काठमाडौं। सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै यसको असर तारे होटलहरुको व्यापारमा देखिन थालेको छ।
विदेशी पर्यटकहरुले होटलमा खपत गर्ने मुख्य पेयमा विदेशी मदिरा नै हुँदै आएकाले यस्ता मदिरा अहिले उपलब्ध हुनै मुस्किल हुँदै गएपछि यतिखेर ठुला होटलहरुको व्यवसाय नै प्रभावित भएको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार विदेशी मदिराको अभावमा होटलको व्यापारमा मात्र नभएर पर्यटन क्षेत्रमै नकारात्मक असर पर्न सुरु भएको छ।
विदेशी मदिरा आयातकर्तासँग भएको स्टक यतिबेला सकिएको छ। तर नयाँ आपूर्ति हुन नसकेपछि एभरेष्ट, सोल्टी, मेरियोट, याक एण्ड यती, र्याडिसन, हायात, हायात प्लेस, एलोफ्ट लगायत विभिन्न तारे स्तरका ठुला होटलले आउँदो सिजनमा पाहुनाको माग बमोजिमको सेवा दिन नसक्ने जनाएका छन्।
आयातित मदिरामा प्रतिबन्ध लगाइदिँदा विभिन्न होटल-रेष्टुरेण्टले दिँदै आएको आतिथ्यता सेवामा नै नकारात्मक प्रभाव सुरु भएको व्यवसायीहरुको गुनासो छ।
सरकारले विदेशी मदिरा आयातलाई चटक्कै प्रतिबन्ध लगाएसँगै विदेशी पर्यटकलक्षित सेवामा प्रभाव परेकाले यो निषेधको विकल्प सोच्न आवश्यक रहेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँ बताउँछन्।
सरकारको नीति अनुसार आयात रोकिएपछि विदेशी मदिराको स्टक नै सकिएकाले चार सातायता पाहुनाको माग बमोजिमको सेवा दिनै अप्ठ्यारो परिरहेको एभरेष्ट होटलका महाप्रवन्धक आशिष चलुले बताए।
'यतिखेर विदेशी पाहुनाबाट माग भइरहेको मदिरा उपलब्ध गराउनै नसकेको अवस्था छ। यसले आतिथ्य सेवाको स्तरमा नै असर पुग्न थालेको छ,' चलु भन्छन्, 'पाहुनाले मेनुबाट अर्डर गर्नुभएको मदिरा दिन नसक्दा आम्दानी समेत गुमेको अवस्था छ। डोमेस्टिक वेभरेज बाहेकको विकल्प छैन। पाहुनाले अर्डर गरेको कुरा छैन भन्नु जस्तो नराम्रो होटल उद्योगमा के होला?'
यस्तो अवस्थाका कारण पाहुना गुमाउनका साथै व्यवसायमा नै असर हुन थालेको र नेपालबाहिर यसले पर्यटकमाझ नराम्रो सन्देश जाने सम्भावना धेरै रहेको पनि उनको भनाइ छ।
नेपाली उत्पादन राम्रो भए पनि विदेशी पर्यटकले आयातित मदिरा नै खोज्ने गरेको भनाइ अधिकांश होटल व्यवस्थापकहरु बताउँछन्।
अहिलेको व्यवस्था अनुसार पाँच तारे होटलले सिधा विदेशी मदिरा आयात गर्न सक्दैन। अहिले आधिकारीक डिलरहरुलाई पनि आयात प्रतिबन्ध छ। यसैले उनीहरुसँग पनि विदेशी मदिराको स्टक सकिएको। होटलहरुबाट माग हुँदा उनीहरुले अब आपूर्ति नै गर्न सक्दैनौँ भनेर हात उठाइसकेको सोल्टीका उपाध्यक्ष चपागाईँ बताउँछन्।
उनी भन्छन्, 'विदेशी पर्यटकमध्ये केहीले चाख्नका लागि मात्र नेपाली मदिरा खोज्ने हो। तर त्यस्ता पाहुना २०% जति मात्र हुन्छन्। अधिकांशले विदेशी नै खोज्छन्, तर इम्पोर्टेड लिकर नपाउँदा पाहुना निराश हुने गरेका छन्। यो अवस्था कायम रहँदा त होटलको व्यापारमा असर पुग्ने मात्र नभइ मुलुककै छविमा आँच आउने भयो।'
विदेशी मुद्रा संचित नाजुक अवस्थामा पुगेपछि यसमा सुधारका लागि भन्दै सरकारले मदिरा आयातमा निषेध लगाएको हो। तर यो कदम उक्त दृष्टिले ठिक देखिए पनि यसले पर्यटन उद्योग अन्तर्गतका व्यवसायहरुलाई गम्भीर असर गरेकाले यसलाई मध्यनजर गर्दै यस क्षेत्रका लागि फरक नियम लागू गर्न आवश्यक रहेको भनाइ चापागाईँको छ।
