ट्याक्सीमा हुण्डार्इ र मारुतीको बिग फाइट

बिजमाण्डू
२०७२ साउन २४ गते ००:०० | Aug 9, 2015
ट्याक्सीमा हुण्डार्इ र मारुतीको बिग फाइट


सविन मिश्र
/बिजमाण्डू
काठमाडौं । वर्षौंदेखि काठमाडौंमा गुड्दै आएका ट्याक्सीलाई अब 'कार'ले विस्थापित गर्दैछन् । अहिले रातो नम्बरप्लेटमा गुडिरहेका साना गाडीहरु अबको केही महिनापछि कालो नम्बरप्लेटमा गुड्नेछन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेपछि आफ्ना कारलाई ट्याक्सी बनाउन तीनवटा ब्राण्डप्रतिस्पर्धामा उत्रिएका छन् । कुन ब्राण्डले कति बाजी मार्छ अहिलेनै भन्न सकिँदैन ।
 
नयाँ ट्याक्सी बेच्न मुख्य तीन ब्राण्ड मारुती, हुण्डाईर टोयोटाबीच प्रतिस्पर्धा गर्न लागेका हुन् । लामो समयपछि सरकारले नयाँ दर्ता खुलेपछि यी तीन ब्राण्ड ट्याक्सी बेच्न अघि सरेका हुन् । यो मध्ये मारुतीले अहिले बजारमा गुडिरहेका ट्याक्सीमा बर्चश्व नै कायम गरेको छ ।
 
यस पटक ट्याक्सीको व्यापार निकै ठूलो हुनेछ  । तीन चरणमा तीन हजार तीन सय ट्याक्सी थप्ने तयारीमा सरकार छ । अटो मोवाइल्सको क्षेत्रमा यो सानो व्यापार होइन । एकै वर्षमा ६ अर्बभन्दा धेरैको गाडी ट्याक्सीका रुपमा बिक्री हुनेछन्  । सामान्यतया एकै पटक  गाडीका लागि ६ अर्बको बजार तयार हुँदैन । यही कारण पनि नेपालको अटो बजारमा स्थापित तीन प्रमुख ब्राण्ड ट्याक्सीको बजार कब्जा जमाउने दाउमा छन् ।
 
सरकारले नयाँ ट्याक्सी दर्ताका लागि केही दिन अगाडि सूचना निकालेको थियो । सरकारी सूचनासँगै नेपालमा विभिन्न कम्पनीका गाडी बेच्दै आएका विक्रेताले आफ्ना कारलाई ट्याक्सी बनाउन लागेका हुन् ।
 
हुण्डाईले इओन, मारुतीले अल्टो तथा टोयोटाले इटिअस र इटिअस लिभालाई ट्याक्सीका रुपमा बेच्न तयार भएका हुन् । उनीहरुले यसको अर्डर पनि निर्मातासमक्ष गरिसकेका छन् । इओन,अल्टो र इटिअस लिभा इन्ट्रिलेवलका कार हुन् ।
 
तीन चरणमा ३३ सय पुर्‍याइने
अहिले देशभर पाँचहजार पाँचसय ट्याक्सी सञ्चालनमा रहेको सरकारी अनुमान छ । सरकारले अब तीन चरणमा गरेर तीनहजार तीनसय ५० वटा ट्याक्सी थप गर्ने तयारी गरिरहेको छ । यस अन्तर्गतको पहिलो चरणमा एकहजार आठसय ५० वटा साधारण ट्याक्सी दर्ता हुनेछन् । ती ट्याक्सी मध्ये केही अहिले खाली रहेका नम्बरमा दर्ता हुनेछन् भने केहीले २० वर्ष पुरानाको 'रिप्लेस' गर्नेछन् ।
 
