उद्योगी र किसान आफ्नै अडानमा, गत बर्षको एक तिहाइ चिनी नबिकेर उद्योगको गोदाममै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ पुष २२ गते ०९:४० | Jan 6, 2019
उद्योगी र किसान आफ्नै अडानमा, गत बर्षको एक तिहाइ चिनी नबिकेर उद्योगको गोदाममै


सुनसरी बर्जु–५ मा रहेको इस्टर्न सुगर मिलको गोदाममा गतवर्ष उत्पादन भएर बिक्री हुन बाँकी रहेको चिनी। 

विराटनगर। सुनसरीको बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिल्सले गत वर्ष उत्पादन गरेको चिनीमध्ये ३५ हजार क्विन्टल चिनी विक्री नभएर अझै गोदाममा थन्किएको छ। मिल्सले गत वर्षको सिजनमा १ लाख ७ हजार क्विन्टल चिनी उत्पादन गरेको थियो, जसमध्ये एक तिहाइ ३५ हजार क्विन्टल चिनी अझै विक्री हुन सकेको छैन।

Tata
GBIME
Nepal Life

पाकिस्तानबाट सस्तोमा पैठारी गरिएको चिनीले बजार खाएपछि नेपालका उद्योगको चिनी विक्री हुन नसकेको उद्योगले जनाएको छ। गतवर्ष नेपालमा २ लाख ३६ हजार मेट्रिक टन चिनी आयात र १ लाख ७८ हजार मेट्रिक टन चिनी उत्पादन गरिएको थियो। नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार मेट्रिक टन रहेको बताइन्छ।

‘लगभग सबै चिनी उद्योगको यही अवस्था हो, गत वर्षको उत्पादनमध्ये एक तिहाइ चिनी बजारमा पुग्न अझै बाँकी छ’, मिल्सका सञ्चालक हितेश गोल्छाले भने, ‘सरकारले भ्याटसहित प्रति किलोग्राम ६४ रुपैयाँको दरभाउ तोकेको छ। यो रेटमा चिनी विक्री गर्दा हामीलाई घाटैघाटा छ।’ एकातिर गत वर्षको चिनी अझै विक्री भएको छैन भने अर्कातिर कारखाना पनि सञ्चालन हुन सकेको छैन।

‘पुसको सुरुआतबाट उत्पादन सुरु गर्नुपर्छ, उखु काटेर पेल्ने मुख्य बेला यही हो’, सञ्चालक गोल्छाको भनाइ थियो, ‘अब जति ढिलो हुँदै जान्छ त्यति नै उत्पादन कम हुँदै जान्छ किनभने उखुको रस सुक्तै जान्छ।’ सरकारले चिनी उद्योगले उखुको मूल्य कम्तीमा प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ दिनुपर्ने निर्णय गरेको छ। यसबाहेक प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारले किसानलाई छुट्टै उपलब्ध गराउँछ।

तर उद्योगपति गोल्छा सरकारले तोकेको मूल्यमा उखु खरिद गरेर प्रति किलोग्राम ६४ रुपैयाँमा चिनी विक्री गर्न नसकिने दाबी गर्दछन्। उनले मोरङ र सुनसरीका किसानलाई सामान्य जातको उखुको प्रति क्विन्टल ३ सय ८५ र उच्च जातको ४ सय ५ रुपैयाँ दिन सकिने बताएका छन्। 

सुदूर पश्चिमका किसानले प्रति क्विन्टल ३ सय ८५ मा बिक्री गरिरहेको उल्लेख गर्दै गोल्छाले इस्टर्न सुगर मिल्सले पनि यही दरभाउमा उखु खरिद गर्न सकेन भने मिल्स बन्द गर्नुपर्ने बताए। ‘सरकारले तोकेको रेटमा उखु खरिद गरेर हामी मिल चलाउन सक्तैनौँ’, उनको कथन थियो, ‘हामीले उखु खरिद गरेपछि किसानलाई भुक्तानी पनि दिनुपर्छ। तर यो रेटमा हामी भुक्तानी दिन असमर्थ छौँ।’

मोरङ र सुनसरी गरी २ जिल्लाका २ हजार १ सय किसानले गत वर्ष मिललाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थिए। यसवर्ष २ हजार ४ सय किसानले उखु खेती गरेको र १५ लाख क्विन्टल उत्पादन खेतमा भएको दाबी कोशी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीले गरे।

उनले मिलले सरकारले तोकेको दरभाउमा उखु खरिद गर्नुपर्ने अडान प्रस्तुत गर्दै मिल्सले भनेको रेटमा उखु दिन नसकिने दृढता देखाए।