किष्ट बैंकमा सानिमाका लम्साललाई प्रमुख कार्यकारी अधिकृत बनाईंदै, सञ्चालक पनि थपिंदै



बिजमाण्डू
२०७० पुष १७ गते ००:०० | Jan 1, 2014
किष्ट बैंकमा सानिमाका लम्साललाई प्रमुख कार्यकारी अधिकृत बनाईंदै, सञ्चालक पनि थपिंदै
काठमाडौं । किष्ट बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साललाई नियुक्तगर्ने भएको छ । लम्साल सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । बैंकमा दुई जना सञ्चालक पनि थपिने, नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो । बैंकमा एक जना डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्तिको पनि सम्भावना रहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । 
किष्ट बैंक सञ्चालक समितिका अध्यक्ष रामप्रसाद दाहालले लम्साललाई प्रमुख कार्यकारी अधिकृत बनाउने प्रक्रिया सुरु भएको बताए । लम्साललाई सिईओ बनाउन बोर्डमा प्रस्ताव आएको छ, आज दिनभरी नियुक्ति प्रक्रिया चल्छ, म भोली मात्रै तपाईंलाई हाम्रो आधिकारिक जानकारी दिन सक्छु, उनले भने । 

किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवाली कर्जा घोटला प्रकरणमा तानिए पछि बैंकको उच्च व्यवस्थापन खाली थियो । ज्ञवाली विवादमा
 परेपछि बैंकले बीएन घर्तीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । जम्को प्रकाशनलाई कर्जा दिएको प्रकरणमा घर्तीसँगै तीन जना व्यवस्थापकलाई सिआईबीले पक्राउ गरेपछि किष्ट बैंकको उच्च व्यवस्थापन पुरै खाली छ ।
किष्टमा अहिले भेषराज खतिवडालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न दिइएको छ । लम्साल सानिमा बैंकमा स्थापना कालदेखि नै संलग्न थिए । सुरुमा महाप्रवन्धक रहेका लम्साललाई चार वर्ष अघि सानिमामा प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो । यसै वर्षको सुरुमा सानिमाले उनको कार्यकाल थप चार वर्ष लम्बाउने प्रस्ताव गरेको थियो ।
लम्साल किष्टमा प्रवेश गर्ने भएपछि सानिमा बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका भुवन दाहाल प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । नबिल बैंकबाट प्रमुख सञ्चालन अधिकृत रहेका दाहाललाई बैंक व्यवस्थापनले आठ महिना अघि सानिमा बैंकमा लगेको थियो । 
किष्ट बैंकमा पुष्पबहादुर प्रधान र परमेश्वरलाल प्रधान सञ्चालक हुनेछन् । किष्टमा दुईवटा सञ्चालक पद खाली छ । ती खाली पदमा प्रधानद्वय जान लागेका हुन् । परमेश्वरलाल प्रधान अहिले प्रभु विकास बैंकमा सञ्चालक छन् । नेपाल बैंकका पूर्व कर्मचारी परमेश्वरलाल र प्राध्यापक पुष्पबहादुर प्रधान किष्ट बैंकमा प्रभु समूहको तर्फबाट जान लागेको स्रोतले जानकारी दियो ।
किष्टमा उच्च व्यवस्थापन खाली रहेपछि नेपाल राष्ट्र बैंकले पनि सिईओ नियुक्ति लगायतका विषयमा चासो राख्दै आएको थियो । पछिल्ला केहि दिनदेखि नेपाल राष्ट्र बैंक किष्ट बैंकको व्यवस्थापनमा नियुक्ति प्रक्रियामा अनौपचारिक रुपमा संलग्न रहँदै आएको छ ।
उता कर्जा घोटला प्रकरणमा पक्राउ परेका बीएन घर्तीको यही साता थुनछेक बहस टुङ्गिने भएको छ । सिआईबीले मुद्दा अदालतमा दायर गरेपछि सुरु भएको यो बहस यसै साता टुङ्गिने स्रोतले जानकारी दियो । किष्टको घोटला प्रकरणमा आफ्नो मात्रै संलग्नता स्वीकार गरेका ज्ञवाली भने सिआईबी सूचीमा अझै पनि फरार छन् । 

Tata
GBIME
Nepal Life