पहिलो चरणमा १८ सय ५० ट्याक्सी दर्ता भएपछि दोस्रो चरणमा भूकम्प पीडितका लागि पाँचसय वटा ट्याक्सीको दर्ता खुल्नेछ भने अन्तिम चरणमा डिलक्स र सुपर डिलक्स गरि एकहजार ट्याक्सी थपिने बागमती अञ्चल यातायात कार्यालयका प्रमुख राजेश पौडेलले बताए । पहिलो चरणमा साधारण ट्याक्सी खरीद गर्न चाहनेले यही भदौ २ गते भित्रमा निवेदन दिनुपर्छ ।
 
पहिलो चरणमा प्रतिस्पर्धा कस्को ?
पहिलो चरणमा थप्न लागेका ट्याक्सीको मापदण्ड अनुसार आठसय सिसी भन्दा कम क्षमताका ट्याक्सी दर्ता हुने छैनन् । अहिले नेपालमा यो श्रेणीको ट्याक्सीमा मारुती सुजुकी मात्रै गुडिरहेको छ । त्यो पनि १० वर्ष भन्दा नयाँ छैनन् ।
 
पेट्रोल भ्यारियन्टमा दर्ता हुने यस्तो ट्याक्सीका लागि हुण्डाईको इओन र इओन डिलाइट तथा मारुतीको अल्टो कारबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । दुवै कम्‍पनीले इन्ट्री लेभलको कारका रुपमा भित्र्याएको यो गाडी अब कालो नम्बर प्लेटमा गुड्नेछन् ।
 
हुण्डाईको इओन डिलाइटको मूल्य १७ लाख ५६ हजारर रुपैयाँ रहेको छ भने इओनको मूल्य १६ लाख ५६ हजार रुपैयाँ छ । यस्तै सेतो रङमा उपलब्ध हुने अल्टो ट्याक्सीको मूल्य १४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुवै गाडी आठसय सिसीका हुन् ।
 
टोयोटाले पनि इटिअस र इटिअस लिभा जि एन्ड जे गाडी ट्याक्सीका रुपमा बेच्ने निर्णय गरिसकेको छ । यो गाडीको मूल्य २७ लाख ८५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । जुन अहिले टोयोटाले बेच्दै आएको यी गाडीको मूल्य भन्दा सस्तो हो ।
 
अर्थतन्त्रमा असर कस्तो पर्ला ?
यी गाडीको अहिलेको मूल्यलाई आधार मानेर हेर्ने हो भने पहिलो चरणमा भित्रने १८ सय ५० वटा ट्याक्सीको मूल्य औषतमा १५ लाख रुपैयाँ पर्ने देखिन्छ । यी ट्याक्सीको मूल्य मात्रै दुई अर्ब ८० करोडको हाराहारीमा पर्छ । यति मात्रै नभई भूकम्प पीडितका लागि पनि पाँचसय ट्याक्सीको दर्ता केही समय पछि खुल्छ । ती ट्याक्सीको मूल्य ७५ करोड रुपैयाँ भन्दा धेरै पर्छ ।
 
डिलक्स ट्याक्सीको मूल्य पनि औषतमा २० लाख रुपैयाँ पर्छ । यस्ता पाँचसय गाडीको मूल्य पनि करिब एकअर्ब रुपैयाँ भन्दा धेरै पर्छ । सुपर डिलक्स ट्याक्सीको मूल्य २५ देखि ३० लाखसम्म पर्छ । न्यूनतम हिसाब गर्ने हो भने पनि पाँचसय वटा यी गाडीको मूल्य एकअर्ब २५ करोड रुपैयाँ पर्छ । सबै ट्याक्सी नेपाल भित्रिँदा कम्तिमा पनि झण्डै ६ अर्ब रुपैयाँ भन्दा धेरै मुल्य पर्छ ।
 
