युपिदेखि तिब्बतसम्म सिमेन्ट निर्यात सम्भव छ , रमेश गुप्ताको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ चैत्र ८ गते ००:०० | Mar 22, 2015
युपिदेखि तिब्बतसम्म सिमेन्ट निर्यात सम्भव छ , रमेश गुप्ताको अन्तर्वार्ता


चीनमा होङ्सीका ३२ वटा सिमेन्ट उद्योग छन्, र त्यसमा एउटा उद्योगको वार्षिक क्षमता २० लाख टन भन्दा कम छैन । भारतमा वार्षिक १४ करोड टन सिमेन्ट उत्पादन हुन्छ, तर चीनमा होङ्सी एक्लैले आठ करोड टन सिमेन्ट उत्पादन गर्छ, त्यस्तो कम्पनी नेपाल आएको छ र लगानीका लागि अझ हामी भन्दा पनि उनीहरु ईच्छुक देखिए भन्दा मलाई गर्ब लाग्छ 
शिवम् होल्डिङको कुरा गर्नुभयो भने ६ वटा समूह छन् । हाम्रो सिमितता छ । मसँग मात्रै करोडौ रुपैयाँ खर्च गर्ने ल्याकत छैन । मेरो क्षमता पकेटको जति मात्रै हो । मैले लिने जोखिम भनेको त्यति मात्रै हो । कि मैले मेरो क्षमताले भ्याएको व्यवसाय गनुपर्र्यो कि म ग्लोबल जानको लागि मैले साथ धेरैको साथ लिनुपर्‍यो

वातावरण छ, वातावरण त ठीक हुन्छ । संविधान त बनिहाल्छ । संविधान नआउँदा काम त रोकिएको छैन । संविधानले कुनै लगानीकर्तालाई लगानी नर्गनुहोस् पनि भनेको छैन । संविधान भनेको राजनीतिक इच्छाशक्ति हो । संविधान नआउँदा विकासलाई कही पनि रोकेको छैन । आज नेपालको कुनैपनि पार्टीले  विकास गर्दिन भनेको छैन
लक्की समूहका लागि यो वर्ष साँच्चिकै ‘लक्कि’ बन्यो । समूहकै कम्पनी शिवम सिमेन्ट्सले चीनको ठूलोमध्ये एक होङ्सी सिमेन्टसँग नेपालमा ३० अर्ब रुपैयाँ लगानीका लागि साझेदारी गर्यो । त्यसका लागि पहल गर्नेमध्येका एक लक्की समूहका उपाध्यक्ष रमेश गुप्ता थिए । बिजमाण्डूका लागि विज्ञान अधिकारीले गुप्तालाई सोधे, साधरणतया मारवाडी समुदायले भारतीय लगानीकर्ता नेपाल भित्र्याउने चलन छ, तर तपाईंहरुले चिनियाँ लगानीकर्ता ल्याएर सबैलाई चित्त खुवाउनु भयो है ?

