तामाकोशीले पहिलो आर्थिक वर्षदेखि लाभांस दिन्छ, आयोजना प्रमुख श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ फागुन २४ गते ००:०० | Mar 8, 2015
तामाकोशीले पहिलो आर्थिक वर्षदेखि लाभांस दिन्छ, आयोजना प्रमुख श्रेष्ठको अन्तर्वार्ता


तामाकोशी आएपछि प्राधिकरणका लागि अर्को एउटा चुनौति पनि छ । ड्राइमा नपुग्ने मात्रै होइन, वर्षायाममा धेरै हुने पनि हुन्छ । हामीले विद्युत निर्यात गर्ने दिन आउँछ । यदि निर्यात गर्न सकेन भने प्राधिकरणको वित्तीय अवस्था नराम्रो पनि हुनसक्छ

यस्तै उत्साह भइरह्यो भने निश्चय पनि हामी योभन्दा ठुलो आयोजना बनाउन सक्छौं । जुन उत्साह अहिले माथिल्लो तामाकोशीमा देखिएको छ, यसको प्रमुख कारण लागत हो । न्यून लागतमा निर्माण भइरहेको यो आयोजना एकदम आकर्षक छ । यसको अतिरिक्त निर्माणको चरणमा पनि लागत नबढ्ने धेरै लक्षण देखिएको छ, त्यो पनि अर्काे कारण हो

जलविद्युतमा पनि चिलिमे हाइड्रोपावरबाट आम मानिसहरुले सकारात्मक सन्देश पाएका छन् । त्यसको सन्देशबाट लगानीकर्ता हाइड्रोमा लगानी गर्न तयार भएको देखिन्छ । अहिले तपाईले रीडी, सानिमा र बरुणको साधारण सेयर निष्काशनमा देख्न सक्नुहुन्छ, आम लगानीकर्ताहरु धेरै सकारात्मक छन् । सुरुको प्रतिफल नराम्रो नै भने पनि हाइड्रोमा निश्चित समयपछि प्रतिफल पाइहालिन्छ । त्यसपछि पानीवाट पैसा निस्कने हो


स्वदेशी पुँजीमा बनिरहेको माथिल्लो तामाकोशी मुलुकलाई लोडसेडिङ मुक्त गराउने आयोजनाका हो । यो आयोजनाका लागि लगानीको समस्या देखिएन, जनशक्तिको समस्या देखिएन र स्थानीय तहबाट पनि निर्माणका क्रममा सहयोग पुग्यो । हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्दा लक्ष भन्दा धेरै बढी समय नलाग्ने पक्का भएको छ । बिजमाण्डू सम्पादक सरोज काफ्ले र सविन मिश्रले आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई सोधे, सानातिना आयोजनामा पनि ठूलो समस्या देखिइरहँदा के कारण यति ठूलो आयोजना सजिलै निर्माण भइरहेको छ ?

Tata
GBIME
NLIC

राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनामात्रै यस्तो आयोजना हो जुन सहज रुपमा अघि बढेको छ । स्थलगत रुपमा हेर्दा पनि उत्साहजनक रुपमा काम भइरहेको देखिन्छ । जुन बेला यो आयोजनाको निर्माण सुरु भयो, त्यसबेला यस्ता ठूला आयोजना सजिलोसँग आयोजना बन्छन भन्न सकिदैन थियो । यो आयोजना बनाउँदा केही पनि समस्या नआएकै हुन् ?
शरुमा यस आयोजनालाई विदेशी लगानीबाट कार्यान्वयन गर्ने तर्फ धेरै दवाव आएको थियो, अन्ततः त्यसलाई चिरेर चार सय ५६ मेगावाटको तामाकोशी स्वदेशी लगानीमै बन्नुपर्छ भन्ने निर्णय भयो । यो निर्णय नै तामाकोशी आयोजनाका लागि सबैभन्दा पहिलो ब्रेक थ्रु थियो । त्यही अनुसार जसरी स्वदेशी स्रोतहरु जुट्दै गयो, यसरी स्रोत जुट्नु पनि काम अगाडि बढ्नुको एउटा कारण थियो । यस प्रकारको बृहत आयोजनामा सानो तिनो समस्या आउनु स्वभाविकै छ । मुख्यतया आयोजनाको काममा सुरुदेखि नै सबै पक्षहरुवाट सहयोगको वावजुद आयोजना अगाडि बढिरहेको छ ।

