा वित्तीय अनुभवले गर्दा नेपाल धितोपत्र बोर्ड छाडेर जाँदाजाँदै उनले गरेका कामहरुको सकारात्मक समीक्षा भएको छ। बोर्डले बनाएका ऐन, नियम, कानुन, नियमावली, विनियमावली, निर्देशिकलाई सकेसम्म उनी आफै ड्राफ्ट गर्थे। यसका लागि उनले दिनरात नभनी काम र अध्ययन गरेको बताउँछन्। बोर्डको लागि काममा तल्लिन हुँदा उनले लेख्ने तयारी गरेको अर्थतन्त्र सम्बन्धी पुस्तकले पनि आकार लिन पाएन।  

मन्त्रालयले लगानी सम्बन्धी कानुन निर्माण गर्दा कार्कीसँग सुझाव माग्ने गर्थ्यो। अर्थमन्त्री डा. युवराज खतिवडासँग कार्कीको राम्रो सम्बन्ध थियो। लगानी सम्बन्धी कानुन बनाउनु अगाडि खतिवडाले पनि कार्कीसँग सल्लाह सुझाव माग्ने गरेको उनी सम्झन्छन्। अल्टरनेटिभ इन्भेष्मेन्ट फण्ड र हेज फण्डका विषयमा खतिवडाले कार्की सँग धेरै पटक छलफल गरेका थिए।

अल्टरनेटिभ इन्भेष्टमेन्ट फण्डलाई नेपाली नामबाट नामाकरण गर्न अर्थमन्त्री खतिवडाले कार्कीलाई सुझाएका थिए। तर यो नामलाई नेपालीकरण गर्नु भन्दा यहि नामबाट विदेशी लगानीकर्ता आकर्षित गर्नु पर्ने कार्कीले सुझाव दिएपछि अर्थमन्त्री राजी भएको कार्कीले स्मरण गरे।  

‘लिभरलाइजेसन’ मा विद्यावारिधि गरेका कार्कीको वास्तविक घर ओखलढुङ्गा हो। एसएलसी पास भएर उनी गाउँकै स्कुलमा हेडमास्टर भए। अध्ययन गर्न उनी काठमाडौं आए। आइए पढ्दा पढ्दै कार्कीले नेपाल राष्ट्र बैंकको सहायक पदबाट जागिर सुरु गरेका थिए। नेपाल राष्ट्र बैंकमा काम गर्दागर्दै दुई वर्ष विदा लिएर बैंक अफ नामिवियामा अर्थशास्त्री भएर समेत काम गरे। 

राष्ट्र बैंकको अनुसन्धान विभागमा मात्रै उनले २० वर्ष बिताएका थिए। राष्ट्र बैंक छाडेर साढे दुई वर्ष मध्य पश्चिमाञ्चल ग्रामिण विकास बैंकमा काम गरेपछि उनले आइएमएफको आर्थिक सल्लाहकारको रुपमा साढे दुई वर्ष विताए। नेपाल स्टक एक्सचेन्जको प्रमुख भएर दुई वर्ष काम गरेपछि उनी  विद्यावारिधि गर्नतिर लागे।  

यसै अवधिमा राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिमा रहेर उनले काम गरिरहेका थिए। सञ्चालक समितिमा हुँदा हुँदै कार्की बोर्डको अध्यक्षमा नियुक्त भए र सञ्चालक समितिबाट पछाडि हटे। 

उनी भन्छन् -'बजार नै नबुझेको भए के नियमन गर्नु!' 