Tata
GBIME
NLIC


सामान्यतया माडवारी समुदायको भारतीय साझेदार खोज्ने प्रचलन थियो । तर तपाईहरुले त चिनियाँ साझेदार ल्याएर सबैलाई चकित पारिदिनु भयो ?
तपाईले भनेको जस्तो हामीले चकित बनाएका होइनौं । मुलुकलाई सुहाउने र बलियो साझेदार खोज्ने मनस्थिति हुन्छ । शिवम् सिमेन्ट स्थापना गर्दा भारतीयसँग संयुक्त लगानीको कुरा भएको थियो । एक वर्षसम्म लगातार छलफल भए पनि दुर्भाग्यवश संयुक्त लगानीमा कुरा मिल्न सकेन । तर हाम्रो अनुभवले पछिल्लो तीन वर्षमा आत्मनिर्भर भयौं । मैले यहाँ भन्न खोजेको आत्मनिर्भर, यो अर्थमा हो कि गुणस्तर, ब्रान्ड, बजार स्थायित्वमा पहिलो बन्यौ र हाम्रो प्लान्ट समेत पूर्ण क्षमतामा चल्यो ।
यी सबै क्षमताले यो व्यवसायलाई सहज रुपमा अगाडी बढाउन सकिने आत्मविश्वास भयो । तर अहिले आएर हामीलाई के लाग्यो भने प्रविधि धेरै छिटो परिवर्तन भइरहेका छन्, हामी प्रविधिसँग गएनौ भने धेरै पछि पर्छौ । प्रविधि मात्रै होइन बजार पनि बढ्दो क्रममा छ । 
फेरि नेपालमा कम्तीमा पनि दश वर्ष पूर्वाधार निर्माणको जुन समय आउँदैछ त्यसका लागि आजको मनस्थिति, व्यवसाय, काम गर्ने संस्कार र उद्यमशीलता छ त्यसले पुग्दैन । अब यी सबै क्षेत्रमा विज्ञता चाहिन्छ । ठूलो/ठूलो परियोजनामा नेपाली सिमेन्ट प्रयोग भएको छैन । यहाँ उत्पादित सिमेन्टको गुणस्तर विदेशीको जस्तै हुँदा हुँदै पनि नेपाली सिमेन्ट प्रयोग भएको छैन । उदाहरणका लागि मेलम्ची खानेपानी आयोजनामा नेपाली सिमेन्ट प्रयोग भइरहेको छैन । काम गर्दागर्दै सेट हुने उच्च ग्रेडको सिमेन्ट मेलम्चीमा आवश्य थियो । मेलम्चीलाई आवश्यक पर्ने सिमेन्ट कुनै पनि नेपाली उद्योगले दिन सकेन् ।
भबिष्यमा आउन लागेका ठूला पूर्वाधार योजना, सडक, एक्सप्रेस रेल, एयरपोर्ट, जलविद्युत आयोजनाका लागि विशेष खालको सिमेन्ट आवश्यक पर्छ । यो सिमेन्ट उत्पादनको लागि हामी सक्षम छैनौ । सरकारले हामीलाई यस्ता सिमेन्ट उत्पादनको लागि सक्षम हुनुहोस् भनेको छ र त्यस्तो प्रविधि र गुणस्तर ल्याउन समेत आग्रह गर्यो ।
यही समय चीनको होङ्सी ग्रुपले लगानी गर्ने इच्छा जाहेर गर्यो ।  चीनमा यो समूहको ३२ वटा सिमेन्ट उद्योग छन् र त्यसमा पनि एउटा उद्योगको वार्षिक क्षमता २० लाख टन भन्दा कम छैन । भारतमा वार्षिक जम्मा १४ करोड टन सिमेन्ट उत्पादन हुन्छ । चीनमा एउटा मात्रै समूह होङ्सीले आठ करोड टन सिमेन्ट उत्पादन गर्छ । यो समूहले स्पेशल सिमेन्ट उत्पादनमा अग्रणी छ । यो  मात्रै होइन जहाजलाई आवश्यक पर्ने मरिन सिमेन्ट समेत उत्पादन गर्छ । यो समूहको विज्ञताले समेत हामीलाई आर्कषित गर्यो । अझ हामी भन्दा पनि उनीहरुनै लगानी गर्न ईच्छुक देखिए भन्दा मलाई गर्ब लाग्छ । 
यो समूहले डेढ वर्ष अघि आएर सर्वे गर्यो । उनीहरुले सबै सिमेन्ट उत्पादकको सर्वे गरेपछि हामीलाई छनौंट गर्यो । हाम्रो समूहको कर्पोरेट कल्चर, गुणस्तर र चिनियाँ परियोजनामा हाम्रो पायोनियरिङ छ । सबै चिनियाँ परियोजनामा शिवम् सिमेन्ट प्रयोग भएको छ र भारतीय परियोजनामा समेत प्रयोग भइरहेका छन् । यही कारण होङ्सी शिवमसँग संयुक्त रुपमा जान तयार भएको हो । संयुक्त लगानी गर्न एक वर्ष अध्ययन गर्ने सहमति भएको थियो । दुबै समूह मिलेर एघार महिना बजार र क्षमताको अध्ययनपछि मात्रै मार्च १७ मा औपचारिक सम्झौंता गरेका हौं । अब तीन वर्ष भित्र प्लान्ट ल्याउँछौ ।

३० अर्बको प्रोजेक्ट, चिनियाँ समूहले २० अर्ब रुपैयाँ लगाउँदैछ । अहिलेसम्मकै ठूलो लगानी सिमेन्ट उद्योगमा भित्रिदैछ ?
यो परियोजना तीस अर्बको हुन्छ र त्यो पनि पूर्ण स्वचालित । केहीमा सामान्य मात्रै म्यानुअल हुन्छ । वातावरणमा हाम्रो जुन मापदण्ड छ चीनमा त्यो भन्दा बढी छ । उनीहरुको त्यही मापदण्ड स्विकृती गरेर प्लान्ट स्थापना हुनेछ । उद्योगको सेयर संरचना ७० र ३० प्रतिसत हुनेछ, ७० प्रतिशत सेयर होङ्सीको र ३० प्रतिशत हाम्रो । यो संझौताको कुरा हो । लगानी बोर्डबाट स्विकृती पाएपछि मात्रै लगानीको बारेमा टुंगो लाग्नेछ । सरकारले मौखिक सहमति दिएको छ, हामी लिखित सहमतिको लागि कुरिरहेका छौ । सरकारको सहमतिपछि लगानीको बारेमा टुंगोमा पुग्छौ ।
बैंकहरुसँगको प्रारम्भिक छलफल भएको छ । तीस प्रतिशत लगानीको लागि हामीलाई कुनै समस्या छैन । शिवम् सिमेन्ट चलिसकेकाले लगानीको समस्या हुँदैन तर ७० प्रतिशत लगानी भने उतैबाट आउँछ ।