हामीले धेरै आयोजनामा स्थानीय बासिन्दाले सहयोग नगरेको पनि देखेका छौं। माथिल्लो तामाकोशीमा प्रसारण लाइनको सामान्य समस्या बाहेक अरु त देखिएन ?
माथिल्लो तामाकोशीको काम यसरी राम्रोसँग अगाडि बढ्नुको पछाडि जलविद्युतमा स्थानीय बासिन्दालाई पनि आयोजनाको स्वामित्व (सेयर) दिने कुराले पनि सहयोग गरेको छ । विकास निर्माणमा स्थानीय बासिन्दालाई सहभागी गराउने हो भने राम्रोसँग काम हुन्छ भन्ने एउटा प्रयोग पनि भएको छ । स्थानीय बासिन्दाले स्वामित्व ग्रहण गर्दा आयोजना सहज रुपमा अघि बढ्न सक्छन् ।

स्थानीय बासिन्दालाई सेयर दिने मोडालिटीमा केही आयोजना बनेका छन्, स्थानीय वासिन्दालाई सेयर दिने भन्दा भन्दै पनि आयोजनाहरुमा समस्या देखियो । तर यो आयोजनामा स्थानीय बासिन्दाबाट अवरोध भएकै कारण काम रोकिएन ?
स्थानीय बासिन्दालाई सेयर दिने मोडालिटी यसै आयोजनावाट सुरुवाट भएको हो । यस आयोजनामा स्थानीय बासिन्दाको हामीले धेरै नै सहयोग पाएका छौं ।

माथिल्लो तामाकोशी बनाउन जसरी स्रोत जुटेको छ, सेयर पाउने आकांक्षा धेरैमा छ । यस आधारमा हेर्दा स्वदेशी लगानीमा तामाकोशी भन्दा पनि ठुलो आयोजना बनाउन सक्ने संभावना तपाईंहरुले देख्नु भएको छ ?
यस्तै उत्साह भइरह्यो भने निश्चय पनि हामी यो भन्दा ठुलो आयोजना बनाउन सक्छौं । जुन उत्साह अहिले माथिल्लो तामाकोशीमा देखिएको छ, यसको प्रमुख कारण लागत नै हो जस्तो मलाई लाग्छ । न्यून लागतमा निर्माण भइरहेको यो आयोजना एकदम आकर्षक छट । यसको अतिरिक्त निर्माणको चरणमा पनि लागत नबढ्ने धेरै लक्षणहरु देखिएको छ, त्यो पनि अर्काे कारण हो । अरु आयोजनाहरुमा जस्तो भौगर्विक कारणले लागत बढ्ने जुन संभावना देखिन्छ, त्यो संभावना यसमा अत्यन्तै न्यून देखिएको छ ।

तपाईंले सस्तो लागतमा प्रतिफल धेरै पाइन्छ भन्ने कारणले नै आकर्षण बढ्यो भन्न खोज्नु भएको ?
त्यो पनि एउटा कारण त हो नि । किनभने माथिल्लो तामाकोशी जत्तिको आकर्षक प्रोजेक्ट अर्को नभएकै कारणले पनि यस्तो भएको हो ।

अहिले बजारमा यो भन्दा महँगोमा बनेका जलविद्युत आयोजनाका प्राथमिक सेयरमा पनि लगानीकर्ताको आकर्षण देखियो । जलस्रोतमा गरेको लगानी खेर जाँदैन भनेर नै लगानी गर्न अग्रसर भएको पनि त हुनसक्छ ?
यो एकदम ठिक हो । तामाकोशी त सबैको आकर्षण नै भयो । यो भन्दा अगाडि साधारण सेयरमा आकर्षण भनेको वित्तीय क्षेत्रमा थियो । अहिले वित्तीय क्षेत्रका सबैजसो कम्पनीले प्राथमिक सेयर जारी गरिसकेको अवस्था छ । अब यहाँको प्राथमिक सेयरको भविष्य भनेको नै जलविद्युतमा जस्तो छ । जलविद्युतमा पनि चिलिमे हाइड्रोपावरबाट आम मानिसहरुले सकारात्मक सन्देश पाएका छन् । त्यसको सन्देशबाट लगानीकर्ताहरु हाइड्रोमा लगानी गर्न तयार भएको देखिन्छ । अहिले तपाईले रीडी, सानिमा र बरुणको साधारण सेयर निष्काशनमा देख्न सक्नुहुन्छ, आम लगानीकर्ताहरु धेरै सकारात्मक छन् ।
सुरुको प्रतिफल नराम्रो नै भनेपनि हाइड्रोमा निश्चित समयपछि प्रतिफल पाइहालिन्छ । निश्चित समयपछि पानीवाट पैसा निस्कने हो । यसरी निश्चित समयपछि लाभांश राम्रो पाइन्छ भन्ने आशाले नै काम गरेको हो जस्तो लाग्छ ।

