तामझामसहित काठमाडौं ओलिर्यो सगरमाथा, पाइलटले भने,‘इटस् अमेजिङ, आइ नेभर स दिस’

बिजमाण्डू
२०७१ माघ २५ गते ००:०० | Feb 8, 2015
तामझामसहित काठमाडौं  ओलिर्यो सगरमाथा, पाइलटले भने,‘इटस् अमेजिङ, आइ नेभर स दिस’


कञ्चन अधिकारी/बिजमान्डू 

Tata
GBIME
NLIC

काठमाडौं ।  ‘इटस् अमेजिङ, आइ नेभर स दिस ।

जर्मनको ह्याम्बर्गबाट कतारको दोहा हुँदै नेपाल अवतरण गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० का फ्लाइट इन्स्ट्रक्टर म्याथियस नोर्दसिकको अनुभव हो यो।

एयरबसको  ट्रेनिङ एन्ड फ्लाइट अपरेसन सपोर्ट एन्ड सर्भिसबाट फ्लाइट इन्स्ट्रक्टर भएर उनले धेरै देशमा जहाज अवतरण गरे, नेपालको जस्तो माहौल कतै देखेनन् ।

नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीले ल्याएको नयाँ जहाज अवतरण गर्दा गरिएको स्वागत र यहाँ देखिएको खुशी अहिलेसम्म आफूले कहिल्यै कतै नदेखेको प्रतिक्रिया उनले दिए।

उनले मुसुमुसु हाँस्दै भने, ‘सरप्राइज एन्ड सक्ड।’

यो भन्दाअघि पनि नेपाल आइसकेका उनले नेपालीहरुको न्यानो मायाले निकै प्रफुल्लित भएको बताए ।

उनकै नेतृत्वमा नेपालका को-पाइलट श्रवण रिजालसहितले जर्मनको ह्याम्वर्गबाट कतारको दोहा हुँदै एयरबस ३२० लाई काठमाडौं विमानस्थलमा अवतरण गराएका थिए।
 
व्यवसायिक उडान फागुन १३ देखि

९ एनएकेडब्लु – ३२० कल साइन भएको सो जहाजले फागुन १३ (फेब्रुअरी  २५) गते व्यवसायिक उडान गर्ने भएको छ। निगमका महाप्रबन्धक मदन खरेलका अनुसार यो जहाजले काठमाडौं – दिल्ली उडान गर्नेछ।

उडान अनुमतिको सबै प्रक्रिया पूरा गरिसकेको यो जहाजले ‘प्रुभिङ फ्लाइट’ (प्रमाणित उडान) पनि गरिसकेको  छ।  नेपाल  नागरिक उड्डयन प्राधिकरणले दोहा-काठमाडौं फ्लाइटलाई नै प्रुभिङ फ्लाइटको  सर्टिफिकेट दिएको छ ।

आइतबार राति सोल्टी होटलमा आयोजित साइनिङ सेरेमोनीमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले निगमको गिरेको साख विमानले उकास्ने विश्वास व्यक्त गरे। विमानका कारण आर्थिक वृद्धि राम्रो हुने र पर्यटक आगमनमा पनि सुधार आउने जिकिर उनको थियो।

चुनौति धेरै छ

महाप्रबन्धक खरेलले नयाँ जहाजसँगै निगमलाई धेरै चुनौति भएको बताए। ‘अहिले निगमप्रति यात्रुहरुको विश्वास कम भएकोले नयाँ आएको जहाजले यात्रुको विश्वास जित्नेछ भन्ने आशा लिएका छौँ,’ उनले भने, ‘हामी उत्कृष्ट सेवा दिन्छौँ र गुमेको साख फर्काउने छौँ ।‘

खरेलले निगमले ल्याएका जहाजबाट व्यापार सुधार गर्ने बताए। ‘केही महिनापछि हामीले अर्को नयाँ एयरबस पनि ल्याउने छौँ। त्यसपछि हामी नाफामा जाने संस्था बन्नेछौ भन्नेमा ढुक्क छौँ,‘ उनले भने।  
 