नेपालमा एउटा उद्योगको लागि यति ठूलो लगानी कसैले गरेको थिएन होला । यत्रो ठूलो लगानी गर्ने आत्मविश्वास तपाईहरुलाई केले बनायो ?
आज नेपालमा चालिस लाख टनको सिमेन्टको बजार छ । यो वार्षिक रुपमा १५ प्रतिशतले बढिरहेको छ । जुन बेला यो प्लान्ट संचालनमा आउँछ त्यो बेलासम्म हाम्रो सिमेन्टको आवश्यकता वार्षिक ५० लाख टन हुन्छ । अहिले नेपालको उत्पादन क्षमता १३ वटा प्लान्टबाट तीस लाख टन मात्रै छ ।
सरकारले अब दुई वर्ष पछिदेखि लागु हुनेगरि क्लिङ्कर आयातमा प्रतिवन्ध लगाइसकेको छ, यो राम्रो नीति हो । यो र भन्सारमा अपनाएको केही नीतिले स्वदेशी उद्योग प्रवद्र्धनमा सहयोग पुगेको छ । आउँदो दुई वर्षमा केही भ्याकुम हुन्छ र अर्को एकाधिकार नहोस् भन्ने सरकारको चाहना हो । मागभन्दा आपूर्ति कम भयो भने एकाधिकार हुन्छ । मूल्य नियन्त्रणका लागि पनि अन्तर्राष्ट्रिय कम्पनी आउनुपर्छ । सरकारले मूल्यमा पनि प्रतिस्पर्धा चाहेको छ । यति ठूलो लगानी आउनुमा प्रतिस्पर्धा प्रमुख कारण हो ।
अहिले विद्युतको अभाव छ तर तीन वर्षपछि विद्युतको समस्या रहँदैन । विजुलीको पूर्ण रुपमा उपयोग हुनुपर्छ भन्ने चाहना सरकारको पनि छ । आन्तरिक बजारमा विजुलीको पूर्णरुपमा उपयोग गरेर बचेको मात्रै निकासी गर्ने सरकारले भनिरहेको छ । सिमेन्टको लागि आवश्यक पर्ने विजुली र चुन हो । सिमेन्टको लागि आवश्यक पर्ने ९५ प्रतिशत कच्चा पदार्थ हामीसँगै छ । ग्राइन्डिङ युनिटहरु भबिष्यमा विस्तार गर्दै जान सकिन्छ ।


हामीले सिमेन्टको स्वदेशी बजार हेरिरहेका छौं तर तपाईहरुको साझेदार होङ्सीले तिब्बत लगायतका बजार हेरेर पनि लगानी गरेको होला नि ?
निश्चय पनि होङ्सीले तिब्बत हेरेको छ । तिब्बतमा दुई वटा उद्योग छन्, ल्हासा र जाङ्बुतिर । अहिले तिब्बतमा एक बोरा सिमेन्टको नौ सय रुपैयाँ पर्छ । तिब्बतमा सिमेन्टको मूल्य अत्यन्तै धेरै भयो ।
भारतसँग नेपालको सौविध्य व्यापारको सम्झौंता पनि छ । यो हुने वित्तिकै भन्साररहित सुविधा प्राप्त गर्न सक्छौ । उत्तर प्रदेश र विहारमा सिमेन्टको एउटा पनि उद्योग छैन । उनीहरुले मध्यप्रदेश र राजस्थानबाट सिमेन्ट ल्याउँछन् । यो हिसाबले भारततर्फ सिमेन्ट निकासी गर्न नेपाल भौगोलिक हिसाबले उपयुक्त छ ।
सिमेन्ट निकासीको लागि यातायातको मात्रै समस्या हो, त्यसमा पनि पूर्व–पश्चिम जोड्ने रेल्वेको कुरा भइरहेको छ । यो रेल्वेसँग लिंक हुनेवितिकै कोइला आयात गर्ने र त्यही रेलमा सिमेन्ट निकासी गर्न सकिन्छ ।
चीनमा सिमेन्टको बजार पुगिसकेको छ । अब चीनमा प्लान्ट लगायो भने बजार छैन ग्रोथ रेट पनि नेगेटिभ छ । त्यसैले यही समूहले २०/२० लाख टनको दुई वटा उद्योग इन्डोनेशियामा लगाउँदैछ । बर्मामा २० लाख टनको उद्योग स्थापना गर्न खोज्दैछ । उनीहरु सिमेन्टमा ग्लोबल लिडर बन्न खोज्दैछन् ।

तपाईले नेपाली बजारको कुरा गर्नुभयो । तर यही बीचमा अन्तर्राष्ट्रिय लगानीकर्ता डोंगोटे आउँछु भनेको छ, रिलायन्सले ४० अर्ब लगानी गर्छु भनेको छ, स्वदेशी लगानीकर्ता चौधरी समूहले १२ अर्ब रुपैयाँ लगानी गर्दैछ । तपाईहरु पनि यति धेरै लगानी गर्दै हुनुहुन्छ । यति धेरै लगानी बजारले थेग्न सक्छ ?
बुझ्नै पर्ने कुरा के छ भने पूरै विदेशी लगानी नेपालमा ल्याउन अलि अप्ठ्यारो छ । स्थानीयसँग मिलेर आयो भने प्रक्रिया सजिलै अघि बढ्छ । स्थानीय साझेदारसँग आउँदा जनताले समेत स्वागत र सहयोग गर्छन् । राजनीतिक दलहरुले पनि स्थानीय सहभागिता खोजेका छन् । जुनसुकै क्षेत्रमा पनि स्थानीय साझेदार खोजेको अवस्था छ ।
निश्चय पनि डोंगोटे र रिलायन्सलाई नेपालले स्वागत गर्नैपर्छ । उनीहरु आउनेवितिकै बजार विस्तार हुन्छ । यो लगानी आउनेवितिकै भारतमा निकासीको सम्भावना रहन्छ । अहिले हाम्रो विजुलीको माग भनेको थप चार सय मेगावाट हो, तर किन १० हजार मेगावाट बनाइरहेका छौ । दक्षिण पूर्वी एसिया, बंगलादेश, भुटान हेर्न सक्छौ । हामीसँग धेरै राम्रा बजार छन् । सबैभन्दा ठूलो भनेको नेपाली कम्पनीले विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने वाध्यात्मक अवस्था छैन र स्वदेशमै सस्तो मूल्यमा पाउने अवस्था छ ।
जहाँसम्म चिनियाँको रिपुटेसन छ विश्वकै ५३ प्रतिशत सिमेन्ट चीनमा उत्पादन हुन्छ र अन्य देशमा जम्मा ४७ प्रतिशत मात्र । भारतले सात प्रतिशत मात्रै सिमेन्ट उत्पादन गर्छ । त्यसैले हामीले उनीहरुसँग साझेदारी गरेका हौ । कुनै पनि विज्ञता ल्याउँदा सबैभन्दा उत्कृष्ट ल्याउनुपर्छ ।  बजार र प्रतिफल नहेरी कुनै पनि लगानीकर्ता आउँदैनन् । बजार पूरा भएपछि प्रतिफल हुँदैन, त्यो लगानीकर्ताले हेरेरै आएको हो । तीन वर्ष भित्रै उत्पादन थालेर आत्मनिर्भर बनौं भन्ने कोशिसमा हामी छौ ।

