
ऋषिकेश दाहाल/बिजमाण्डू
काठमाडौं । नेपाली सडकमा सबैभन्दा धेरै गुड्ने ब्रान्ड टाटा भए पनि कार सेगमेन्टमा यो पछिल्लो खेलाडी हो। कार उत्पादनमा दुई दशक पनि पूरा नगरेको टाटाको पहिलो कार हो इन्डिका। सन् १९९८ मा पहिलो प्यासेन्जर कार इन्डिका ल्याएपछि टाटासँग जोडिएको एउटा परिचय हो – इकोनोमिक। अर्थात् कम मूल्यमा धेरै स्पेस भएको बलियो गाडी।
औशत लुक्स र सामान्य इन्टेरियर भएको इन्डिका उकासिँदो भारतको अर्थतन्त्रको उम्दा उत्पादन थियो। नेपालमा पनि इन्डिकाले राम्रै रवाफ बटुलिरहेको छ। कम मूल्यमा बलियो र शक्तिशाली कारमार्फत् सुरु भएको टाटाको कार पहिचान यतिखेर दोस्रो इनिङको यात्रामा जुटेको छ।
सन् २०१४ बाट सेडान जेस्टबाट कार सेगमेन्टमा दोस्रो इनिङ थालेको टाटाले हालै बोल्ट ल्यायो। नेपाली बजारमा भर्खरै भित्रिएको बोल्ट कस्तो छ त ? हामीसँगै बोल्टको यात्रामा यहाँलाई स्वागत छ।
खुट्टा पूरै तन्काएरमात्रै ड्राइभ गर्न मन पर्ने भएकाले मैले सिट पूरै सारेँ।
'सरी है मलाई फ्रि भएर चलाउन मन लाग्छ'
पछाडि रहेका अर्जुनले कुनै आपत्ती जनाएनन्। मैले ड्राइभिङ सिटलाई अधिकतम पछाडि लैजाँदा पनि पछाडि बसेका साथीहरुलाई समस्या थिएन।
'रतन टाटा ६ फिट उचाईका छन्। त्यसैले उनी कारमा खुम्चेर बस्न चाहन्नथे,' अर्जुनले मौका छोपे र सुनाइहाले। मैले आफूलाई चाहिने स्पेस अकुपाई गर्दा पनि पछाडि बस्ने साथीहरुले खुट्टा खुम्च्याउनुपर्ने स्थिति थिएन।
टाटाको नयाँ इनिङको दोस्रो उत्पादन ह्याचव्याक सेगमेन्टको बोल्टमा चढ्नुअघि टाटाकै इन्डिकाको पछिल्लो संस्करण इन्डिका भिटूको ड्राइभिङ सिटमा एकैछिन बितायौं। पहिलो इनिङको पहिचान सस्तो, बलियो र भरपर्दोमात्रै थियो। इन्डिकापछि दोस्रो इनिङको पहिलो कार जेस्ट चढेपछि 'कार भनेको त यस्तो पो हुनुपर्छ' भन्ने निश्कर्ष निकाल्दै निख्खार सेतो बोल्टको टेस्ट ड्राइभिङ सुरु भयो।
बोल्टमा तीन मोड छन्। सिटी, इको र स्पोर्ट। राजधानीकै व्यस्त टेकुबाट बाहिर निस्कन सिटी मोड नै उपर्युक्त थियो। सिटी मोडले मध्यम गतिको फ्युल खपत गर्दो रहेछ। इको अर्थात् इकोनोमिकले कम खपत गर्ने र स्पोर्ट मोडमा जाँदा केही बढी तेल खपत गर्ने रहेछ। एउटै इन्जिनमा तीन मोडमा गाडी ड्राइभिङ गर्न चाहना भएका एकै परिवारका तीन पुस्तालाई यसले लोभ्याउँछ नै।
लामो दुरीको यात्रा गर्दा फराकिलो बाटो हुँदा हुँदै पनि अरु गाडीलाई उछिन्न कठिन हुनसक्छ। त्यतिखेर स्पोर्ट मोडमा हुइँकिदा निक्कै सहज हुन्छ नै। फ्युल कम छ भने इको मोडमा चढ्दा केही बढी किलोमिटर दुरी तय हुन्छ। एक इन्जिन र तीन मोडले बोल्टलाई वास्तवमै 'बोल्ड' बनाएको छ।
इन्जिनबारे थाहा पाउनुस्
इन्जिन : टर्बोचार्ज्ड एमपीएफआई विथ मल्टी ड्राइभ
इन्धन : पेट्रोल
क्षमता : ११९३ सीसी, ४ सिलिन्डर
ब्रेक : अगाडि डिस्क, पछाडि ड्रम
इन्धन ट्याङ्की : ४४ लिटर
ग्राउन्ड क्लियरेन्स : १६५
…………………….