अहिलेसम्म जति पनि सुधारका काम भए ति सबै आफ्नो विभिन्न क्षेत्रको अनुभवले हासिल गरेको सफलता भएको कार्की सुनाउँछन्। उनी भन्छन् ‘म बैंक चलाएर नियमनमा बसें। बजार चलाएर पनि नियमनमै बसे।’ यसले उनलाई थप एक्सपोजर दियो। 

बजारलाई नजिकबाट हेरेका कार्कीको पहिलो ध्यान प्राथमिक शेयर खरिद गर्दा लाम बस्नु पर्ने झण्झटलाई अन्त्य गर्नु थियो। यसैको लागि बोर्डले आस्वा प्रणाली ल्याएको हो। 

ट्रेडिङ अटोमेसन नहुँदा लगानीकर्ताहरुले धेरै लामो समयदेखि झण्झट बेहोर्दै आएका थिए। ८ वर्षसम्म हुन नसकेको ट्रेडिङ अटोमेसनको काम कार्कीले दुई वर्षमै पूरा गरे। यो काम तीन वटा अर्थमन्त्रीले तीन पटक उद्घाटन गर्दा पनि सफल हुन सकेको थिए। 

उनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भौतिक प्रमाणपत्रलाई अभौतिकिकरण गरेर पूर्ण रुपमा डिजिटलाइज बनाउनु हो। यसले प्राथमिकदेखि दोस्रो बजारका सम्पुर्ण म्यानुअल कामको अन्त्य भयो। लगानीकर्ताले प्राथमिक तथा दोस्रो बजारबाट सजिलै प्रविधिको सहायताले शेयर खरिद तथा बिक्री गर्न सक्ने भए। यसले नेपालको शेयर बजारलाई धेरै माथि पुर्यायो। उनी भन्छन् -‘२०७२ माघबाट नेप्सेले डिम्याट कारोबार सुरु गरेपछि नेपालको शेयर बजारको एउटा अध्याय अन्त्य गर्यौं।’

दोस्रो बजारका लगानीकर्ताले ८ वर्षदेखि मार्केट डेप्थ हेर्न पाएका थिएनन्। ब्रोकरले जतिमा भन्यो त्यतिमा शेयर लगानी गर्नुपर्ने अवस्थाबाट लगानीकर्ताले मार्केट डेप्थ हेर्न मिल्ने बनाउँदा लगानीर्ताहरुको लागि सहज भएको कार्की बताउँछन्। 

बोर्डमा आए देखिनै उनले प्रतिस्पर्धी बजारका लागि दुईवटा स्टक एक्सचेन्जको वकालत गर्दै आए। सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जको व्यवसाय खोसिने भन्दै सरकारले नै उनलाई असहयोग गर्यो। 

आर्थिक उदारीकरणमा विद्यावारिधी गरेका कार्कीले नेप्सेको एकाधिकार अन्त्यको लागि धेरै लविङ गरे। उनी भन्छन्  ‘नेप्सेकै सुधारका लागि भएपनि अर्को स्टक एक्सचेन्ज आवश्यक छ।’ यसका लागि ब्रोकरहरु समेत विरुद्धमा लागेको उनको अनुभव छ। उनले थपे ‘स्टक एक्सचेन्ज प्राइभेट नहुँदा हाम्रो नियमन बलियो हुँदैन।’

बोर्डको अध्यक्ष भएर आफु मातहतमा ब्रोकर तथा नेप्सेको अनुगमनमा जाँदा उनलाई नियामक निकायको प्रमुख हुनुमा ह्युमुलेसन अनुभव भयो। 'यस्तो पनि बजार हुन्छ?' भन्ने पनि लाग्यो। त्यहीँबाटै उनले शेयर बजारको सुधारका काम अगाडि बढाए। उनले सुपरिवेक्षण म्यानुअल नै बनाएर विभिन्न कानुनलाई कार्यान्वयमा ल्याए। 

‘कामै सुपरिवेक्षण भएपछि डराएर हुन्छ? नियम बनाउने हो र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने हो।’ उनले हक्की पारामा भने। 