तपाईहरुको चिनियाँसँगको साझेदारी पहिलो होइन । होङ्सीभन्दा अघि जियोनीसँग समेत कारोबार गरिरहनुभएको छ । चिनियाँहरु नेपालमा लगानी गर्न कति संवेदनशील छन् ?
लगानीको दुईवटा पक्ष हुन्छन् । सरकारको टेन्डर नीतिमा कम मूल्यमा राम्रो गुणस्तर हुनुपर्ने प्रावधान छ । यो इच्छाशक्ति सरकारको छैन र निजी क्षेत्रको मात्रै छ । टेन्डर हाल्ने बेलामा एउटा मूल्यमा हाल्ने र पछि समस्या हुने गर्छ ।
मेलम्चीमा किन समस्या भएको हो ? सरकारको सार्वजनिक खरीद ऐन सम्वन्धी नीतिमा गुणस्तरको विषय आउँदैन । यही ऐनको कारण विकासमा वाधा पुगिरहेको छ । यही नीतिका कारण अहिले जति पनि परियोजनाहरु छन् त्यो समस्यामा परिरहेका छन् । खरीद ऐनमा जुनबेलासम्म गुणस्तरको प्रावधान राखिँदैन र जुनबेलासम्म राम्रो कम्पनीको नाम आउँदैन, समस्या भइरहन्छ । कम्पनीको अनुभवलाई ऐनमा नराख्दासम्म समस्या समाधान हुँदैन । न्यूनतम खरीद मूल्यभन्दा कममा दिन वाध्य नहुने प्रावधान राखिनुपर्छ । जियोनी र अरु चिनियाँ लगानीकर्तासँग हाम्रो नजिकको सम्वन्ध छ ।

नेपालमा लगानीको बातावरण छैन भनिरहेका छन् । तर तपाईहरु यति ठूलो लगानी गर्न खोज्दै हुनुहुन्छ ?
वातावरण छ, वातावरण त ठीक हुन्छ । संविधान त बनिहाल्छ । संविधान नआउँदा काम त रोकिएको छैन । संविधानले कुनै लगानीकर्तालाई लगानी नर्गनुहोस् पनि भनेको छैन । संविधान भनेको राजनीतिक इच्छाशक्ति हो । संविधान नआउँदा विकासलाई कहीं पनि रोकेको छैन । आज नेपालको कुनै पनि पार्टीले  विकास गर्दिन त भनेको छैन ।
केही दिन अघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट भएको थियो । विकासको सबैभन्दा ठूलो झन्डा उहाँकै पार्टीले बोकेको हो । बाबुरामजीले दिल्लीबाट काठमाडौं आउँदा ४८ घन्टा लाग्यो भन्नुभयो । त्यसैले हाम्रो पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ त्यो भनेको सबैभन्दा पहिला विमानस्थल बन्नुपर्छ । कुनै पनि राजनीतिक दलले विकासको कार्यक्रमलाई कतै पनि समस्या पारेका छैनन् ।
माओवादी द्वन्द्वमा समेत कुनै पनि पर्यटकलाई समस्या परेन । आज वाहिरबाट आउने लगानीमा कुनै समस्या पारेको छैन । यो हेर्दा वातावरण ठीक छ । राजनीतिक जोखिमको  कुरा आउँछ तर यो जोखिम विश्वमा कहाँ छैन, दुनियाँमा जोखिम कहाँ छैन ? जुन मुलुकमा जोखिम छैन, त्यहाँ ग्रोथ रेट माइनस छ । युरोपमा समस्या छैन तर त्यहाँको ग्रोथ रेट माइनस छ । ग्रोथ जहाँ हुन्छ लगानी त्यहीं हुन्छ ।