२८ वर्षपछि निगमले यो वर्ष आठवटा नयाँ जहाज भित्र्याउने तयारी गरेको छ।  चीनबाट छ वटा र एयरबसबाट दुई वटा विमान ल्याउने तयारी भएको थियो। चीनबाट आउने छ वटा जहाजमा दुईवटा आइसकेको छ भने बाँकी चारवटा ल्याउने कि नल्याउने अन्यौलमा निगम छ। अर्को एयरबस भने आगामी अप्रिलमा आउने छ। 


साढे सात अर्बको जहाज

ह्याम्वर्गमा गत शुक्रबार निगमले अन्तिम रकम भुक्तानी गरेपछि एयरबसले निगमलाई जहाजको स्वामित्व हस्तान्तरण गरेको थियो ।

एउटा जहाजको अङ्कित मूल्य (क्याटलग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर (रु ७ अर्ब २० करोड) रहेको छ। खरेलले भने, ‘हामीले जम्मा ७५ 
मिलियन डलर एयरबसलाई तिरेका छौँ । अर्को एयरबसको रकम पनि पूरै चुक्ता गरेपछि हामी ल्याउँछौँ ।’

निगमले ल्याएको यो जहाज न्यारो बडी हो। न्यारो बडीले सफलता पाउँदै गएपछि वाइड बडी टाढाको कुरा नभएको खरेलले बताए। उनले भने, ‘हामी दुई वर्षसम्म यही न्यारोबडीमार्फत् सेवा दिनेछौँ । त्यसपछि वाइइ बडी ल्याउन पहल सुरु गरिहाल्छौँ।’

निगमले यो जहाजको भन्सार कर चारदेखि पाँच करोडको हाराहारीमा बुझाउने छ। भन्सार नतिरेसम्म निगमले जहाज उडान पाउँदैन।
 

डेकोरेसन राम्रो

निगमले ल्याएको नयाँ जहाजको इन्टेरियर निकै राम्रो र सबै सिटहरु स्तरीय र आरामदायी रहेको दावी प्रवक्ता रामहरि शर्मा गर्छन्। '१८ इञ्च फराकिलो सिट रहेको हुनाले यात्रुलाई कष्ट हुँदैन,' उनले भने। 


इकोनोमिक क्लासमा दायाँ तीन र बायाँ तीनवटा सिट राखिएका छन् भने बिजनेस क्लासमा दुई-दुई वटा। अरु न्यारो बडी जहाजका भन्दा यसका सिटहरु आरामदायी भएको खरेलले बताए।


कूल एक सय ६४  सिट बनाउने भनिए पनि हाल यसमा आठ वटा बिजनेस क्लास र १५० वटा इकोनोमी क्लासका सिट रहेको निगम प्रवक्ता रामहरि शर्माले बताए। 


तामझाम नै बढी

निगमले ल्याएको जहाज हेर्न निगम र क्यानका पदाधिकारी पुगेका थिए। पञ्चकन्याले फूलमालासहित क्याबिन क्रुलाई स्वागत गरेका थिए भने वैदिक विधिबाट खरेलले जहाज पूजा गरेका थिए।


पञ्चेबाजासँगै नरिवल फुटाइएको थियो। सन् २००७ मा बोइङ धेरै नै बिग्रियो भनेर कालो बोका नै बलि चढाएकोमा निगमले चर्को आलोचना खेपेपछि यसपटक भने नरिवल फुटाइएको थियो।

करिब तीन सय हाराहारीमा पुगेका कर्मचारी निगमको ह्याङ्गरमा जहाज पार्किङ गरेर राखेपछि फोटो खिच्नमा नै व्यस्त देखिन्थे।

मोबाइलबाट कोही सेल्फी खिच्दै थिए भने कोही पृष्ठभूमिमा पारेर सामूहिक तस्बिर खिचिरहेका देखिन्थे।

एयरबसको ढोका खोलेर क्रु मेम्बरहरु तल ओलिएपछि जहाजभित्र पस्नको लागि तँछाडमछाड भएको थियो।  

सेक्युरिटी गार्डलाई समेत धकेलेर निगम र क्यानका कर्मचारी जहाज भित्र गएर फोटो खिच्न लालायित देखिएका थिए। पछि महाप्रबन्धक खरेलले सबैलाई तल ओर्लिन कडा निर्देशन दिएपछिमात्रै जहाज खाली भएको थियो।