काठमाडौं। इलामको पशुपतिनगरस्थित सीमा सुरक्षा गुल्मले अवैध ओसारपसार रोक्न नाकासँगै सीमावर्ती क्षेत्रमा निगरानी कडा पारेको छ। उक्त गुल्मले गत साउनदेखि मंसिर ९ गतेसम्मको अवधिमा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरको अवैध सामान तथा चौपाया बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपालअन्तर्गतको गुल्मले सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा कारबाही गर्दै स्याउ, मदिराजन्य पदार्थ, जुत्ता–चप्पल र फर्सीको बियाँलगायतका सामान बरामद गरेको हो।
बरामद सामानमध्ये १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ र ५७० किलो फर्सीको बियाँ छन्। मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र छब्बिसेको संयुक्त टोलीले ती सामान नियन्त्रणमा लिएको हो।
सीमा क्षेत्रमा हुने चोरी पैठारी र भन्सार छली नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानी गर्दै आएको गुल्मले जनाएको छ। गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी र अवैध ओसारपसार नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन्।
यसअघि थापा संगठनसँग सम्बन्धित उजुरी व्यवस्थापन, स्टाफ ड्युटी तथा सञ्चारमाध्यमसँगको समन्वयमा गरेको कामका लागि विभिन्न अवसरमा पुरस्कृत भएका थिए।










