अर्को वर्ष लगानीकर्तालाई प्रतिफल दिने अवस्थामा हुन्छौं, प्रभु बैंकका सिइओको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ माघ २५ गते ००:०० | Feb 8, 2015
अर्को वर्ष लगानीकर्तालाई प्रतिफल दिने अवस्थामा हुन्छौं,  प्रभु बैंकका सिइओको अन्तर्वार्ता


हामीसँग अझ पनि दुई अर्ब ८५ करोडजति खराव कर्जा छ । यसमा एक अर्बजति उठाउँछौं । बाँकी रहेको अर्को एक अर्ब ८५ करोडजति उठाउन अलिकति गाह्रो हुन्छ । किनभने त्यसको धितो र त्योसँग सम्बन्धित ऋणीहरु कमजोर पृष्ठभूमिको, सम्पर्कमा आउन नखोज्ने र उहाँहरुसँगबाट सजिलै उठाउन सकिने खालका कर्जाहरु छैनन् । अर्को बर्षको असोजसम्ममा अन्य कुनै संस्थासँग मर्जर तथा एक्विजिसन हुन सकेन भने खराव कर्जा पाँच प्रतिशतभन्दा तल ल्याइसकेका हुन्छौं

हामी हकप्रद निष्कासन गर्छौं । बरु थपेर निकाल्छौं । १० प्रतिशत घोषणा गरेका थियौं, त्यो ३२ करोड जतिको हुन्थ्यो । ग्राण्ड बैंकसँग एक्विजिसन भयो भने १० लाई बढाएर २० प्रतिशत हकप्रद जारी गर्छौं । किनभने ग्राण्ड बैंक जोडियो भने १० प्रतिशतमा झरेको खराव कर्जा फेरि १५/१६ प्रतिशत पुग्छ । जुन रुपमा हामीले व्यवसाय बढाउने सोचिरहेका छौं, एक्विजिसनका कारण त्यो बढाउन सकिँदैन, पुँजीको कारणले गर्दा । त्यही भएर १० मा अर्को १० प्रतिशत जोडेर ६४ करोडजतिको हकप्रद सेयर जारी गर्छौं

हामीले जुन खालको समस्याहरुलाई फेस गरेर मर्जरलाई टुङ्ग्याइ सक्दा नसक्दै अर्को एउटा संस्थालाई लिएर आउँदा त्यसबाट केही पाउँछौं भन्ने हाम्रो विश्वास छ । समस्या सानो भए पनि ठूलो भए पनि, एउटाको भए पनि धेरैवटाको भए पनि एउटै खालको हो । ती पहिचान भइसकेका समस्याहरु हुन् । त्यसका लागि गर्नु पर्ने उपचारहरु हामीले थाहा पाइसकेका छौं । त्यसलाई कसरी व्यवस्थापन गर्ने र त्यसबाट कसरी पार पाउने भन्ने हो


गत असारसम्म २४ करोड नोक्सानमा रहेको किस्ट बैंक प्रभु विकास बैंकसँग मर्ज भएको पाँच महिनामा ५४ करोड खुद नाफामा गयो । प्रभु बैंक अर्को आर्थिक वर्षमा लगानीकर्तालाई लाभांस दिने योजनामा छ । यति मात्रै होइन, ग्राण्ड बैंक किन्ने, लघुवित्त र सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना पनि बैंकको छ । प्रभु बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई बिजमाण्डूका सुदर्शन सापकोटाले सोधे सुधार नसकिँदै किन यति धेरै एग्रेसिभ ?