—
दुई महिना अघि दोलखाबाट राति ८ बजे काठमाडौंको लागि ड्राइभ गरिररहेका थियौं। उमेश श्रेष्ठले आइफोनबाट जिपिएस ट्र्याकको प्रयोग गरेर 'अगाडि ठूलो मोड छ है' भनेर सचेत गराउँदा यात्रा निक्कै सहज बनेको थियो।
जोखिमबाट बच्न ग्याजेटको प्रयोग महत्वपूर्ण हुने नै गर्छ। बोल्टमा यस्तै अफलाइन जिपिएस ट्र्याकर उपलब्ध छ। अगाडि कुन कस्तो बाटो आउँदैछ भन्ने ड्यासबोर्डमा इन्टिग्रेटेड मोनिटरले सूचना उपलब्ध गराउँछ।
स्टेरिङलाई सकेसम्म आकर्षक बनाउन टाटाले कुनै कसर छाडेको छैन। स्टेरिङ र ड्यासबोर्डमा ग्याजेट्सको युगलाई गजबले सम्बोधन गरिएको छ।
स्टेरिङबाटै मोबाइल कन्ट्रोल, ड्राइभिङ गरिरहेको संदेश पठाउने र म्युजिक कन्ट्रोल गर्ने सुविधा छ। तर, स्टेरिङमा ग्याजेट्स चलाउन औला अभ्यस्त भइनसकुन्जेल भने यो फिचर कम उपयोगी हुनसक्छ। कमन स्टेरिङबाट ग्याजेट्स इन्ट्रिगेटेड स्टेरिङमा अभ्यस्त हुन केही समय लाग्छ नै। चलाउन नजान्दासम्म भने यो जोखिमपूर्ण पनि हुनसक्छ।
स्मुथ स्टेरिङ र क्लचले स्पोर्टी कारलाई बिर्स्याउने हैसियत राख्छ। 'स्पोर्टी लाग्यो' भनिरहँदा सँगै रहेका अर्जुन उस्तै अनुभव सुनाइरहेका थिए – 'पहिलोपटक यसमा चढ्दा स्पोर्टस कार चलाएजस्तै लागेको थियो।'
यसका सुरक्षा यस्ता
पछाडिका ढोकामा चाइल्ड लक
स्पिडमा आधारित अटो डोर लक
एबीएस
अगाडिका दुवैका लागि एअर ब्याग
चालकलाई सिटबेल्ट नलगाएको सूचक
स्मार्ट फोन अहिले सामान्य भइसकेको छ। बोल्टले स्मार्ट फोनको प्रयोगकर्तालाई आफ्नो ग्राहक ठान्छ। किनकि यसमा स्मार्ट फोन नेभिगेसन इनेबल्ड छ। सूचना र प्रविधिको अधिकतम प्रयोग हुनु युगअनुसार सामान्य नै हो।
त्यसैले कारमा इन्फोटेनमेन्टलाई विशेष ध्यान दिइएको छ। इन्फरमेसन र इन्टरटेनमेन्टको फ्युजनबाट बनेको इन्फोटेनमेन्ट नयाँ शब्दकै रुपमा स्थापित भएको छ। नेक्स्ट टचस्क्रिनदेखि रेडियो तरङ्गहरु, ब्लुतुथ इन्टिग्रेटेड भएकाले ग्याजेट सौखिनका लागि बोल्टले निक्कै सघाउ पुर्याउँछ।
कारसँगै जोडिएको ग्याजेटले एसएमएस आएको संकेतमात्र दिन्न। हामीले चढिरहँदा मोबाइलमा आएको म्यासेज नै टेक्स्ट टू स्पिच मोडमा लैजान्छ र सुनाइदिन्छ के आयो खबर। ड्राइभिङ गरिरहेको सूचना फोन गर्नेलाई तत्कालै पठाउने सुविधा यसमा उपलब्ध छ।