आयातित मदिरा नभएका कारण होटल उद्योगमा नकारात्मक प्रभाव पर्न सुरु भएको काठमाडौं मेरियोट होटलका संचालक शशीकान्त अग्रवालले बताए। 'टनिक वाटरदेखि विभिन्न ब्राण्डका पेय तथा मदिरा प्रयोगकर्ता धेरै हुन्छन्। आफूले गर्दै आएको खानपिन विदेशमा गएर खानका लागि विदेशी पर्यटक खर्च गर्न आएका हुन्छन्। तर आफूले चाहेजस्तो सेवा पाएन भने त अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो देखिँदैन नी,' उनी प्रष्ट्याउँछन्।
होटलमा बिक्री हुने विदेशी मदिरामा सरकारलाई आम्दानी पनि धेरै रहने उनको दाबी छ। तर यस्तो मदिरा अभाव भएपछि अब आउँदो सिजनमा पाहुनाका लागि तयार हुने मेनु संख्या नै घट्ने बताउँदै उनी भन्छन्, 'अहिले दुई सयवटा भेराइटी छ। अब मदिराको आइटम नै घटेपछि दुई महिनापछि त ७५ वटामा झर्छ। आउने पाहुनालाई हामीसँग भएको मेनु खाए खाउ नभए नखाउ भन्ने हिसाबले दिन थालियो भने त पाँचतारे होटलको सेवाको स्तर कहाँ पुग्ला?'
झट्ट हेर्दा 'मदिरा' जस्तो मात्र देखिए पनि यसले पर्यटकहरुको आतिथ्यलाई सम्बोधन गर्न नसकेको जस्तो देखिने हुँदा यसबाट तारे होटलको समग्र सेवाको स्तरमा नै नकारात्मक प्रभाव पर्ने होटल व्यवसायीहरुको निष्कर्ष छ। यसबाट पर्यटकको नेपाल बसाई अवधिमा पनि असर गर्न सक्ने आकलन उनीहरुको छ।
सरकारले पर्यटकको आवगमन र बसाई लम्ब्याउनुको सट्टा जबरजस्ती निरुत्साहित गर्ने नीति कार्यन्वयनमा ल्याएको अग्रवालले बताए।
सरकारले आयातित मदिरामा प्रतिबन्ध लगाएसँगै मुलुको समग्र पर्यटन उद्योग मै नकारात्मक असर पर्ने अलोफ्ट होटलका महाप्रबन्धक विक्रम सिंहको पनि भनाइ छ। यतिखेर अलोफ्टसँग भएको आयातित मदिराको स्टक लगभग रित्तिएकाले पाहुनाको स्तर र माग अनुसारको सेवा दिनै धौधौ हुने अवस्था भएको उनले बताए।
'पाँच तारे होटलमा आउने भनेको अधिकांश हाइ इण्ड पाहुना हुन्छन्। उनीहरु आएर माग गरेअनुसारको सेवा दिन नसक्दा त लाजमर्दो भयो नी,' सिंहले भने, 'आयातित मदिरा बिक्रीबाट हुने आम्दानीमा कर तुलनात्मक हिसाबले धेरै हुन आउँछ। यसबाट सरकार पनि लाभान्वित हुँदै आएको छ। यसैले होटल, सरकार र पर्यटन व्यवसाय सबैका लागि विन-विन हुने तरिकाले अगाडि बढ्न आवश्यक देखिएको छ।'
होटल याक एण्ड यतीले भने अहिलेसम्मको अवस्थामा स्टक राखेको आयातित मदिराबाट माग धान्दै आएको बिक्री तथा बजार निर्देशक सागर चन्द्र वान्तवा राईले बताए। यद्यपि, यो धेरै लामो समयसम्म पुग्ने अवस्था भने छैन।
नेपाल मदिरा पैठारीकर्ता संघले मदिरा आयातमा प्रतिबन्ध लगाएर राज्यले ठूलो राजस्व गुमाएको जिकिर गर्दै खोल्न माग गर्दै आएको छ।
वार्षिक डेढ अर्ब रुपैयाँ मात्रैको मदिरा आयात हुँदा पनि तीन अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त गर्ने तथ्यांक प्रस्तुत गर्दै संघले करिब दुई साताअघि विज्ञप्ति नै जारी गरेको थियो।
बोतलबन्द आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग एक करोड २० लाख अमेरिकी डलर मात्र खर्च हुने भन्दै संघले यो वार्षिक बाहिरिने कुल विदेशी मुद्राको ०.१० प्रतिशत रहेको दाबी गरेको छ।