Tata
GBIME
NLIC
अघिल्लो त्रैमाससम्म पनि घाटामा गएको बैंक दोस्रो त्रैमासमा आउँदा आधा अर्बभन्दा बढी नाफामा गयो । तीन महिनामै यत्रो फड्को, चमत्कार भएन ?
भदौ ३० गते मर्जर सकियो । एक महिनाभित्रै पहिलो त्रैमास आयो । त्यो बेला कमिटमेन्ट गरिएका कतिपय ऋणहरु उठेनन् । त्यस पछाडिको त्रैमासमा जुन किसिमले ऋणीहरुलाई प्रस्ताव गर्यौं, त्यसले बजारमा राम्रो सन्देश दियो । उहाँहरुले पनि सकेसम्म हाम्रो बैंकको अवस्थालाई हेरेर र आफ्नो भविष्यलाई पनि हेरेर सहयोग गर्न सकिन्छ कि भनेर सम्पर्कमा आउनु भयो । हामीले पनि उहाँहरुलाई सहयोग गर्दै गयौं । र, यो क्रममा केही जग्गाजमिनहरु बिक्री गर्न सक्यौं । शत् प्रतिशत प्रोभिजनिङ गरिएका ऋण खाताहरुको राइट ब्याक हुँदै गयो । यही कारणले भन्नुपर्छ छोटो अवधिमा अर्थात तीन महिनाको अवधिमा हामीले राम्रो नाफासहित बैंकलाई लिएर आउन सक्यौं ।

सुरुवातमा ऋण उठ्न केही समय लाग्छ कि भन्ने आशंका पनि थियो । तर, ग्राहकहरुले जुन किसिमले हामीलाई सहयोग गरे, जुन किसिमको हाम्रो एप्रोच भयो त्यसले रिजल्ट अलि छिटो आएको हो । एउटा विन्दुमा, एउटा समयमा गएर यो हुनेवाला नै थियो ।

नाफा त राम्रो देखियो, तर खराव कर्जाको अनुपात अझै पनि १०/१२ प्रतिशत माथि नै छ ?
खराव कर्जा १० प्रतिशतमा झरेको  छ । अघिल्लो त्रैमासमा १६ प्रतिशतजति थियो । हामीसँग अझ पनि दुई अर्ब ८५ करोडजति खराव कर्जा छ । यसमा एक अर्बजति उठाउँछौं । बाँकी रहेको अर्को एक अर्ब ८५ करोडजति उठाउन अलिकति गाह्रो हुन्छ । किनभने त्यसको धितो र त्योसँग सम्बन्धित ऋणीहरु कमजोर पृष्ठभूमिको, सम्पर्कमा आउन नखोज्ने र उहाँहरुसँगबाट सजिलै उठाउन सकिने खालका कर्जाहरु छैनन् । त्यसलाई हामीले ऋण असुली न्यायाधिकरणमा मुद्दा हाल्नु पर्ने हुनसक्छ । तर पनि हामी सकारात्मक छौं । रिकभरीका साथसाथै व्यवसायको आकारलाई पनि बढाएका कारण यसपाली राम्रो रिजल्ट आएको हो ।

अर्को बर्षको असोजसम्ममा अन्य कुनै संस्थासँग मर्जर तथा एक्विजिसन हुन सकेन भने खराव कर्जा पाँच प्रतिशतभन्दा तल ल्याइसकेका हुन्छौं ।

विग्रिएका ऋणहरु मर्जरसँग जोडिएर आएका त होलान् ?
मर्जर भएका संस्थाहरुमध्ये पनि किस्टको ऋण धेरै बिग्रिएको हो । अरु संस्थाको विग्रिएको ऋण नगन्य नै छ । ठूलो रकम र व्याकअप कमजोर भनेको किस्टकै कर्जाहरु छन् । जसको सरसर्ती अध्ययन गर्दा ती कर्जा उठाउन केही गाह्रो महशुस भइरहेको छ । सम्पर्क वाहिर छन् धेरै ऋणीहरु । कमजोर स्तरका ऋणीहरु छन्, जसलाई अरुले नै प्रयोग गरेर ऋण लिएको देखिन्छ । कतिपयलाई ऋण लिएको थाहा पनि छैन । उनीहरुको अवस्था हेर्दा कर्जा उठ्ने सम्भावना न्युन देखिन्छ । किस्टलाई छाड्ने हो भने खराव कर्जा अनुपात एक प्रतिशतभन्दा कम हुन्छ ।

