
तस्विर: टाइगर टप्सको वेवसाइटबाट
सौराहा। सात वर्षअघि संरक्षणविद्ले चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल हटाउनुपर्ने माग गर्दै विरोधमा उत्रिए।
यो विरोधमा सौराहामा होटल संचालन गर्दै आएका व्यवसायी समेत सामेल भए। होटल बन्द गर्नुपर्ने माग गर्दै सौराहाका होटल व्यवसायी लबिङका लागि काठमाडौंसम्म आए।र, काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ‘निकुञ्जभित्रका होटल संचालन हुँदा वन्यजन्तु संरक्षणमै बाधा परेको जिकिर समेत गरे।’ यो मुद्धा सर्वोच्च अदालत समेत पुग्यो।
चौतर्फी दबाबपछि ०६९ साउन १ गतेबाट निकुञ्जभित्रका सात होटल बन्द भए। निकुञ्जभित्र टाइगर टप्स होटल, मचान वाइल्ड लाइफ रिसोर्ट, नारायणी सफारी, गैंडा वाइल्ड लाइफ क्याम्प, चितवन जङ्गल लज, आइल्याण्ड जङ्गल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी सात होटल सञ्चालनमा थिए।
…
निकुञ्जका होटल बन्द भए। तर सौराहामा पर्यटक बढेन्। निकुञ्जभित्रका होटल बन्द भएपछि त्यहाँ आउने पर्यटक सौराहामा आउने अपेक्षा व्यवसायीको थियो। तर झन् सौराहामा पर्यटकनै घटे।
वाइल्ड लाइफ टुरिज्जमको डेस्टिनेशन रहेको चितवन अहिले आकर्षणको केन्द्रमा छैन। निकुञ्जभित्रका होटल हटेपछि चितवनको वाइल्ड लाइफ टुरिज्जमको प्रचारप्रसार पनि कम भयो।र, वाइल्ड लाइफका लागि नेपाल आउने पर्यटकनै घटे।निकुञ्जभित्र आउने पर्यटक बढी खर्च गर्ने थिए। उनीहरु निकुञ्जभित्रै विभिन्न वन्यजन्तु हेर्नकै र शान्त वातावरणमा जंगलमै विताउन चाहने पर्यटक हुन्थे।४८ वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो भने ५५ वर्षअघि टाईगर टप्स होटल खुलेको थियो।
ती पर्यटक सौराहामा आएनन्। सात वर्षपछि सौराहाका होटल व्यवसायी आफैले भन्न थालेका छन्- 'निकुञ्जभित्रको होटल बन्द गर्नु चितवनको पर्यटन क्षेत्रका लागि घातक बन्यो।' संरक्षणविद्को लहैलहैमा लागेर व्यापार बढ्ने अपेक्षा गरेका सौराहाका व्यवसायीले निकुञ्जभित्रको होटल संचालनमा ल्याउनुपर्ने माग गर्न थालेका छन्।
….
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे निकुञ्जभित्रको होटल बन्द भएपछि वाइल्ड लाइफ सफारीका लागि आउने पर्यटक घटेको बताउँछन्।
‘निकुञ्जभित्र होटल हुँदा वाइल्ड लाइफ सफारीका लागि १० प्रतिशत विदेशी पर्यटक आउने गर्थे। तर अहिले तीन प्रतिशतमा झरेको छ’ उनले भने। उनले नेपालमा सफारी टुरिज्जमका लागि आउने पर्यटकका लागि आवश्यक संरचना र सफारीको अनुभव दिन नसकिएको स्वीकार गरे।‘निकुञ्जभित्रको होटल बन्द हुँदा विश्वव्यापी रुपमा मार्केटिङ समेत हुन सकेको छैन’ घिमिरेले भने।
रोयल पार्क होटलका प्रवन्ध निर्देशक घनश्याम श्रेष्ठ वाइल्डलाइफ सफारीमा आउने पर्यटकको अनुपात घटेको बताए। उनले निकुञ्जको होटल बन्द भएपछि सौराहा र डाउनटाउन घुम्ने पर्यटकको आगमन मात्रै बढेको बताए।
'दक्षिण अफ्रिकामा जस्तो वाइल्ड लाइफमा रमाउन चाहने पर्यटक नेपाल आउनै छाडे। यसले पर्यटन क्षेत्रको ठूलो प्रडक्ट गुम्यो' श्रेष्ठले भने। होटल संघका महासचिव विनायक शाहले निकुञ्जभित्रको होटल संचालनमा ल्याउन सकेमा वाइल्ड लाइफसँग सम्वन्धित पर्यटक बढ्ने बताए। ‘संरक्षणविद्ले चर्को आलोचना गरेर होटल बन्द भयो। यो होटल बन्द हुँदा नेपालको वाइल्ड लाइफ टुरिज्जम पनि गुम्यो’ उनले भने।
….
केही दिनअघि प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले चितवन राष्ट्रिय निकुञ्जभित्रको बन्द रहेको होटल खोल्नुपर्ने बताए।
उनले वाइल्ड लाइफ सफारीको डेस्टिनेशनको रुपमा रहेको चितवनको आकर्षणलाई कायम राख्नुपर्ने बताएका छन्। केही दिन अघि हात्ती महोत्सवको उद्घाटनको क्रममा होटल संघका अध्यक्ष अमरमान शाक्यले समेत निकुञ्जभित्रका होटल खोल्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका थिए।