त्यसो भए नेपालमा लगानी जोखिममा छ भन्ने कुरा गलत हो ?
मेरो शिवम् सिमेन्टकै उदाहरण दिन्छु । सबैभन्दा खराब समयमा उद्योग सुरु गर्दा टर्च लिएर माओवादी साथीहरुले रोक्थे । उनीहरुसँग समन्वय गरेर हामीले सही समयमा उत्पादन थाल्यौ । खराब समयमा सुरु गरेर राम्रो समय आयो भने प्रतिफल पाइन्छ ।  जहाँ जोखिम छैन त्यहाँ प्रतिफल पनि छैन । जोखिम त लिनैपर्छ ।  

चिनियाँहरुसँग अरु परियोजनामा समेत संयुक्त लगानीलाई अगाडी बढाउँदै हुनुहुन्छ ?
अहिले हामीले जलविद्युत सुरु गरिसकेका छौ । तीन वर्षमा वलेफीबाट विद्युत उत्पादन समेत सुरु हुन्छ । यो आयोजनाको हिसाबले ३६ मेगावाटको सानो आयोजना हो । चिनियाँहरुसँग स–सानो लगानी ल्याएर काम छैन । आँखा छल्नका लागि ल्यायो भने पनि स्थानीय लगानीलाई विगार्ने मात्रै काम हुन्छ । हामीले नसक्ने आयोजनामा चिनियाँ लगानी ल्याउनुपर्छ ।
प्रविधिसँग लगानी आयो भने मुलुकले समेत फाइदा पाउँछ । हामीले पाँच सय मेगावाटको जलविद्युत आयोजनामा लगानी ल्याउन सकियो भने फाइदा हुन्छ तर स–सानो लगानीले नेपाली बजारनै विगार्छ । हाम्रो वित्तीय क्षमता, सीप, जनशक्ति नपुग्ने क्षेत्रमा लगानी ल्याउनुपर्छ । पूर्वाधारमा लगानी ल्यायो भने यही होङ्सी भन्ने कम्पनी ल्याउन सकिन्छ । यो कम्पनीले पूर्वाधार लगायतका धेरै परियोजनामा हात हालेको छ ।


सन् १९८०मा लक्की ग्रुप स्थापना गर्नुभयो । सुरुमा आयात व्यापार हुँदै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभयो । अहिले यतिधेरै व्यवसाय विस्तार गर्नुभएको छ । यो कसरी सम्भव भयो ?
जब मैले व्यापार सुरु गरें, त्यसबेला यहाँ आयात व्यापारको वोलवाला थियो । नेपालमा आयात गर्ने र अन्यत्र सामान जाने प्रवृति थियो । यो सरकारकै नीतिका कारण भएको हो र त्यसलाई अनुशरण गरेर व्यापार भएको हो । आयातले मुलुकलाई आत्मनिर्भर बनाउन सक्दैन ।
आज यहाँ जति पनि उद्योग आएका छन् सबै व्यापारबाटै आएका हुन् । कुनै पनि उद्योगीको नाम लिनुहोस् उनीहरु व्यापारबाटै आएका हुन् । हामीले पनि यही प्रक्रियालाई आत्मसात गरेका हौ । सन् १९९० मा नेपाल–भारत वाणिज्य सन्धी भयो जसले वातावरण बनायो । यही सन्धीका कारण नेपाली वस्तुले भन्साररहित भारत जाने सुविधा पायो । हामीले त्यही बेला तामाको तार बनाउने युनिट लगायौ र सबैभन्दा बढी तामाको तार निकासी गर्ने उद्योगी समेत बन्यौ ।
हामीले एक वर्षमा २५ सय टन तामाको तार निकासी गर्याैं । घिउमा पनि भन्साररहित सुविधा भयो । हामीले बनस्पती घिउ उद्योग स्थापना गर्यौ । नेपाल–भारतको व्यापार सन्धी आर्थिक उदारीकरणको एउटा पाटो थियो, जसले बाध्य भएर हामी उद्योगमा जानुपर्ने अवस्था आयो । व्यापारको भबिष्यमा सिमितता हुन्छ । व्यापार गरेको ५० वर्ष भन्दा बढी भइसकेको छ ।

व्यापारबाट उद्योग र अहिले यो गु्रपले धेरै व्यवसायमा हात हालेको छ । यो व्यवसाय विस्तारमा उर्जा कसरी आउँछ ?
लक्की ग्रुप मेरो एक्लो होइन । यसमा सतीस मोर लगायतका चार वटा पारिवारिक समूह छ । व्यवसाय विस्तारमा दोस्रो पुस्ता पनि आएका छन् । दोस्रो पुस्ता आएपछि उनीहरु टेलिकम विजनेशमा लाग्यो ।  धेरै क्षेत्रमा केन्द्रित हुनुको पछाडी दोस्रो पुस्ताले विशेषज्ञता समेत ल्याए । उनीहरुको विशेषज्ञता तलैबाट सुरु भयो । हामीले उनीहरुलाई  केही ज्ञान दियौ तर उनीहरु आफैले वित्तीय स्रोत जुटाए ।
उनीहरु विभिन्न क्षेत्रको ज्ञान लिएर आएको कारणले हाम्रो व्यवसायमा विविधिकरण भयो । हाम्रो जुन एउटा परिपक्व समूह थियो, त्यो औद्योगिक र व्यापारमा थियो । तर उनीहरु सेवा क्षेत्रमा बढी केन्द्रीत भए र विजनेश विस्तार भएको हो ।