विगतमा हकप्रद सेयरको कुरा आएको थियो । अब बैंकले नाफा कमाउन थाल्यो, पुँजी त अब नाफाबाटै बढाउने होला ?
होइन, हामी हकप्रद निष्कासन गर्छौं । बरु थपेर निकाल्छौं । १० प्रतिशत घोषणा गरेका थियौं, त्यो ३२ करोड जतिको हुन्थ्यो । ग्राण्ड बैंकसँग एक्विजिसन भयो भने १० लाई बढाएर २० प्रतिशत हकप्रद जारी गर्छौं । किनभने ग्राण्ड बैंक जोडियो भने १० प्रतिशतमा झरेको खराव कर्जा फेरि १५/१६ प्रतिशत पुग्छ । जुन रुपमा हामीले व्यवसाय बढाउने सोचिरहेका छौं, एक्विजिसनका कारण त्यो बढाउन सकिँदैन, पुँजीको कारणले गर्दा । त्यही भएर १० मा अर्को १० प्रतिशत जोडेर ६४ करोडजतिको हकप्रद सेयर जारी गर्छौं । यसबाट अर्को आर्थिक बर्षमा पनि हामीलाई व्यवसाय विस्तार गर्न गाह्रो हुँदैन ।

हाम्रो खर्चलाई धान्ने, हाम्रो फिगरलाई राम्रो देखाउने भनेको व्यवसाय बढाएर नै हो । विस्तारै विस्तारै रिकभरीबाट आउने आम्दानीको फिगर घट्दै जान्छ । त्यसबेला व्यवसाय बढाउनु पर्ने नै हुन्छ । अहिले ४० अर्बको वासलात पुगेको छ । सबै खर्च धानेर प्रतिफल दिनका लागि हामीले वासलातको आकार ६० अर्ब पुर्याउनु पर्छ । त्यसका लागि पुँजी बढाउनु पर्ने भएको हो ।

अहिले नै राम्रो रिजल्ट आइरहेको छ । अहिलेको अवस्थामा बैंकलाई अझ राम्रो बनाउनु पर्नेमा अर्को समस्यामा रहेको संस्थालाई लिँदै हुनुहुन्छ । अहिले भएकै संस्थालाई राम्रो बनाउनु पर्ने बेला होइन र ? कि मर्जर र एक्विजिसनमा लिडर हुने चाहना हो ?
लिडर हुने चाहना सबैको हुन्छ, आ–आफ्नो फिल्डमा । अर्को कुरा भनेको आफूलाई एउटा विन्दुमा पुर्याउनु पर्ने थियो, त्यहाँ हामी पुगिसकेको अवस्था हो । तर पनि अहिले जुन खालको अवसर आयो, त्यो चुनौती पनि हो । तर हामीले यसलाई अवशरका रुपमा लिएका छौं । हामीले जुन खालको समस्याहरुलाई फेस गरेर मर्जरलाई टुङ्ग्याइ सक्दा नसक्दै अर्को एउटा संस्थालाई लिएर आउँदा त्यसबाट केही पाउँछौं भन्ने हाम्रो विश्वास छ । समस्या सानो भएपनि ठूलो भएपनि, एउटाको भएपनि धेरैवटाको भएपनि एउटै खालको हो । ती पहिचान भइसकेका समस्याहरु हुन् । त्यसका लागि गर्नु पर्ने उपचारहरु हामीले थाहा पाइसकेका छौं । त्यसलाई कसरी व्यवस्थापन गर्ने र त्यसबाट कसरी पार पाउने भन्ने कुराहरु थाहा भइसकेको हो ।

एक्विजिसनको जुन कुराहरु भइरहेको छ, त्यो हाम्रोभन्दा पनि ग्राण्ड बैंकको तर्फबाट आएको कुरा हो । उहाँहरुले विनाकुनै सर्त हामीलाई लिइदिनु पर्यो भन्नुभयोे । दुई बर्ष अगाडि पनि उहाँहरुसँग हाम्रो कुराकानी भएको थियो । त्यो बेलामा अन्य धेरै कुराहरु आएका थिए, यसपाली भने कन्डिसन लेस कुरा आएकाले त्यसलाई स्वीकार गरेका हौं । यो नै अन्त्य हो भन्ने पनि होइन । डिडिए गर्दै जाँदाखेरी वा केही समयपश्चात यो ब्रेक हुन पनि सक्छ । डिडिएले एकदमै नराम्रो फिगर लिएर आयो भने एक्विजिसन ब्रेक हुन सक्छ । यो नै अन्तिम निर्णय होइन । तर हामी विश्वस्त केमा छांै भने, यसलाई पुरा गरेर छाड्छौं । यसले गर्दा सुदृढीकरणमा मात्रै लाग्ने समय केही पर सरेको हो । समग्रमा भन्दा ग्राण्डलाई पनि जोडिसकेपछि जुन किसिमको रिजल्ट आउने छ, त्यो फेरि उदाहरणका रुपमै आउने छ ।

