कार्ड भित्र्याउने मल्ल आर्थिक संकटमा, संकट टार्न काठमाडौंका प्राइम प्रोपर्टी बेच्दै

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ भदौ १८ गते १०:१८ | Sep 4, 2019
कार्ड भित्र्याउने मल्ल आर्थिक संकटमा, संकट टार्न काठमाडौंका प्राइम प्रोपर्टी बेच्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। कुनैबेला 'इन्नोभेटिभ' व्यापार सुरु गरेका रविन्द्रबहादुर मल्ल ऋणको जालोले घेरिएका छन्। ऋणको भार थपिँदै गएपछि आर्थिक संकटबाट निस्किन उनले काठमाडौंमा आफ्नो नाममा रहेका प्राइम प्रोपर्टी बिक्री गर्न थालेका छन्। 

बैंक तथा वित्तिय संस्थालाई इन्नोभेटिभ व्यापारमा सहभागी गराएरका उनै मल्ल बैंक ऋणको जालोमा बेरिएका छन्। र, उनका कतिपय सम्पति बैंकले लिलामीमा चढाइसकेको छ।

स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) देखि अल्पाइन कार्डसम्मको व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरुलाई समेत पछाडि पारेका उनले रेमिट्यान्स व्यापार, एयरलाइन्स बिजनेशमा समेत हात हालेका थिए। उनले अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै अल्पाइन एयर समेत दर्ता गरेका थिए। अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी भएर अन्तिम समयमा रद्ध गर्नुपरेको थियो। चार दाजुभाईले सुरु गरेको कार्डवाहेकका कुनै पनि व्यापारमा सफलता हात नपारेपछि ऋणको जालोमा  रविन्द्र परेका हुन्। खासगरी उनकै दाई सुरेन्द्रका कारण रविन्द्र अप्ठेरोमा परेको बैंकरहरु बताउँछन्।

उनले आधा दर्जन बैंकबाट लिएको ऋण अहिले समस्यामा छ। यसमध्ये केही बैंकले सम्पति लिलामी गरेरसमेत आफ्नो ऋण उठाइसकेका छन् भने केही लिलामीको प्रकृयामा अगाडि बढेका छन्।

रविन्द्रको पुरानो बैंकिङ कारोबार हिमालयन बैंकसँग हो। उनक कम्पनी अल्पाइन र एससिटी कार्डको सेटलमेन्ट बैंक नै हिमालयन हो। यसबाहेक मेगा, एनएमबी, लक्ष्मी, प्रभु, ग्लोबल आइएमई र देव विकास बैंकबाट पनि मल्लले ऋण चलाएका छन्। 

ऋण दिएका बैंकहरुका अनुसार मल्लको साँवा र ब्याज गरेर करिव ५० करोड रुपैयाँ हाराहारी ऋण छ। यसमध्ये दुई वटा ऋण जग्गा लिलामीबाट भूक्तानी भइसकेको छ। 

लक्ष्मी बैंकले केही समयअघि गैरीधारास्थित जग्गा लिलाम गरेर पैसा उठाएको छ। व्यवसायिक परियोजनाका लागि भन्दै मल्लले अल्पकालिन ऋण लिएका थिए। जग्गा बिक्रीबाट बैंकले करिव १८ करोड रुपैयाँ उठाइसकेको छ। अझै केही ऋण उठाउन बाँकी रहेको छ। लक्ष्मी बैंकमा धितो रहेको जग्गा प्रभु समूहले किनेको छ। 

एनएमबि बैंकले पनि सहमतिमा पैसा उठाएको छ। सुरुमा बैंकले लिलामीको सूचना प्रकाशित गरेको थियो। त्यसपछि मल्ल अदालत पुगेर अन्तरिम आदेश लिएर आए। लिलामी रोकिएपछि मल्लसँग सहमति गरेर जग्गा बिक्री गरियो। बाघदरवार क्षेत्रको जग्गा बिक्री गरेपछि बैंकको १० करोड रुपैयाँभन्दा केही कम ऋण पूंरै भूक्तानी भएको छ।