नेपालमा एउटा भनाई के छ भने साझेदार व्यवसाय फाप्दैन । तर यो समूह चारवटा पारिवारिक घराना मिलेर पनि सफल बनिरहेको छ ।  साझेदार विजनेशको उदाहरण नै बन्न सफल हुनुभएको छ ?
अब यसमा शिवम् होल्डिङको कुरा गर्नुभयो भने छ वटा समूह छन् । हाम्रो सिमितता छ । मसँग मात्रै करोडौ रुपैयाँ खर्च गर्ने ल्याकत छैन । मेरो क्षमता पकेटको जति मात्रै हो । मैले लिने जोखिम भनेको त्यति मात्रै हो । कि मैले मेरो क्षमताले भ्याएको व्यवसाय गनुपर्र्यो कि म ग्लोबल जानको लागि धेरैको साथ लिनुपर्‍यो ।
‘डु लोकल्ली र थिंक ग्लोबल्ली’ भनेपछि साथ लिएरै हिड्नुपर्छ । साथ लिनको लागि मनमिल्ने लिनुपर्यो ।
विगत ३० वर्षदेखि मसँगै रहनुभएका व्यक्तिसँग भबिष्यको व्यापारमा किन नजाने ? आज हेर्नुहोस्, देशहरु मिलिरहेका छन् । आज पूरै युरोप एक भइसकेको छ । आज कम्पनीहरु मर्जर गरिरहेका छन् । किन गरिरहेको छ ? आज आफूले नभ्याएर चिनियाँसँग मिलिसकेका छौ । यसमा आफ्नो ग्रुप चलाउन सजिलो कुरा हो । हाम्रो क्षमता भएको भए चिनियाँसँग किन जानुपर्दथ्यो ? एउटा उद्योग ल्याउन छ वटा समूह मिल्नुपर्यो, त्यसमा पचास वटा परिवार होला ? हामीले यो सोचेनौ मेरो हिस्सेदारी कति आउँछ, हामीले मुलुकको लागि सोच्यौ । एउटा ठूलो लगानी र आयोजना ल्याउ त्यसले देशलाई टेवा पुगोस् ।

इलोक्ट्रोनिक्स विजनेशमा राम्रोसँग लाग्नुभएको छ । त्यसमा पनि कलर्सलाई होम ब्रान्ड समेत बनाइरहनु भएको छ । इलोक्ट्रोनिक्समा होम ब्रान्ड बनाउनु  कति कठिन काम हो ?
यो कठिन काम हो । ब्रान्ड स्थापना एक दुई वर्षमा हुँदैन । यसलाई जेनेरेशन चाहिन्छ । तर कहिलेकाँही के हुन्छ भने अहिलेको जेनेरेशनमा आएको कुनै चिज पहिले आएको हो । आज हाम्रो बनस्पती घिउ छ, त्यसमा हाम्रो २५ वर्षको मेहनत छ । मोबाइल आएको चार वर्ष अघि हो । पाँच वर्ष अघिको अध्ययन गर्यौ भने त्यो बेलामा नोकिया र सामसङ लगायतका ब्रान्ड थिए । कतिपय कम्पनी त बन्द भइसके ।
हाम्रो दोस्रो पुस्ताले टेलिकम अध्ययन गरेर आएको हो । उनीहरुले मेहनत गरे, जोखिम पनि लिए । जोखिम लिएकोले अघि बढ्यो र ब्रान्ड समेत स्थापित भयो । योसँगै अरु ब्रान्डलाई समेत अघि बढाए । पहिले स्पाइस लिएर हिडेका थिए, अहिले जियोनी लिएर हिंडेका छन् । यी कम्पनीहरुको प्रविधि समेत आइरहेका छन् । यसको समेत सहयोग छ ।

इलोक्ट्रोनिक्स विशेष गरेर मोवाइलमा माथिल्लो ब्रान्डमा सामसङ र आइफोन छ, मध्यममा भारतीय र चिनियाँ छन् । यो बीचमा बसेर प्रतिस्पर्धा गर्न कतिको गाह्रो छ ?
मोबाइल व्यापार धेरै प्रतिस्पर्धात्मक छ । महिनामै पाँच/सात वटा मोडल बजारमा परिवर्तन भइरहेको हुन्छ । मेरो छोरो तीन महिना पछिको ब्रान्ड बजारमा ल्याउन अध्ययनमा जुटिरहेको छ । अध्ययन र विकासमा उसले ध्यान केन्द्रीत गरिरहेको छ । यो धेरै नै कठीन र चुनौतीपूर्ण छ । अहिले यसको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय ब्रान्डसँग छ ।
यो एकदमै ट्रिकी बिजनेश हो । मोबाइलमा मुनाफा अत्यन्तै न्यून छ । यसको विज्ञापनको खर्च धेरै बढी छ । एउटा भोलुममा पुगेपछि मात्रै नाफा हुन्छ, होइन भने दिगो रहन गाह्रो हुन्छ । सुरुको केही वर्ष नाफा कमाउन सकिएन, नोक्सान पनि भयो । तर केही विज्ञता हासिल भयो । अहिले टीमवर्क समेत राम्रो भयो । ब्रान्ड चल्यो अरु धेरै त्यसमा ल्याउन सकिन्छ । जस्तो डाबर ब्रान्ड स्थापित भयो उसले अरु धेरै उत्पादन गर्छ । सिगरेट कम्पनीले कपडादेखि होटलसम्म चलाइरहेको छ । ब्रान्ड स्थापित भयो भने अरु विजनेश चलाउन सकिन्छ ।

