अंगुर, अंगुरको वाइनसहित पातलेवन रिसोर्ट

बिजमाण्डू
२०७१ माघ १८ गते ००:०० | Feb 1, 2015
अंगुर, अंगुरको वाइनसहित पातलेवन रिसोर्ट


सविन मिश्र/बिजमाण्डू
काडमाडौं। काठमाडौंको केन्द्रबाट १५ किलोमिटर टाढा, तर देख्दा विकट गाउँ, काठमाडौंबाट बाहिरिने प्रमुख राजमार्गबाट करीब एक किलोमिटर माथि छ, पातलेवन भाइनयार्ड रिसोर्ट। छेवैमा पातलेवन नाम गरेको एउटा ठुलो जंगल छ।

Tata
GBIME
NLIC

पहिलेको बाडभंज्याङ तथा अहिलेको चन्द्रागिरी नगरपालिकाको ४२ रोपनी क्षेत्रफलमा फैलिएको पातलेवन भाइनयार्ड रिसोर्ट स्वदेशी तथा विदेशी पाहुनाको आकर्षण बढ्दै गएको छ यो अंगुरको बगैंचायुक्त रिसोर्टमा।

प्रबन्ध निर्देशक कुमार कार्कीले झण्डै १३ वर्ष अगाडि जापानमा देखेको एउटा सपनाको प्रतिफल हो यो रिसोर्ट। उनी भन्छन्, ‘जापानमा साथीसँग घुम्ने क्रममा अंगुर बगैंचामा पुगियो, त्यहाँ वाइनरी पनि थियो, त्यो देख्ने वित्तिकै मलाई नेपालमा पनि अंगुर खेतीसँगै वाइनरी भएको एउटा रिसोर्ट चलाउन मन लाग्यो र त्यसैलाई मूर्त रुप दिने क्रममा यहाँसम्म आइपुगेको छु।‘

कार्कीले आफ्नो सपना साकार पार्न जापानी साथीसँग मिलेर सुरुमा पाँच करोड रुपैयाँमा रिसोर्ट संचालनमा ल्याए। अहिले यो रिसोर्टमा पटक पटक गरी १५ करोड रुपैयाँ लगानी भइसकेको उनले बताए।

कसरी आयो रिसोर्टको कन्सेप्ट?
काठमाडौंका रैथाने कार्की पर्यटन व्यवसायी हुन् । जापानी भाषा पढ्न उनी २००१ मा जापान गए । त्यो भन्दा पहिले उनी यहाँ १९९७ बाट टुर गाइडको काम गर्थे । भाषासँगै उनले जापानमा टुरिजम म्यानेजमेट कलेजबाट ग्राजुयसन पनि सके ।

‘नेपालमा युद्धको समय थियो, पर्यटक घटेका थिए,’ उनी भन्छन्, ‘असहज अवस्थामा पनि रिसोर्ट खोल्न तयार भएँ।‘ पहिले नै रिसोर्ट खोल्ने सपना देखिसकेका कार्कीले जापानी साथीको सल्लाहमा आफ्नो सपना साकार गर्न नेपालमा वाइनरीसहितको रिसोर्ट खोल्न तयार भए ।

लामो समय जापान बसेको र जापानी पर्यटकको बानी थाहा पाएका कार्कीले सुरुमा उनीहरुलाई नै लक्षित गरेर रिसोर्ट चलाउन थाले । तर पर्यटकको आवागमन बढ्दै जाँदा अरु देशका मानिस पनि अहिले रिसोर्ट पुग्ने गरेका छन् । ‘वाइनरी भन्ने वित्तिकै फ्रेन्चहरुको चासो धेरै हुन्छ,’ उनले भने, ‘अहिले हाम्रोमा फ्रान्स र अरु युरोपेली देशका पर्यटक आवागमन पनि बढेको छ ।

लाङटाङदेखि अन्नपूर्ण हिमाल देखिने रिसोर्ट
काठमाडौंको एउटा छेउमा सन् २०१० को अप्रिलबाट संचालनमा आएको यो रिसोर्टबाट रसुवाको लाङटाङदेखि गणेश हिमाल र  संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालसम्म देख्न सकिन्छ । धादिङ र काठमाडौं जिल्लाको सिमाना नजिकै पर्ने रिसोर्टबाट नुवाकोटका केही डाँडा र धादिङका ग्रामीण वस्तीहरु देख्न सकिन्छ ।
काठमाडौंको पश्चिमी भेगमा पर्ने यो रिसोर्टबाट सनसेटको राम्रो दृश्य देख्न सकिने कार्कीले बताए ।