बाँकी बैंकको ऋण भने भूक्तानी हुन सकेको छैन। ग्लोबल आइएमई बैंककै तीन करोड रुपैयाँ हाराहारी ऋण उठ्न बाँकी छ। लामो समयदेखि ब्याज भूक्तानी नभएका कारण सबै बैंकले लिलामीको सूचना सार्वजनिक गरिसकेका छन्।  

कहाँ चुके मल्ल?
मल्ल काठमाडौंका रैथाने व्यवसायी हुन्। नेपालका बैंकहरुले एटिएम सुरुवात नगर्दै उनले एससिटी र अल्पाइन कार्डको सुरुवात गरेका थिए। उनको कार्डको जगजगी यति थियो कि बाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्मले अल्पाइनकै मेसिन प्रयोग गर्थे

एससिटीले सहकारी संस्थाहरुलाई समेत सेवा दिन थालेको थियो। व्यापार बढ्दै गयो, सँगसँगै प्रतिस्पर्धा पनि। बजारमा भिसाको प्रयोग भयो। निक्कै सुरक्षित मानिने भिसा आएपछि उनको व्यवसाय समस्यामा पर्न थाल्यो। उनले प्रतिस्पर्धासँग जुध्न एससिटीको फिचरहरुमा खासै काम गरेनन्। जस्तो चलिरहेको छ त्यस्तै छाडिदिए।

एससिटीको पनि शेयर हुने गरी उनले राष्ट्र बैंक, बैंकर मिलाएर नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) स्थापनामा नेतृत्वदायी भूमिका खेलेका थिए। त्यहाँ एससिटी नेटवर्कको मात्रे १६.२६ प्रतिशत शेयर छ। 

कार्ड व्यापारमा प्रतिस्पर्धा थपिएका बेला उनी भने एयरलाइन्सदेखि रेमिटेन्स बिजिनेससम्म सञ्चालन गर्न हिँडे। एयरलाइन्सले लाइसेन्स पायो तर सञ्चालन हुन सकेन। रेमिटेन्स कम्पनीमा करिव २५ करोड रुपैयाँ फसेको उनले बैंकहरुलाई बताउने गरेका छन्।

पस मेसिन पनि उनले राम्रै विस्तार गरेका थिए। करिव ३५ सय मेसिन सञ्चालनमा आइसकेको थियो। विस्तारै ब्यापार खस्किन थालेपछि उनले मर्चेन्टहरुको पैसा तिर्न सकेनन्। त्यहाँबाट पनि समस्या भयो। उनले सेटलमेन्टको काम गर्ने हिमालयन बैंकले नै अहिले उनको सम्पति लिलाम गर्ने सूचना प्रकाशित गरिसकेको छ।

'दुई/चार वटा व्यापार चलेकै देखिन्थ्यो। काठमाडौंको मूख्य मूख्य ठाउँमा पुर्ख्यौली जग्गाजमिन पनि थियो। यसका आधारमा बैंकहरुलाई ऋण दिन पर्याप्त हुन्थ्यो' अहिले ऋण उठाउने चरणमा रहेका एक बैंकरले भने, 'सुरुसुरुमा ऋण भूक्तानी पनि भएकै हो। तर पछिल्लो समय भूक्तानीमै समस्या आएको छ।'

उनका अनुसार मल्लसँग सम्पतिको अभाव होइन, नगद प्रवाह छैन। उनको कुनै पनि व्यवसायले अहिले ऋणको ब्याज मात्रै तिर्न पुग्नेगरी आम्दानी गरेका छैनन्।

गत बर्ष नै उनले एससिटीको शेयर पनि बिक्री गरेका छन्। उनले अंकित मूल्य एक सय रूपैयाँ प्रति कित्ताको शेयर चार सय २५ रुपैयाँका दरले बिक्री गरेका थिए। नौ करोड ८१ लाख २४ हजार रुपैयाँमा २ लाख ३० हजार आठ सय ८० कित्ता शेयर विक्री गरेका थिए। 

उनको शेयर प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु बैंकले किनेको थियो। एससिटीमा ग्लोबल आइएमई समूह, हिमालयन बैंकलगायतले पनि लगानी गरेका छन्। अहिले यी तीनै बैंकले लिलामीको सूचना निकालेका छन्।