तपाईहरुले ग्राण्ड सस्तोमा भेटेर पनि होला नि । विनाकुनै मेहनेत ग्राण्डले बनाएको सम्पतिलाई प्राप्त गर्न सकिन्छ भनेर पनि एक्विजिसन गर्न लाग्नु भएको होला ?  
एकदमै हो । उहाँहरुको फिगर हेर्दाखेरी के देखिन्छ भने २८ प्रतिशतजति खराव कर्जामा गएको छ । शत् प्रतिशत नोक्सानी व्यवस्था भएका ऋणहरु १२ प्रतिशतजति छन् । १५ अर्ब जतिको ऋणको आकारमा डेढ अर्बजतिको पूर्ण रुपमा नोक्सानी व्यवस्था भएको देखिन्छ । अर्को १० प्रतिशत ऋणको ५० प्रतिशत प्रोभिजनिङ भएको देखिन्छ । बाँकी ऋणको २५ प्रतिशत मात्र नोक्सानी व्यवस्था गरिएको छ । ७२ प्रतिशत त असल कर्जा नै हो ।

हाम्रो तर्फबाट सत् प्रतिशत नोक्सानी व्यवस्थापन गरिएको कर्जालाई यथावत रहन दिएर २५ र ५० प्रतिशतलाई मात्र हामीले उठाउन सक्यौं भने पनि थप नोक्सानी व्यवस्थापनका लागि रकम छुट्याउनु पर्दैन । सत् प्रतिशतमा गएको ऋणहरु जति पनि उठ्छ त्यो हाम्रा लागि नाफा हो । कुनैपनि जोखिम बिनाको नाफा हो । ग्राण्डलाई तिर्ने भनिएको मूल्य पनि रिजनेवल हो । त्यो पैसा रिजर्भमा गएर बस्ने भएकाले संस्था बलियो पनि बनाउँछ । अघि भनिएजस्तै रेडिमेड विजिनेस हामीले पाउँछौं ।

हामीले विग्रिएको संस्था खोज्दै हिँडेको होइन । हामीलाई ग्राण्ड बैंक आइलागेको हो । हामी राम्रो फिगर लिएर हिँड्न थालेका थियौं । तर ग्राण्ड नकिन्दा पनि अब हामीलाई केही फरक पर्दैन । तर सम्बन्ध पनि हो । उहाँहरु र हाम्रो सम्बन्धका कारण हामी अगाडि बढेका हौं । अलिकति चिनेजानेको वा सेफ ह्यान्डमा जिम्मा लगाउन पाइयो भने हाम्रो भविष्य पनि सुरक्षित हुन्छ भन्ने चाहना लगानीकर्ताको हुदो रहेछ । दुबै संस्थाका लगानीकर्ताको सम्बन्धका कारणले यो जोडिन आएको हो । हामी खोज्दै हिडेको होइन ।  

ग्राण्ड बैंकसँग तपाईहरुले पुँजी लिएर आउनु हुन्छ, त्योसँगै दायित्व पनि लिएर आउनु हुन्छ, कर्मचारी भयो, उच्च व्यवस्थापन भयो, गुडविलको कुरा आउँछ । यो सबै एकैचोटी आउँदा भोली समस्या पनि हुनसक्ला ?
त्यो सम्भावना पनि छ । त्यही कारण हामीले राष्ट्र बैंकको फिडब्याक वा उसको रेस्पोन्स कस्तो हुन्छ भनेर हेरिरहेका छौं । यदि दुई संस्थाको फिगरहरु जोडेर हेर्दा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बाहिरजान्छ भने पक्का पनि राष्ट्र बैंकले एक्विजिसनका लागि स्वीकृति दिँदैन । त्यो सम्भावना यथावत छ ।