भिडियो प्लेब्याक र इमेज भिवरले पछाडि बसेर यात्रा गर्नेहरुलाई थप मनोरञ्जन दिन्छ। यो सुविधा गाडी चालकका लागि भने धेरै उपयोग हुँदैन। भिडियो प्ले गर्दा चालकको ध्यान अन्यत्र मोडिने खतरा उत्तिकै हुने गर्छ।
टेस्ट ड्राइभिङबाट फर्किनेक्रममा घाम कमजोर भइसकेको थियो। क्षितिजतिर बादल मडारिरहेका थिए। संयोग नै मान्नुपर्छ त्यही क्षितिजतिर नजर लगाएको छ बोल्टले। होराइजन नेक्स्ट सिद्धान्तमा आधार भएर तयार भएको रहेछ बोल्ट। ड्राइभ नेक्स्ट, कनेक्ट नेक्स्ट र डिजाइन नेक्स्टले कार निर्माणको क्षितिज विस्तार गराएको छ।
यस्तो डिजाइनका लागि वर्ल्ड क्लास डिजाइनरहरु जुटाएको रहेछ टाटाले। त्यसको अनुभूति ड्यासबोर्डको स्वरुपले नै पारिरहेको थियो। टाटा अब फिनिसिङ र लुक्सतिर तानिएको जो कसैले पनि बोल्ट चढेपछि चाल पाउँछ। आखिर लुक्सले नै पहिलो इम्प्रेसन दिने हो। बोल्ट दमदार लुक्समा सजिएको छ।
भारतमा जस्तै नेपाली बजारमा पनि बोल्डले हुन्डाईको आइट टेन ग्रान्ड र मारुती सुजुकीको स्विफ्टसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। ग्राउन्ड क्लियरेन्सका आधारमा हुन्डाइ र मारुतीभन्दा बलियो देखिएको कार नेपाली बाटोका लागि सुहाउँदो छ। किनकि नेपालका सडक जति राम्रा छन् त्यो भन्दा धेरै खराब पनि छन्। ग्राउन्ड क्लियरेन्स बढ्दा कारको आयु बढ्छ नै।
मूल्यबारे थाहा पाउनुस्
बोल्टको मूल्य २३ लाख ९५ हजारबाट सुरु हुन्छ।
२९ लाख रुपैयाँमा यसको हाइ इन्ड भर्सन लिन सकिन्छ।
हामीले हाइ इन्ड भर्सनमा टेस्ट ड्राइभ गरेका हौं।
यसका फिचर मूल्यअनुसार घटबढ हुनसक्छ।

—
हरेक कारका आ आफ्नै विशेषता हुने गर्छ। हाम्रो टेस्ट ड्राइभको अनुभव यही हो – मूल्यसँग तुलना गर्दा बोल्टको बोल्डनेस धेरै बलियो छ। १ हजार २ सय सीसी क्षमताको टर्बोचार्ज्ड इन्जिनको मल्टिपल फङ्सन यो सेगमेन्टको कारमा पाइन्न। टाटा बलियो भनेर पहिले नै स्थापित छ। अब बलियोसँगै मोर्डन र सेक्सी लुक्सको पहिचान पनि यसले दिनेमा दुईमत छैन।