कलर्स ब्रान्डको मोबाइल भारतीय बजारमा बिक्रीको सम्भावना रहँदैन ?
त्यो सम्भावना छैन । भारतमा मोबाइल उद्योग स्थापना भइरहेका छन् । भारतबाट बनेर नेपाल आउन अब धेरै लाग्दैन । ‘मेक इन इन्डिया’ पोलिसी आएपछि उद्योगहरु स्थापना भइरहेका छन् । चीनमा अहिले धेरै कुरा महँगो भइसकेको छ । चीनका ठूला उद्योगहरु सबै भारतमा आइरहेका छन् । तर अहिले यहाँबाट भारतमा निकासीको सम्भावना छैन र भबिष्यमा पनि छैन । यो शुन्य भन्सारको सामान हो । प्रविधिको कुरा हो । देशमै दिगो हुन सकियो भने ठूलो कुरा हो ।


तपाईहरुले संयुक्त लगानी समेत ल्याउनुभएको छ । तपाईहरु विश्वबजारमा समेत लगानी गर्न तयार छौ भनिरहनुभएको छ । यो समूहले विदेशमा लगानी गर्ने योजना बनाइरहेको छ ?
दुर्भायबश हाम्रो आउने नीति छ, जाने नीति छैन । नेपाल उद्योग परिसंघमार्फत सरकारलाई विदेशमा लगानी खुला हुनुपर्छ समेत भनेका थियौ । अहिले विदेशमा लगानी भइरहेको छ । धेरै व्यक्तिले विदेशमा लगानी गरेका छन् । सरकारले अहिलेसम्म पनि औपचारिक बाटो खुल्ला गरेको छैन । आज म भन्छु यसलाई औपचारिक बाटो खुल्ला गरिदिनुपर्छ ।
चीनको विकासमा विदेशमा बसेको चिनियाँको महत्वपूर्ण भूमिका छ । नेपालमा गैरआवासीय नेपालीको सबैभन्दा ठूलो हात हुनसक्छ । अहिले ६० लाख नेपाली विदेशमा छन् उनीहरुले खाता विदेशमा खोलेका छन् । नेपाली दाजुभाइले उताबाट र यताबाट पैसा पठाउने काम गरिरहेका छन् । विदेशमा खाता खोल्न प्रतिवन्ध गरेको र पत्रिकामा आइरहेका कुरा सबै वाहियात कुरा हो । हाम्रो छोराछोरी बाहिर पढ्न गएका छन् भने खाता खोल्दैनन् ? उनीहरु वाहिर पढेर कमाएका छन् । उनीहरु यहाँको ठूलो मान्छे बनेका छन् । विदेशमा पढ्दै काम गरेकाले देशमा ठूलो लगानी ल्याइरहेका छन् । यो नराम्रो नीति हो, सरकारले सच्याउनुपर्छ । देश विकासको लागि विदेशमा बसेका गैरआवासीय नेपालीले जति लगानी गर्न सक्छ विदेशमा खाता खोल्न नपाउने नीति हुने हो भने त्यो आउन सक्दैन ।
अहिले शेराटन होटल, अस्पतालमा जुन लगानी आइरहेको छ त्यो सबै नेपालीको हो । वाहिर कमाएको पैसा यहाँ आएको हो । हामीले यसलाई औपचारिक बाटोबाट ल्याउनेतर्फ जानुपर्छ । आज संचारमाध्यममा यो पैसा बाहिर गयो भन्दा पनि वाहिरको पैसालाई लगानीमा कसरी ल्याउने भन्नेतर्फ लाग्नुपर्छ । जुन दिन सरकारले नीतिमार्फत लगानी खुला गर्छ त्यसपछि हामी वाहिर लगानी गर्न तयार छौ ।