उनका अनुसार २९ रुम र दुईवटा सेमिनारहलसहितको रिसोर्टका सबै कोठाबाट हिमाल देखिन्छ । ‘हाम्रा सबै कोठाहरु उत्तर फर्किएका छन्,’ कार्कीले भने, ‘गेष्टले जुनसुकै रुमबाट पनि हिमाल देख्न सक्छन्।‘
यो रिसोर्ट पुग्ने एक जोडी ग्राहकले ५५ सय रुपैयाँमा डिनर, ब्रेकफास्ट र एउटा रुम पाउँछन्। सिंगल जाँदा भने केही सस्तो पर्ने उनले जानकारी दिए ।

अंगुर बगानदेखि वाइनसम्म
पातलेवन भाइनयार्ड रिसोर्टको विशेषता भनेकै उसको आफ्नै बँगैचाको अंगुर टिपेर खान पाउनु हो । त्यहाँ पुग्ने ग्राहकले अंगुरको सिजन अर्थात असार/साउनको समयमा आफ्नै बगैंचामा फलेका अंगुर टिपरे खान सक्ने बताउँछन् कार्की। ‘हामीले टेबल ग्रेप र वाइन ग्रेप गरेर दुईथरी अंगुर फलाउँछौं,’ उनले भने, ‘वर्षको करीब २५ सय केजी अंगुर उत्पादन गर्ने गरेका छौं, ती मध्ये केही वाइनमा खपत हुन्छ, केही ग्राहकलाई नै बेच्ने गरेका छौं।

पातलेवन भाइनयार्ड रिसोर्टमा तीन किसिमका वाइन उत्पादन हुन्छ । अहिलेसम्म आफ्ना ग्राहकलाई मात्रै वाइन बेचिरहेको रिसोर्टले रेड वाइन, ह्वाइट वाइन र रोज वाइन उत्पादन गरेको छ । ६ सय ५० एमएलको बोतलमा पाइने यो वाइन तुलनात्मक रुपमा महँगो छ। ‘वाइन भनेको एउटामात्रै फलफूलको हुने हो,’ उनी भन्छन्, ‘यहाँ त मिक्स बन्ने गरेको छ र बजारमा सस्तोमा बेचिन्छ।‘

पातलेवनमा उत्पादन हुने रोज वाइन प्रति बोतलको एकहजार पाँचसय, रेड वाइन एकहजार सातसय र ह्वाइट वाइन प्रति बोतल एकहजार पाँचसय रुपैयाँमा बेच्ने गरिएको छ।

‘हामी सबै काम हातले नै गर्छौं,’ कार्कीले भने, ‘अब विस्तारै मेसिन ल्याएर उत्पादन बढाउने सोच भए पनि अहिलेसम्म भने म्यानुअल्लीनै काम भइरहेको छ।‘ कूल वाइन उत्पादन क्षमता ५० हजार बोत्तल प्रतिवर्ष भए पनि अहिले पर्याप्त अंगुर नभएकाले थोरैमात्रै उत्पादन हुने गरेको कार्कीले बताए ।

वाइनका लागि सबैभन्दा आवश्यक कच्चा पदार्थ भनेको त अंगुर नै हो । त्यसपछि केही सुगर र इष्ट प्रयोग हुने उनले बताए । उनले वाइन बनाउन स्वीट्जरल्याण्डबाट इस्ट ल्याउने गरेका छन्।

१० कोठाबाट २९ मा विस्तार
‘सुरुमा त हामीले यसो चिने जानेका जापानी पर्यटक मात्रै भित्र्याउने भनेर १० वटा कोठा मात्रै बनाएका थियौं,’ कार्की पुराना दिन सम्झँदै भन्छन्, ‘पछि धेरै चर्चा हुन थाल्यो र मानिसहरु नयाँ गन्तव्यको खोजी गर्दै आउँदा धेरै आउन थालेकाले बढाएर २९ पुर्‍याइएको छ ।‘

सुरुमा थोरै लगानीबाट बढ्दै गएको रिसोर्टको क्षमता अब तत्काल बढाउने सोचमा भने कार्की छैनन्। ‘हामीले अहिलेलाई रिसोर्टमा भन्दा पनि अन्य क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘रिसोर्टबाट नै उत्पादित वाइन सम्पूर्ण ग्राहकलाई पुर्‍याउने पहिलो लक्ष्य हुनेछ।‘ अहिले उत्पादित वाइनले सम्पूर्ण समयमा ग्राहकलाई नपुग्ने भएकाले तत्काल त्यसैलाई वृद्धि गर्ने उनले जानकारी दिए ।