भारतमा डिम्याट सुरु भएको ८ वर्षपछि मात्रै अनिवार्य गरिएको थियो। कतिपयले नेपालमा पनि अनिवार्य हुन अझै १० वर्ष लाग्ने भन्दै आलोचना गरेका दिनहरु अहिले कार्की सम्झन्छन्।  तर नेपालमा ६ महिनाकै अवधिमा अनिवार्य गर्न बोर्ड सफल भएकोमा उनलाई गर्व छ।  

प्राथमिक बजारमा ठूला लगानीकर्ता मैत्री हुँदै आएकोमा कार्कीले समावेशी गराउने भन्दै न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्ने नियम बनाए। यसले ७७ वटै जिल्लाका लगानीकर्ताले शेयर पाउने अवस्था रह्यो। 

प्राथमिक बजारमा लगानी गर्न न्युनतम ५ हजार लगानी गर्नुपर्दा गरिव जनता तथा विद्यार्थीको पहुँचमा शेयर पुग्न नसक्ने भन्दै न्युनतम १००० हजार रुपैयाँको लागि पनि आवदेन दिन सक्ने व्यवस्था आफैले गरेको उनी दाबी गर्छन्। 

उनकै कार्यकालमा रियल सेक्टरले प्राथमिक शेयर निष्कासन गर्ने वातावरण बन्यो। उनी भन्छन् ‘रियल सेक्टरलाई प्राथमिक शेयर निष्कासनका लागि इन्करेज गर्न प्याकेज नै ल्यायो।‘

कार्कीले धेरै चाहेको तर पूरा हुन नसकेको दोस्रो स्टक एक्सचेन्जका लागि उनले धेरै प्रयास गरे। 

कमोडिटी एक्सचेन्जको अनुमति दिने विषयमा पनि कार्की चुके। नेपालमा दुई वटा मात्रै एक्सचेन्ज आवश्यक छ भनेर अध्ययन भैसकेको छ। सम्पुर्ण प्रक्रिया सकिँदा पनि मन्त्रालयका प्रतिनिधिहरुले साथ नदिँदा यसको काम अगाडि नबढेको उनी बताउछन्।

उनको कार्यकालमा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स प्रदान गर्ने काम पनि सफल हुन सकेन। उनले कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन चाहेका थिए तर यसमा राजनीतिक हस्तक्षेप भएको उनको भनाई छ। 

२०५० सालदेखि डम्बर बहादुर ढुङ्गेलले बोर्डलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने पहल गरेका थिए। तर यो कहिले पनि पूरा हुन सकेन। कार्कीले आइएसओको पुर्णकालीन सदस्यताकालागि पनि आफूले ठूलै पहल गरेको बताउँछन्।  

उनी बोर्डमा आउँदा धेरै चुनौतीहरु धेरै थिए। अहिले लगभग सबै चुनौतीहरु हट्दै गएको छ। आफुले काम गर्ने आधार तयार पारिदिएको हुँदा आगामी आउने अध्यक्षलाई सहज बनेको उनी दाबी गर्छन्। 

कतिपयले उनको अभावमा बोर्डका सुधारका काम नै रोकिने भन्दै गुनासो गरेको पनि उनले सुनाए। ‘वेलायतमा एउटा उखान छ किङ इज डेड वट लङ लिभ द किङ।’ संस्था हो निरन्तर चलिरहन्छ। कोही जाँदैमा यसको बृद्धि रोकिनु हुँदैन र यसका लागि मैले धेरै आधारहरु तयार पारेको छु।'- उनले गर्वका साथ भने।  

नेपालको पूँजी बजारलाई थप विस्तार गर्न ओटिसी र बण्ड मार्केटको विकास गर्नु पर्ने कार्की बताउँछन्। यसका लागि सम्पुर्ण आधारहरु तयार भएको हुँदा ओटिसी मार्केटलाई अटोमेटिक कारोबार हुने बनाउनु पर्ने उनको विश्लेषण छ। 

बोर्डबाट बाहिरिएसँगै आफू लेखन र समाजसेवामा सक्रिय हुने उनले बताए।