माथिल्लो तामाकोशी बनाउनु अगाडि नेपाल विद्युत प्राधिकरण आफैले केही आयोजना बनाएको छ भने केही आयोजना कम्पनी बनाएर पनि बनाएको छ । प्राधिकरण आफैले बनाएको केही आयोजना समय र लागतका हिसाबले महँगा भए । लागत र समय धेरै भएका केही आयोजनाहरु अहिले पनि चर्चामा छन् । तर छुट्टै कम्पनी बनाएर गरिएको काम छिटो पनि सकिएको छ र लागत पनि कम देखिन्छ । प्राधिकरणले नै छुट्टै कम्पनी बनाएर काम गर्दा लागत कम देखिने र काम पनि छिटो हुनुको कारण के हो ?
प्राधिकरणको जिम्मेवारी धेरै छ । यसको सामाजिक उत्तरदायित्व ठुलो छ । आयोजना छनौट गर्दा आकर्षक मात्रै छान्ने नभई विभिन्न आधारहरु मिलाएर छान्नुपर्ने हुन्छ । प्राधिकरणले क्षेत्रीय सन्तुलन मिलाउन पनि केही आयोजनाहरु छनौट गर्नुपर्ने हुन्छ । त्यसले गर्दा आयोजनामा त्यस्तो अवस्था देखिएको हो । तर प्राधिकरणकै अगुवाइमा ‘स्पेशल प्रोजेक्ट भेइकल’ कम्पनीहरु जस्तै चिलिमे भयो, अब तामाकोशी हुँदैछ, यसमा राम्रो अध्ययन र आकर्षक आयोजना नभइ त जानै सक्दैन । किनभने यसो नभएको भए लगानी जुट्दै जुट्दैन । अर्काे कुरा स्पेशल प्रोजेक्ट भेइकल को कम्पनीमा अटोनोमी हुने भएकाले कार्यान्वयनमा केही सहजता हुने जस्तो मलाई लाग्छ ।

तपाईंले भन्नुभयो, आयोजना छनौंटका कारण तामाकोशी अगाडि बढेको हो, प्राधिकरणले गर्दा चाँही के समस्या आउँदो रहेछ ?
हुन त म पनि प्राधिकरणबाट नै यस आयोजनामा ‘सेकेन्डेड’ भएर आएको हुँ । मैले प्राधिकरणको बारेमा धेरै बोल्ने मिल्दैन । निर्णय क्षमता नै सबैकुरा हो जस्तो मलाई लाग्छ । छुट्टै कम्पनीहरुमा कम्पनीको हितको पक्षमा आफ्नो हिसाबले निर्णय गर्न ‘अटोनोमी’ छ ।

स्थानीय जनताको प्रत्यक्ष सहभागीता र स्वामित्व हुने आयोजना र प्राधिकरण आफैंले अगाडि बढाएको प्रोजेक्ट सफल बनाउन के के कुराले प्रभाव पार्ने रहेछ ?
तपाईंले तामाकोशी हेर्नुभयो भने त्यसको सेयर संरचनाको पनि कुरा आउँछ । प्राधिकरणले मात्र बनाएको आयोजनामा कुनै सेयर वितरण छैन । यो राज्यको नीतिगत कुरा भयो र यसमा स्थानीय बासिन्दाको अपनत्व नहुने एउटा पाटो पनि भयो ।
अर्को कुरा आयोजना व्यवस्थापनमा अटोनोमीको पनि आवश्यकता पर्छ । प्राधिकरणमा ‘हाइरारकी’ बढी छ । त्यसलाई अलिकती सुधार गर्न सक्ने हो भने राम्रै हुन्छ भन्ने मलाई लाग्छ ।

राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरिएका धेरै आयोजना छन् । तर तामाकोशी राज्यको र जनताको पनि फोकसमा छ । यो आयोजना प्रति आम मानिसको निकै ठूलो चासो देखिएको छ ?
अहिले देसमा लोडसेडिङको अवस्था विकराल छ । मान्छेले आशा लिने ठाउँ कहाँ हो त भने तामाकोशी । यो आयोजना बनिरहेको छ भनेर मानिसहरु आश गरिरहेको छन् । तामाकोशी आयो भने लोडसेडिङ घट्छ भन्ने आशा मानिसहरुमा छ । यसले स्वभाविक रुपमा आयोजनाप्रति सर्वसाधारणको समेत चासो बढायो ।


अहिले तपाईंको टिमले तामाकोशीमा गरेको काम प्रति धेरै नै चर्चा छ । स्वदेशी पुँजी र श्रममा पनि ठूला आयोजना बनाउन सकिन्छ भनेर तामाकोशी चर्चित छ । जनतामा तामाकोशी यति भिजेको छ, अब तामाकोशीले माथिल्लो तामाकोशी सक्दा नसक्दै अर्को आयोजना सुरु गर्ने संभावना छ ?
सबै कम्पनीहरुको आफ्नो कर्पोरेट भिजन छ । हामी ‘वर्क आउट’ त गरिरहेका छौं तर यसलाई तत्कालै सार्वजनिक गर्ने अवस्थामा छैनौं । सार्वजनिक भएको तामाकोशी भिजनमा रोल्वालिंग डाइभर्सन, तामाकोशी भी, तामाकोशी ए आयोजनाहरु छन् । जसमा तामाकोशी भीको विस्तृत अध्ययन प्राधिकरणले नै गरिरहेको छ । यी आयोजनाहरुको भोल्यूम अलि सानो छ । तत्कालको लागि हामी यही आयोजना मात्रैमा धेरै फोकस छौं । हाम्रो अहिलेको चुनौति भनेको नै तामाकोशी आयोजना समयमै सक्ने हो । जब आयोजनाको काम सकिने अबस्थातिर पुग्छौं त्यसपछि संस्थागत कुरा कसरी अगाडि बढाउने भन्नेतर्फ पनि सोचिन्छ ।

प्राधिकरणले सब्सिडरी कम्पनी खोलेर आफैं बोक्सी आफैं झाँक्री भयो भन्ने आरोप लाग्ने गरेको छ, त्यसलाई चिर्न चाहन्छु । म चाँही यो कुरामा सहमत छैन । नेपालको सन्दर्भमा बायर(क्रेता) भनेको प्राधिकरण मात्रै छ । सबै जिम्मा उसैकोमा छ । प्राधिकरण ‘भर्टिकल इन्टिग्रेटेड युटिलिटि’ भए पनि यसले सब्सिडरी कम्पनी खोलेर काम गरिरहेको छ । भोलि प्राधिकरणको पुनर्संरचना हुँदा पनि यसले जेनरेसन कम्पनीको एउटा आधार खडा गर्न सक्छ ।
दोस्रो कुरा जलविद्युतमा लगानी भन्ने कुरामा यति धेरै जोखिम छ कि अरु कसैले पनि धेरै जोखिम मोल्न सक्दैन । तामाकोशी जलविद्युत आयोजना यति धेरै सस्तो हुनुमा यो पनि एउटा कारण हो । यदि आयोजना बनाउने र बायर प्राधिकरण आफै नहुने अवस्था भएको भए यो आयोजना यति सस्तोमा बन्ने थिएन । तसर्थ जलविद्युत विकासको वामे सर्ने बेलामा आफै बोक्सी आफै धामी भएर विकास गर्नुलाई अन्यथा भन्न मिल्दैन ।

तपाईको भनाइले के बुझ्न सकिन्छ भने माथिल्लो तामाकोशी जत्रो क्षमताको अर्को आयोजना निजी क्षेत्रले बनाउने अवस्था छैन ?
माथिल्लो तामाकोशी जस्तो आयोजना प्राधिकरणको संलग्नता बिना बन्ने हो भने लगानी कर्ताको जोखिम न्युनीकरण गर्न र राम्रो नाफाको लागि आयोजनाको लागतमा ‘गोल्ड प्लेटिङ’ हुने संभावना बढि हुन्छ । जसको प्रत्क्षय असर विद्युत खरिद विक्री दरमा हुने गर्दछ । अर्को तर्फ नेपालमा यति ठुलो आयोजनामा स्वदेशी निजी क्षेत्रको लगानीको सम्भावनाहरु कम हुने पनि विगतका अनुभवले स्पष्ट गर्दछ ।
हिउँदको समयमा पनि तामाकोशीलाई केही घण्टा पूर्ण क्षमतामा चलाउनुपर्छ भनेर रोलवालिङ खोलाको पानी ल्याउने तयारी छ, यो काम आयोजनाकै एउटा पक्ष हो । रोलवालिङ मिसाउँदा पनि थोरै समय मात्रै चारसय ५६ मेगावाट आउने हो ।

