
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिएका हुन्।
उनले मंगलवार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए।
अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटक-पटक दोहोर्याए। सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो।
उनले भने, ‘बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ, त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ। यसको म खण्डन गर्न चाहन्छु। खारेज गर्न चाहन्छु। र, मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिवज्यूहरुको नेतृत्वमा राजस्व सचिवको नेतृत्वमा राजस्वसम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थसम्बन्धि दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु।’
अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताए। -न्युज एजेन्सी नेपाल