उहाँहरुले भनेको पनि त्यही छ । राम्रो गर्दै हुनुहुन्छ तर क्राइटएरिया चै मिट गर्नु पर्छ है भन्नु भएको छ । राम्रो बन्ने क्रममा रहेको संस्था ग्राण्डका कारणले फेरि बिग्रिने अवस्थामा नपुगोस भन्ने मनसाय राष्ट्र बैंकको पनि छ, हाम्रो पनि छ र स्टेकहोल्डरको पनि छ । तर पनि ग्राण्डको सबै फिगर र फ्याक्टलाई हेर्दा त्यस्तो अवस्था आउँदैन । त्यहाँ भएका ग्राहक हामीले चिनेका र उनीहरुसँग पैसा उठाउन सक्छौं भन्ने आत्मविश्वास भएकै कारण प्रकृया अगाडि बढेको हो । त्यहाँका चार पाँच जना ग्राहक ट्याव गर्न सके तुरुन्तै अवस्था सुध्रिन सक्ने देखिएको छ । चुनौती, असर नराम्रो पर्न पनि सक्छ । तर यसको मात्रा भन्दा सम्भावनाको मात्रा निकै वढी देखिएको छ । जहाँसम्म हामीलाई लाग्छ नकारात्मक असर पर्दैन ।

ग्राहकको कुरा भयो, वोर्डको कुरा भयो तर त्यो बैंकसँगसँगै त्यहाँबाट दुई अढाई सय कर्मचारी पनि आउँछन् । तिनीहरुको व्यवस्थापन कसरी हुन्छ ? शाखाहरु पनि दोहोरिन्छन्, कसरी मिलाउनु हुन्छ ?
अघिल्लो पटकको मर्जरमा पनि एक जना कर्मचारी ननिकालीकनै व्यवस्थापन गरेका थियौं । जुधेका शाखाहरु पनि रिलोकेट गरेका थियौं । हाम्रो विजिनेस हवहरु घट्दैन वढ्दै जान्छ । त्यही भएर हामीलाई कर्मचारीको आवश्यकता परिहाल्छ । त्यही भएका कर्मचारीहरु अनुभवी हुन्छन्, करियर बनाउनु पर्ने खालका हुन्छन् । कर्मचारीलाई उपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । उपयोग अधिकतम भयो भने त्यसको उत्पादकत्व बढेर जान्छ । हामीले पाएको अनुभव के भने कामको प्रेसर बढाउन सकेको अवस्थामा सबै कर्मचारीहरुले राम्रो रिजल्ट दिन्छन् । जस्तो दोस्रो क्वाटरमा हामीले कर्जा लगानी २३ अर्बबाट २७ अर्ब पुर्यायौं ।

तीन अर्ब ऋण वढ्दा कामको प्रेसर सबै शाखामा बराबर भयो । त्यसले गर्दा सबै व्यस्त भए । व्यस्त हुनु भनेको सबैले काम राम्ररी गर्नु हो । नयाँ सस्था लिएपछि पनि यस्तो वातावरण सिर्जना गर्न सक्छौं । हामीसँग त्यो खालको व्यापारहरु पाइपलाइनमा छन्, हातमा छन् । त्यसमा हामीले उनीहरुलाई प्रयोग गर्ने मात्र हो ।

वोर्ड, नाम, मूल्य केही पनि सर्त छैन । तर कर्मचारी सर्त छ नि ?
कर्मचारीमा पनि ठूलो सर्त छैन । चार वर्ष वा पाँच बर्ष पुगेकालाई बढुवा दिन्छौं भन्नु भएको छ, त्यसलाई हामीले सकारात्मक रुपमै लिएका छौं । उहाँहरुले खाइपाइ आएको तलवमा घट्ने भन्ने हुँदैन । उहाँहरु पाएको तलव सुविधा नै यहाँ क्यारी अन भएर आउने भएकाले त्यति ठूलो गुनासोे रहला भन्ने हामीलाई लाग्दैन ।

नेपाल विकास बैंक, जो संस्थै खारेजीमा गइसकेको छ, त्यो चाही किन खरीद गर्नु भएको ?
नेपाल विकास बैंक नेपालकै पहिलो विकास बैंक हो । यो धेरै राम्रो बैंक हुनु पर्नेमा यो विग्रियो । ह्यान्डल गर्ने हात दुरुपयोग तिर लागेका कारण विग्रिएको हो । यो संस्था सुरु गर्नुपर्छ भनेर सोच्नेमा हाम्रो बैंकको सञ्चालक समिति अध्यक्ष देवी भट्टचन पनि हुनुहुन्थ्यो । केही समय उहाँ सञ्चालक पनि हुनुहुन्थ्यो । त्यसैले त्यो संस्थाप्रति उहाँको केही इमोसनल एट्याचमेन्ट पनि होला ।