हामीले लोडसेडिङ अन्त्य हुने भयो भनिरहँदा त्यो त एउटा सिजनमा मात्रै हो ?
त्यसलाई यसरी हेर्नुपर्छ, ऊर्जा क्षेत्रमा एउटा मात्रै आयोजनाले धानेको हुँदैन । यसमा धेरै प्रकारका आयोजनाहरु र ऊर्जाका श्रोतहरु छन् अर्थात पावर सिस्टममा विभिन्न प्रकारको उर्जाको मिश्रण हुन्छ । जसमा अन्तरदेशीय आयातवाट पनि केही पुर्ति गर्नुपर्ने हुन्छ ।  तपाईंहरुले देखिरहनु भएको होला, तामाकोशीकोसँगै क्रसबोर्डर प्रसारण लाइनको पनि काम भइरहेको छ ।
अर्को कुरा तामाकोशी आएपछि प्राधिकरणका लागि अर्को एउटा चुनौति पनि छ । ड्राइमा नपुग्ने मात्रै होइन, वर्षायाममा धेरै हुने पनि हुन्छ । हामीले विद्युत निर्यात गर्ने दिन आउँछ । यदि निर्यात गर्न सकेन भने प्राधिकरणको वित्तीय अवस्था नराम्रो पनि हुनसक्छ । त्यसैले क्रसबोर्डर लाइन बन्ने बित्तिकै लोडसेडिङको समस्या स्वात्तै घट्छ । र तामाकोशी आएपछि यसले अर्को ठुलो आधार बन्छ ।
नदीको बहावका आधारमा बनेका धेरै आयोजनाको उत्पादन क्षमता हिउँदमा धेरै घट्छ । रिजर्भवाएर प्रोजेक्ट नहुँदासम्म यो समस्या रहिरहन्छ । अर्को फेरि वर्षातमा विद्युत धेरै हुन्छ तामाकोशी आएपछि । यस अबस्थामा प्राधिकरणले इनर्जी म्यानेजमेन्ट राम्रोसँग गर्ने हो भने ‘विन विन सिचुएसन’ हुन्छ ।

व्यवस्थापन गर्न नसके त प्राधिकरण समस्यामा पर्ने भयो होइन ?
हो, व्यवस्थापन राम्रोसँग भएन भने प्राधिकरण डुब्न पनि सक्छ । तर आशाको कुरा के छ भने क्रसबोर्डर लाइनको काम पनि सँगै अगाडि बढेको छ । त्यो हुँदा तामाकोशी ढिलाइ हुनुको एउटा फाइदा चाँही बर्षात विद्युत भारतको बजारमा निर्यात गर्न समेत टाइअप क्रसबोर्डर लाइनवाट मद्दत मिल्छ ।

तपाईंहरु तामाकोशीको काम ७२ प्रतिशत सकियो भन्नुहुन्छ, हामीले हेर्दा पनि काम धेरै भइसकेको छ, अब तपाईं आधिकारिक रुपमा भन्दिनुस कि हामी यो मितिमा तामाकोशीको औपचारिक उत्पादन थाल्छौं ?
हामीले २०७३ को साउनदेखि उत्पादन थाल्ने प्रयास अगाडि बढाइरहेका छौं । उत्पादन सुरु गर्न धेरै पक्षको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि हाम्रो ४७ किलोमिटरको प्रसारण लाइन छ । त्यसमा एउटा मात्रै टावर खडा भएन भने पनि हाम्रो लक्ष पुरा हुन सक्दैन । त्यसैले हामी प्रयास गरिरहन्छौं । सबै कुराहरु सहजरुपमा अगाडि बढ्यो भने हामी २०७३ को साउनबाट उत्पादन सुरु गर्छौ । त्यसको ६ महिना भित्र सबै युनिटबाट उत्पादन सुरु हुन्छ ।

