
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापारिक प्रयोजनका लागि डलरको सटही सुविधा बढाएको छ । नेपाल राष्ट्र बैंकले यसअघि दिँदै आएको डलर सटही सुविधा पाँच हजार डलरले बढाएको हो ।
यसअघि यसरी डलर साट्ने सुविधा ३५ हजार डलर रहेकोमा अब यसलाई बढाएर ४० हजार पुर्याइएको छ । राष्ट्र बैंकले यो सुविधा बढाएपछि भारतबाहेक तेस्रो मुलुकबाट ड्राफ्ट टिटीको माध्यमबाट वस्तु आयात गर्दा तिर्नु पर्ने रकमको सीमा बढेको हो ।
राष्ट्र बैंकको यो नीतिप्रति व्यवसायीहरु भने विरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवालले न्यूनतम ५० हजारको सटही सुविधा चाहिने भएपनि राष्ट्र बैंकले पाँच हजार मात्रै थप गरेको बताए । 'हामीले ५० हजार पुर्याउनु पर्छ भनेर माग गरेका थियौं,' उनले भने, 'तर गभर्नरले मन राख्दिनलाई पाँच हजार थपेर ४० हजार डलर पुर्याइदिनु भयो, यो अपर्याप्त छ ।'
नेपाल राष्ट्र बैंकले व्यक्तिगत रुपमा विदेश जानेका लागि दिँदै आएको सटही सुविधा भने परिवर्तन गरेको छैन । व्यक्तिगत रुपमा विदेश जानेले बढिमा २५ सय डलरसम्म साट्न पाउँछन् ।
यस्तै राष्ट्र बैंकले नेपाली टुर अपरेटरमार्फत मानसरोबर जाने भारतीय पर्यटकका लागि पाँचसय डलरसम्मको सटही सुविधा उपलब्ध गराउने व्यवस्था पनि मिलाउने भएको छ । यसका लागि होटलमा पैसा तिरेको भ्याट बिल तथा बैंकिङ च्यानलबाट रकम भित्रिएको प्रमाण पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
व्यापारिक प्रयोजनका लागि वाणिज्य बैंकहरुलाई एक हप्तालाई आवस्यक पर्ने भारतीय रुपैयाँको सटही सुविधा पनि राष्ट्र बैंकले दिने भएको छ । राष्ट्र बैंकले अमेरिकी डलरको खरीद-बिक्री प्रक्रयालाई अटोमेसनमा पनि लैजाने तयारी गरेको छ ।
यस्तै नेपाली कम्पनीहरुले ५० हजार अमेरिकी डलर भन्दा धेरैको परामर्श शुल्क तिर्ने गरी विदेशी परामर्शदाता नियुक्त गर्नु परेमा सटहीका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ ।
नयाँ नीति अनुसार भारतीय ट्रान्सपोर्ट कम्पनीलाई ढुवानी भाडा भारतीय रुपैयाँमा नै तिर्नुपर्ने अवस्थामा भारु ७५ हजारसम्म सटही सुविधा दिने व्यवस्था गरिएको छ । यसअघि यस्तो सुविधा ५० हजार भारु थियो ।