अर्को कुरा नेपाल विकास बैंकसँग जोडिएका एलिमेन्टस्हरु, नेपाल राष्ट्र बैंक, सञ्चय कोष, भारतको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडिबिआई) बैंक यसमा छन् । आइडिबिएल बैंकको त्यहाँ १५ प्रतिशत सेयर छ । यो बैंकलाई हामीले निरन्तरता दिन सकेको अवस्थामा त्यो हाम्रोलागि ठूलो उपलब्धि हुन्छ । त्यो सम्भावनालाई हामीले लिएर आउन सक्छौं कि भनेर नेपाल विकास बैंक खरीद गरेका हौं । त्यो किन्दा पनि हामीले घाटाको व्यापार गरेका छैनौं । त्यसबाट पनि नाफा हुने सम्भावना यथावत छ । त्यहाँबाट जे आउँछ त्यो हाम्रो सेयरधनीका लागि राम्रै हुन्छ ।

आइडिविआई बैंकसँग पनि केही न केही कुराकानी भएको होला नि ?
आइडिबिआईसँग सामान्य कुराकानी भएका होलान्, सञ्चालक समितिको स्तरमा । तर अफिसियल्ली कुराकानी भएको छैन । नेपाल विकास बैंकले चाही गरेको हुन सक्छ । उसले सबै प्रोग्रेस रिपोर्टहरु पक्कै पठाएको छ । उनीहरुले पनि केही माइन्डसेट गरिरहेका होलान् । राष्ट्र बैंकको स्वीकृति आएपछि हाम्रो तर्फबाट छलफल गर्न सुरु गर्छौं । यसको रिजल्ट दुई तीन महिनाभित्रै आउँछ ।

ग्राण्ड पनि जोडिने र सबै समस्याहरु पनि हल भएर जाने भएपछि लगानीकर्ताले प्रभु बैंकबाट कति समयपछि प्रतिफल आशा गर्न सक्छन् ?
हामीले सोचेको दुई बर्ष हो । एक बर्ष वित्यो । ग्राण्ड बैंक जोडिए पनि दिन्छौं ग्राण्ड नजोडिए पनि एक बर्षपछि प्रतिफल वितरण गर्छौं ।

तपाईको भनाइको आसय कस्तो देखियो भने ग्राण्ड आए ठिकै छ नआए केही घाटा छैन । तपाईहरु ग्राण्ड किन्न गम्भिर हो की होइन ?
हुनै पर्छ भन्ने होइन । भए पनि ठिकै छ नभए पनि ठिकै छ । भएको अवस्थामा राम्रो, त्यही भएर हामीले सम्झौता गरेका हौं । भएन भने पनि केही छैन । हाम्रो तर्फबाट हामीले हात उठाउने भन्ने हुँदैन, निकाल्दैनौं । डिडिए गर्दा अवस्था एकदमै खराव देखियो भने अलग कुरा हो । हामीलाई जुन तथ्यांक ग्राण्डले दिएको छ त्यो आधारमा हामी तयार छौं ।

प्रभु बैंक ठूलो भइसक्यो अब । अरु बैंकका सहायक कम्पनीहरु छन् । तपाईहरुलाई पनि त आम्दानीको स्रोत बढाउन अन्य संस्था चाहिएला ?
प्रभु ग्रुपको तर्फबाट आर्थिक क्षेत्रमा मनि ट्रान्सफर सञ्चालनमा छ । बीमा कम्पनी  छ, बैंक पनि छ । अब हामी प्रभु बैंकको सहायक कम्पनीका रुपमा लघुवित्त विकास बैंक सञ्चालन गर्ने तयारीमा छौं । राष्ट्र बैंकमा गएका छौं, त्यहाँबाट स्वीकृति आएपछि हामी सञ्चालन गर्छौ । र, पुँजी बजारमा पनि नयाँ कम्पनी लिएर आउँछौं । जसले सामूहिक लगानी कोष र मर्चेन्ट बैंकरको काम गर्नेछ ।