सामान्य हिसाब गर्दा १५ लाख रुपैयाँ पर्ने गाडीको भन्सार, भ्याट, अन्तशुल्क तथा अन्य शूल्क गरी सरकारलाई नौ लाख रुपैयाँ तिर्नु पर्छ । सबै ट्याक्सी भित्रिदा सरकारी खातामा पनि एकै पटक तीन अर्ब रुपैयाँ भन्दा बढी पैसा जानेछ ।
 
सिप्रदीले डिलक्समा प्रतिस्पर्धा गर्ने
टाटा कम्पनीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अहिलेको सामान्य ट्याक्सी नबेच्ने भएको छ । तर उसले डिलक्स र सुपर डिलक्सका लागि भने गाडि तयार रहेको जनाएको छ । सिप्रदीका सेल्स एन्ड मार्केटिङ म्यानेजर अर्जुन कार्कीले सामान्य ट्याक्सी नबेच्ने बताए । तर उनले डिलक्सका लागि भने आफ्नो उत्पादन तयार रहेको जानकारी दिए ।
 
उनले डिलक्समा इन्डिगो इसिएस र सुपर डिलक्सका लागि मान्जा गाडी तयार रहेको बताए । मान्जाको मूल्य २८ लाख रुपैयाँ र इन्डिगो इसिएसको मूल्य २४ लाख रुपैयाँ पर्ने कार्कीले जानकारी दिए ।
 
कसरी हुन्छ त सस्तो ?
ट्याक्सी वा कारका जुन रुपमा गाडी दर्ता भए पनि सरकारी राजश्वको दर समान नै हुन्छ । तर ट्याक्सीका रुपमा विक्री गर्ने भएपछि उत्पादकहरुले नै ती गाडीको मूल्य कम गरिदिन सक्छन् । यातायात कार्यालयका प्रमुख पौडेलले सरकारले ट्याक्सीका रुपमा दर्ता गर्दा कुनै छुट दिन नदिने बताए । 'ट्याक्सीका रुपमा दर्ता गर्दा छुट दिने भन्ने त हुँदैन,' उनले भने, 'एउटै गाडी ट्याक्सी वा कार जुन रुपमा दर्ता भए पनि त्यसको भन्सार लगायतका शुल्क समान नै हो ।'
 
सिप्रदी ट्रेडिङका सेल्स एन्ड मार्केटिङ म्यानेजर कार्कीले पनि धेरै विक्री गर्न सके कम्पनीले नै भाउ घटाइदिने भन्दै त्यो अवस्थामा गाडी सस्तो हुन सक्ने बताए ।
 
ब्राण्ड बिग्रने चिन्ता
नेपालमा गाडी बेच्दै आएका केही कम्पनीहरुले भने ब्राण्ड बिग्रने भन्दै आफ्ना कार ट्याक्सी नबनाउने बताएका छन् । फोर्ड गाडीको नेपालस्थित विक्रेता गो फोर्डका निर्देशक आकाश गोल्छाले ब्राण्ड बिग्रने भन्दै आफ्ना कार ट्याक्सी नबनाउने बताए ।
 
'हाम्रो गाडी केही महँगो छ र हामीले निजी प्रयोजनका गाडी नेपालमा ल्याइरहेका छौं,' गोल्छाले भने, 'हरियो नम्बरप्लेटसम्म भए दिन सकिन्थ्यो तर कालो नम्बर प्लेटका लागि फोर्डका गाडि बेच्दैनौं ।' उनले कालो प्लेटका लागि गाडी बेच्दा त्यो अल्पकालीन हुने र लामोसमयसम्म रातो प्लेटमा बेच्नु पर्ने भएकाले ट्याक्सीमा नदिने बताए ।
 
नेपाली सडकमा गुड्न थालेको डटसन गाडी पनि ट्याक्सीमा रुपान्तरण नहुने भएको छ । आफ्ना उत्पादन पर्याप्त नभएको भन्दै डटसन गाडीको आधिकारिक विक्रेता सारडा समूहले ट्याक्सी बनाउन अनिच्छा देखाएको हो ।

Tata
GBIME