तामाकोशी आयोजनाको पहिला अनुमान गरिएको भन्दा लागत बढ्ने भन्ने पनि छ, यो आयोजनामा कुल लागत कति बढ्छ ?
सबैभन्दा प्रमुख कुरा भौगर्विक जोखिम नै हो । भौगर्विक जोखिम आयोजना निर्माणका लागि सबैभन्दा प्रमुख पक्ष पनि हो । अरु त सबै कुरा निश्चित नै हुन्छ । इलेक्ट्रोमेकानिकल कार्यहरु निश्चित नै हुन्छन् । त्यसमा हामीलाई राम्रै भएजस्तो लागिरहेको छ । हामीले लक्ष गरेको बजेट अनुसार नै काम गरिरहेका छौं । यसमा फरेन करेन्सी डिफिसिट छ । हामीले एक्सचेन्ज लस्ट व्यहोर्नुपर्ने देखिन्छ । अमेरिकी डलरको सटही दर ८० रुपैयाँको हिसाबले गर्दा ३५ अर्ब २९ करोड रुपैयाँ आएको हो । अहिले विनिमय दर बढेर एक सय रुपैयाँ पुगेको छ ।
विनिमय दरमा भएको बृद्धिले लागत ४१ अर्ब रुपैयाँसम्म पुग्ने देखिन्छ । हामीले सेयरको आव्हान पत्रमा नै यो प्रोजेक्सन उल्लेख गरेका छौं । भविष्यको कुरा त कसैले भन्न सक्दैन, हाम्रो वशमा पनि छैन । यो कुरा प्रोजेक्ट कष्टका हिसाबमा हेर्ने हो । यो कुरा फाइनल क्यापिटलाइज हुँदा मात्रै थाहा हुन्छ । ब्याज पनि उतारचढाव भइरहेको हुन्छ ।

अहिले सेयरका लागि कर्मचारी र स्थानीय बासिन्दाका लागि मात्रै सेयर आवेदन माग्दा पनि पब्लिकमा नै हलचल छ, जनताले पक्का पनि लाभांस राम्रो पाइन्छ भनेर नै लगानी गर्न चाहेका हुन्छन् । लगानीकर्ताले पाउने लाभांस त पक्का राम्रो होला ?
नेपालको इतिहासमा नै यति ठुलो रकमको सेयर खुलेको यो पहिलो होला । सायद यो कुरा त धितोपत्रको नियम र बिनियमले पनि कल्पना नगरेको हुन सक्छ । आम लगानीकर्ताले जसरी हेरिरहेका छन्, त्यो चाँही सकारात्मक छ । त्यसवाट हामीलाई धेरै हौसला मिलेको छ ।
आउटपुटका हिसाबले हेर्ने हो भने व्यवसायिक उत्पादन सुरु भएपछि हामीले १६ प्रतिशत जति लाभांस दिन सकिन्छ होला पहिलो वर्षमा । एउटा आर्थिक वर्ष पुरा भएपछि न्यूनतम १६ र बढिमा २० रुपैयाँसम्म प्रति सेयरमा लाभांस पाउँछन भन्ने अनुमान छ । सेयरको क्यापिटल गेन बजारले नै तय गर्ने कुरो हो ।

तपाईंको यो अनुमान ऋण नतिर्दासम्मका लागि मात्रै हो ?
हाम्रो पे ब्याक अवधि ५,६ वर्षको भए पनि हामी १० वर्षमा साँवा र ब्याज तिर्छौ । लाभांशको हकमा भन्ने हो भने ब्यापारिक उत्पादन भएको पुर्ण आर्थिक वर्षको वासलात आएपछि नै सोही वर्षदेखि नै बाँड्छौं । सम्भवत आर्थिक वर्ष २०७३÷७४ को वासलातबाट नै सुरु होला, आंसिक रुपमा भए पनि ।

यो आयोजनामा तपाईंको लामो अनुभव छ, आयोजना बन्दा स्थानीय स्तरमा चाँही के परिवर्तन हुँदो रहेछ, तपाईंका आँखाले नै केही देखेको हुनसक्छ ?
आयोजनाले बाटो बनाइदिएको छ । बाटोले आयोजना सकिनु अघि नै स्थानीय स्तरमा राम्रो परिवर्तन ल्याएको छ । सिंगटीलगायतका ठाउँमा पहिले वर्षायाममा गाडी जाँदैनथे, तर अहिले बाह्रै महिना यातायात सहज छ । स्थानीयको रहनसहनमा परिवर्तन देखिन्छ, आय आर्जनका कम भइरहेका छन् । देश विकास कसरी हुने रहेछ भन्ने कुरा यो आयोजनाले देखाइदिएको छ ।