तपाईहरुले मर्ज गर्नुअघि यो संस्था किस्ट बैंक थियो । किस्ट भन्ने वित्तिकै यो संस्थाको अधिक लगानी घरजग्गामा केन्द्रीत छ भन्ने वुझाइ हुन्थ्यो । तपाईहरुले मर्ज गरेपछि रियलस्टेट छाड्नु भयो । अब तपाईहरुको लगानीको दिशा कतातिर जान्छ ?
यसपालीको दोस्रो त्रैमासको रिजल्ट हेर्दा रियलस्टेट कर्जा ह्वात्तै घटेको छ ।  बढेको उत्पादनमूलक क्षेत्रमा देखिन्छ । जस्तो औद्योगिक क्षेत्रमा हामी ठूलो रुपमा छिरेका छौं । जलविद्युतमा हाम्रो पाँच अर्बको प्रतिवद्धता गइसकेको छ । सिमेन्ट, स्टिल, होटल, आयात तथा निर्यातको व्यापारमा हामीले हात हालेका छौं । यो तीन महिनाका अवधिमा तीन अर्ब रुपैयाँ बढेको कारण पनि यही हो ।

यसपाली हामीले ठूला घरानाहरुलाई पनि प्रभु बैंकमा छिराएका छौं । स्थापित भनिएका सबै खाले घरानाहरु प्रभु बैंकमा आएका छन् । कृषि क्षेत्रमा पनि हामी त्यसैगरी लागेका छौं । अर्को क्षेत्र आवासीय कर्जा (कन्जुमर लेन्डिङ) मा पनि हामीले ठूलो लगानी गरेका छौं । तीन महिनामा होम लोनमा ६५ करोड कर्जा लगानी भइसकेको छ । ठूला कर्पोरेट हाउसलाई व्याज दरमा प्रतिस्पर्धा गरेर आकर्षित गर्यौं, मध्यमस्तरका लागि अटो र होम लोन कर्जा लिएर आयौं । कृषि कर्जामा पनि हामी त्यसैगरी लागेका छौं । जलविद्युतमा हामी २५ वटा आयोजनामा लगानी गर्दैछौं । कावेली, तल्लो सोलुलगायतका नमुना आयोजनाहरुमा हामीले लगानी गरेका छौं ।

एउटा फरक प्रश्न, बैंकका प्रमुख कार्यकारी भनेको कपाल फुलेका, २०/२५ बर्षको लामो अनुभव बटुलेका हुन्छन् भन्ने आमसोचाइ हुन्थ्यो । तर तपाई त बाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो प्रमुख कार्यकारी ?
यो आमधारण भयो । हामीबीचमा रहेको र हामीले मान्दै आएको धारणा हो यो । तर विस्तारै समाजले परिवर्तन खोज्छ । परिवर्तन हामीले खोजिरहेका त हुन्छौं तर सजिलै स्वीकार्न भने सक्दैनौं । परिवर्तनलाई स्वीकार्नु पर्छ । अहिलेको समय भनेको विश्वव्यापी रुपमै अलिकति योङ, अलिकति क्रियटिभ, इन्नोभेटिभ र अलिकति एडप्ट गर्न सकिने स्वभाव भएकाहरुले नै संस्थाहरु हाँकिरहेको देखिन्छ । नेपालमा पनि केही समयदेखि सुरुवात भइसकेको छ । त्यही सुरुवातकै स्टेप म पनि हो ।

अहिले जतिपनि ठाउँमा नयाँ नियुक्ती गर्न खोजिँदैछ त्यहाँ अलिकति क्रियटिभ र योङ नै गर्न खोजिरहनु भएको छ । यो आवश्यक पनि छ । यसले आमधारणा पनि परिवर्तन गर्छ । अन्य क्षेत्रहरुमा युवालाई नेतृत्व दिने क्रम सुरु भइसकेको छ । प्रविधिको क्षेत्रमा, व्यापारिक घराना, पर्यटन क्षेत्रमा सुरु भइसक्यो । बैंकिङमा पनि विस्तारै यो देखिदैछ । नेपाली बैंकबाट रिटायर्डको क्रम भर्खर सुरु भएकाले नयाँ अनुहारहरुले नेतृत्व पाउँदै जान थालेका छन् । यो एउटा चक्र नै हो ।