तपाईहरु वित्तीय क्षेत्रमा समेत हुनुहुन्छ । बीमामा नेपाल लाइफ इन्स्योरेन्स यति धेरै बजारमा आक्रामक रुपमा देखिन्छ । यतिधेरै आक्रमक बजार रणनीति आवश्यक छ ?
अहिलेसम्म सातदेखि आठ प्रतिशत मात्रै जीवन बीमाले ओगटेको छ । जापानमा ९९ दशमलब ९ प्रतिशत, भारतमा पनि धेरै छ, दक्षिण पूर्वी एसियामा अझ धेरै छ भने युरोपमा सय प्रतिशत भन्दा बढी छ । स्वास्थ्य बीमा नगरे विदेशमा काम गर्न पाइदैन । यहाँ केही भयो भने जोखिम वहन गर्ने केही छैन । हामी किन एग्रेसिभ छौ भने जीवन बीमामा धेरै सम्भावना छ । नेपालमा ९३ प्रतिशत मान्छेको बीमा हुन बाँकी छ । मसँग क्षमता छ भने किन एग्रसिभ नहुने ?
अहिले नेपाल लाइफलाई हेरेर अरु कम्पनी एग्रेसिभ भइरहेका छन् । हामीले बीमा क्षेत्रमा उदाहरणीय बनिसकेका छौं । पाँच वर्ष अघि बीमालाई मान्छेले बुझेका थिएनन् । इन्स्योरेन्समा लगानी गरियो भने केही पैसा कमाइदैन भन्ने विश्वास थियो । दश वर्षमा कुनै पनि लगानीकर्ताले एक पैसा पनि पाएनौं । दश वर्षपछि हामीले बाटो देखाइदियौं र उदाहरण बन्यौं । अहिले धेरैलाई एउटा इन्स्योरेन्स गरौं भन्ने भावना जागृत भएको छ ।
नेपाल लाइफको ग्रोग न्यूनतम पनि वार्षिक ८० देखि एक सय प्रतिशतको छ । यो वर्ष पनि एक सय प्रतिशत ग्रोथ हुन्छ । हाम्रो प्रतिस्पर्धा कुनै पनि कम्पनीसँग छैन । हाम्रो बजार पनि भर्जिन छ । ७५ वटै जिल्लामा हाम्रो कार्यालय भइसकेको छ । हामी जहाँ गएपनि इन्स्योरेन्स गर्न सक्छौ । हामीसँग कुनै कम्पनीको प्रतिस्पर्धा हुनै सक्दैन र हामीले कसैलाई गिराएर जाने कोशिस गरेका पनि छैनौ । हाम्रो बोनस दर पनि सबैभन्दा बढी छ । अरु कुनै कम्पनीलाई होच्याएको होइन । चार वर्षपछि अरु कम्पनी पनि यही स्तरमा आइहाल्छन् । हामी अगाडि जान योभन्दा पनि एग्रेसिभ हुन्छौ ।

जुन एग्रेसिभनेस इन्स्योरेन्समा छ त्यो अन्य वित्तीय संस्थामा भने छैन ?
यसमा दुईवटा कुरा हुन्छ । कुनै पनि संस्थाको लिड रोलमा हुनुहुन्छ कि छैन भन्ने मुख्य कुरा हुन्छ । इन्स्योरेन्समा हामी लिड रोलमा छौ । हामी सेयरधनी मात्रै हौ । मागेको बेला हामीले सुझाव दिने हो । महालक्ष्मी फाइनान्सलाई बैंकमा मर्ज गर्न सुझाव दिएका थियौ र अरु प्रवद्र्धकले प्रयास गर्नुभएको छ कि छैन थाहा भएन । हामीले भिजन दिएका हौं । उनीहरुले एक दुईवर्षपछि सोचेर गर्लान् । अब सानो कम्पनीको भबिष्य छैन ग्लोबल्ली सोच्नुपर्छ ।

हामीले हेर्दा तपाईहरु उत्पादनमूलक, सेवा, जलविद्युत लगायतका क्षेत्रमा हुनुहुन्छ । तर कृषि व्यवसायमा छिर्ने कुनै योजना छैन ?
हाम्रो तल्लोतहसम्म पुग्ने तोरी सोयाविन लगायत उत्पादन गर्ने इच्छा छ । ‘कर्पोरेट फार्मिङ’मा जाने इच्छा छ तर हाम्रो लेभल सानो छ ।  हाम्रो नीति पनि सहज छैन । हाम्रो युवा जनशक्ति विदेशिएका छन् । अहिले गाउँमा बुढापाका मात्रै छन् । आफ्नो खेत छोडेर विदेश गइरहेका छन् । जबसम्म श्रममा प्रतिस्पर्धी हुनसक्दैन हामी कृषि क्षेत्रमा जान सक्दैनौं । कृषिका लागि जनशक्ति चाहियो । नारायणहिटी संग्रालय अगाडी विदेश जानेको सधै लाइन देखिन्छ । यो जिल्ला जिल्लामा छ । विहानै चार बजे लाइन बस्यो, पासपोर्ट बनायो, अनि विदेश गयो । व्यवसायिक कृषि खेतीमा जान हामी तयार छौं तर उपयुक्त समय पर्खिएर बसेका छौ ।

घरजग्गा कारोबारमा संलग्न हुनुहुन्छ । द रियाल्र्टस भन्ने कम्पनी स्थापना गरेर कारोबारमा आउन खोज्नुभयो । हाउजिङमा पनि जाने सोचमा हुनुहुन्छ ?
अहिलेसम्म पनि घरजग्गामा पारदर्शीता छैन । यहाँ अहिले पनि दलाल यस्तो छ, दलाली गर्छ, जग्गा बेच्छ तर पारदर्शीता छैन । हामीले यो व्यवसायलाई पारदर्शी गर्न खोजेका हौं । घरजग्गा कारोबार वास्तविक मूल्यमा कसैले गर्न चाहेन । घरजग्गा बिक्री गर्ने र किन्नेले पनि वास्तविक मूल्य बताउनै चाहेनन् । विदेशमा घरजग्गा कारोबारमा निश्चित मापदण्ड बनेको हुन्छ र रजिस्टर्ड कम्पनीमार्फत कारोबार गर्नुपर्ने हुन्छ । तर हाम्रो मुलुकमा यस्तो संयन्त्रको विकास भएको छैन । सरकारले नीतिगत व्यवस्था नगर्दा हामी अगाडी बढ्न सकेनौं । अहिले पनि हामीले आफ्नो खल्तीबाट पैसा हालेर कम्पनी चलाइरहेका छौं । नीति नआएसम्म हामी हाउजिङमा जाने सोच पनि छैन ।