(1).jpg)
काठमाडौं। जापानमा 'जेनरल सेल्स एजेन्ट' जिएसएको लफडाका कारण नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर सन्तोष पाण्डे वर्क पर्मिट नपाएपछि स्वदेश फिर्ता भएका छन्।
जापान उडानका लागि निगमले नौं महिना अघि पाण्डेलाई कन्ट्री म्यानेजरमा नियुक्त गरेर पठाएको थियो। विगतदेखिनै जापान प्रतिनिधिका रुपमा काम गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनले आवश्यक कागजपत्र नदिएपछि पाण्डेले वर्क पर्मिट नपाएका हुन्।
टुरिष्ट भिसामा जापान गएका पाण्डेले हिराचनको कम्पनी आसुका ट्राभलबाट वर्क पर्मिटका लागि आवेदन दिएका थिए। जापानले पाण्डेलाई ६ महिनाको लागि वर्क पर्मिटको अनुमति दिएको थियो।
तर जापान प्रतिनिधिबाट हटाउने निर्णय गरेपछि हिराचनले पाण्डेलाई वर्क पर्मिटका लागि आवश्यक कागजपत्र दिएनन्। उनले कागजपत्र नदिएपछि वर्क पर्मिटको समयाअवधि थप भएन्। वर्क पर्मिट नभएपछि कन्ट्री म्यानेजर नेपाल आउन बाध्य भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।
'सन्तोष पाण्डे अहिले नेपाल आउनुभएको छ। उहाँको भिसा रद्ध भएको छैन। तर देवमान हिराचनले वर्क पर्मिटको कागजपत्र नदिएपछि फेरी भिसा अप्लाइ गर्न नेपाल आउनुभएको छ,' चन्दले बिजमाण्डूसँग भने,’परराष्ट्रसँग समन्वय गरेर वर्क पर्मिटको प्रकृया अगाडि बढ्दैछ।’
वर्क पर्मिट रोकेको बारेमा हिराचनले अनविज्ञता प्रकट गरे।‘वर्क पर्मिटको पाए/नपाएको बारेमा मलाई कुनै जानकारी छैन’ उनले बिजमाण्डूसँग भने।उनले नौ महिनासम्म भिसा र वर्क पर्मिटको जिम्मा आफूले लिएपनि अहिलेको प्रकृयाका बारेमा जानकारी नभएको बताए।
निजी कम्पनीबाट किन वर्क पर्मिट?
आफ्नै ब्राण्ड र साखलाई समेत नहेरि निजी कम्पनीबाट वर्क पर्मिट लिने निगम व्यवस्थापनको निर्णयले कन्ट्री म्यानेजर वेइज्जतपूर्ण रुपमा स्वदेश फिर्ता हुनुपर्ने अवस्था आएको छ।
‘निगमले परराष्ट्रसँग समन्वय गरेर वर्क पर्मिटका लागि आवेदन दिन सकिन्थ्यो।तर व्यवस्थापनले निगमलाईनै दाउमा राखेर निजी कम्पनीबाट वर्क पर्मिटका लागि आवेदन दियो,’ निगमका एक अधिकारीले भने,’ त्यही कारण निगमका कर्मचारी वर्क पर्मिट सकिएर स्वदेश फर्किनुपर्ने अवस्था आयो।’
उडानमा प्रभाव पर्ने
ओशाका उडानको मिति नजिकिँदै गर्दा कन्ट्री म्यानेजरनै नेपालमा बस्नुपर्दा त्यसले ठूलो प्रभाव पार्ने देखिन्छ। १५ दिनपछि हुने उडानका लागि आवश्यक व्यवस्थापन गर्ने व्यक्ति जापानमा छैनन्।
‘कन्ट्री म्यानेजरनै जापानमा नभएपछि उडानका लागि गर्नुपर्ने व्यवस्थापनमै समस्या परेको छ। यसले उडानमा समेत प्रभाव पार्ने देखिन्छ’ निगमका एक अधिकारीले भने। जापान उडानका लागि एक वर्ष अगाडिदेखिको तयारी आफैंमा फितलो छ।अहिलेसम्म जिएसएको लडाईँकै कारण टिकट बिक्री समेत राम्रो हुन सकेको छैन।
२७४ सीटे एयरवस ३३० जहाजले उडान गर्ने भएपनि अहिलेसम्म ६० सीट बुकिङ भएको छ।‘एक वर्षदेखि निगमले जापान उडाउने भन्दै तयारी गरेको थियो। नौं महिना अघि कन्ट्री म्यानेजरनै नियुक्त गरेर पठाएको थियो।तर उडान हुने मिति तोकिदा समेत जम्मा ६० वटा सीट बिक्री भएको छ।’ ती अधिकारीले भने,’निगमको व्यवस्थापनको यो भन्दा ठूलो लापरवाही हुनै सक्दैंन्।’
कहिले जान्छन् पाण्डे?
पर्मिट नपाएर स्वदेश फिर्ता भएका पाण्डे जापान जाने कुनै टुंगो छैन्।निगमले पाण्डेको वर्क पर्मिटका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको छ।
तर अहिलेसम्म सकारात्मक जवाफ भने आएको छैंन।‘वर्क पर्मिटका लागि परराष्ट्रसँग समन्वय भएपनि कुनै टुंगो लागेको छैन’ निगमका एक अधिकारीले भने,’जापान उडानको समय भन्दा अगाडि बढाउन प्रयास भइरहेको छ।’