बढ्दैछ अंगुर खेती
रिसोर्ट सुरु हुदाँसम्म जम्मा १५ रोपनी क्षेत्रफलमा अंगुर लगाएपनि  अब यसलाई बढाउने तयारी उनको छ । अहिले धादिङको थाक्रेमा ५० रोपनी क्षेत्रफलमा बढेको यो खेती अझै बढाउँदै लैजाने उनले बताए ।

‘थाक्रेमा ३० रोपनी किनेर र २० रोपनी भाडामा गरी ५० रोपनीमा अंगुर खेती भइरहेको छ,’ कार्कीले भने, ‘धादिङकै केवलपुरमा पनि हामीले फर्म संचालनको तयारी गरेका छौं, त्यो भयो भने हामीलाई आवस्यक परिमाण पुग्छ र बजारमा पनि पठाउन सक्छौं।‘

रिसोर्टमा आवश्यक दुध उत्पादनदेखि तरकारीसम्म आफैंले उत्पादन गरेर पुर्‍याउने सोचमा पनि आफू रहेको उनले बताए। रिसोर्टलाई ‘एग्रो’ रिसोर्टको रुपमा अगाडि बढाउन खोजेको भन्दै कार्कीले तरकारी पनि आफैं उत्पादन गर्ने जानकारी दिए । ‘हामीले पहिले नै दुध उत्पादन सुरु गर्ने तयारी गरेका थियौं,’ उनले भने, ‘अहिलेको यो ठाउँ सानो भएकाले त्यसलाई अगाडि बढाउन सकिएन, अब विस्तारै गर्छौं।‘

कार्कीले पातलेवन भिलेज रिसोर्टसँगै पातलेवन वाइनरी पनि चलाएका छन्। अब वाइनको उत्पादनको सबै काम वाइनरीबाट नै हुन्छ। वाइन उत्पादन गरेर बेच्ने लक्ष्य लिएका कार्कीले अबको तीन वर्षमा पातलेवन बाहिर पनि वाइन बेच्ने बताए।

वाइननै किन?
‘युरोप अमेरिका र जापानले पनि आफ्नो देश घुम्न आउने पर्यटकलाई फर्केर जाँदा खान मिल्ने धेरै कुरा उत्पादन गरेका छन्,’ कार्की भन्छन्, ‘हामीकहाँ त्यस्तो विशेष भन्ने केही भएन, सुरुमा त दुध उत्पादन गर्नेबारे पनि सोचेको थिएँ तर त्यो भन्दा वाइन धेरै फरक र नयाँ हुने भएकाले यसमै लागियो।‘

नेपालमा कुनै पनि रिसोर्टले आफैंले वाइन उत्पादन गरेर नबेच्ने र आफूहरुले मात्रै यो काम गरिरहेकाले आफूहरु अरु भन्दा फरक भएको उनले बताए। ‘हाम्रो प्रतिस्पर्धा भन्ने त कसैसँग होइन,’ कार्की भन्छन्, ‘हामी छुट्टै काम गर्छौं, अन्त नभएका सेवा हामी दिन्छौं।‘

पातलेवन नै किन?
काठमाडौं नजिकैका पर्यटकीय ठाउँहरु नगरकोट, धुलिखेलमा धेरै रिसोर्टहरु खुलेका छन् तर पातलेवन नै किन जाने त, कार्की जवाफ दिन्छन्, ‘नेपालमा आउने धेरै पर्यटक दोहोर्‍याएर आउने  खालका हुन्छन्, उनीहरुलाई नयाँ ठाउँ देखाउन पनि यो उपयुक्त हुन सक्छ।‘

अरु रिसोर्टले बाहिरबाट किनेका सामान बेचेपनि आफूहरुले आफ्नै उत्पादन ‘सर्भ’ गर्ने भएकाले पनि ग्राहकहरुका लागि यो उत्तम विकल्प हुने उनको भनाइ छ ।

‘काठमाडौंको केन्द्रबाट नजिक, हिम श्रृंखला पनि देखिने भएकाले पर्यटकलाई यो ठाउँ उपयुक्त हुन्छ,’ उनी भन्छन्, ‘काठमाडौंको थकानबाट थाकेका नेपाली ग्राहकले पनि नजिकको गन्तव्यका रुपमा हामीलाई सम्झन सक्छन्।‘