स्वर्णिमले आयकरको सीमा हेरफेर गरेको असर ढुकुटीमा, पारिश्रमिक कर चार महिनामा १.१२ अर्ब गुम्यो

मस्त केसी
२०८३ मंसिर ११ गते ०९:३१ | Nov 27, 2026
स्वर्णिमले आयकरको सीमा हेरफेर गरेको असर ढुकुटीमा, पारिश्रमिक कर चार महिनामा १.१२ अर्ब गुम्यो

काठमाडौं। व्यक्तिगत आयकरको सीमामा गरिएको परिवर्तनले राज्यले १ अर्ब १२ करोड रुपैयाँ मात्र राजस्व गुमाएको छ।

GBIME
Tata

अर्थ मन्त्रालयको तथ्यांकअनुसार रोजगारी, तलब, ज्याला, भत्ता सुविधा आदिबाट हुने आयमा लाग्ने पारिश्रमिक कर चार महिनामा १ अर्ब १२ करोड १० लाख रुपैयाँ घटेको छ।

चालु आवको साउनदेखि कात्तिकसम्म पारिश्रमिक कर ९ अर्ब ५९ करोड ३० लाख संकलन भएको छ। जबकि गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ७१ करोड ४३ लाख रुपैयाँ संकलन भएको थियो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा हेरफेर गरेका थिए। उनले वार्षिक १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत भन्दा नलाग्ने व्यवस्था गर्नुका साथै आयकरको उच्चदर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारेका थिए। त्यसको असर पारिश्रमिक कर संकलनमा देखिएको हो।

तर, पारिश्रमिक कर घटे पनि पुँजीगत लाभकर, सम्पत्ति कर, एकलौटी फर्म, आकस्मिक लाभलगायतबाट उठ्ने आयकर भने २ अर्बले बढेको छ। मन्त्रालयको तथ्यांकअनुसार साउन-कात्तिकमा व्यक्तिलाई मात्रै लाग्ने उपशीर्षकबाट समग्र आयकर २० अर्ब ६५ करोड ११ लाख रुपैयाँ उठेको छ। पोहोर साउन-कात्तिकमा भने १८ अर्ब ५४ करोड ५३ लाख संकलन भएको थियो।

चिठ्ठा, पुरस्कार, उपहार आदि आकस्मिक लाभबाट व्यक्तिलाई प्राप्त हुने आयमा लाग्ने आकस्मिक लाभकर ९२ लाख ४३ हजार रुपैयाँ घटेको छ। पोहोर ४ महिनामा २ करोड ३४ लाख उठेको आकस्मिक लाभकर यसपालि सोही अवधिमा १ करोड ४२ लाख १९ हजार मात्रै उठेको छ।

व्यक्तिलाई लाग्ने पुँजीगत लाभकर भने ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बढेको छ। अर्थको तथ्यांकअनुसार यसपालि कात्तिकसम्म ११ अर्ब ४ करोड पुँजीगत लाभकर उठेको छ। पोहोर यही अवधिमा ७ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ उठेको थियो।

घर, जग्गा, सेयर आदि सम्पत्तिको बिक्री वा व्यक्ति तथा एकलौटी फर्मलाई हुने लाभमा पुँजीगत लाभकर लाग्ने गरेको छ। पुँजीगत लाभकर बढ्नुको अर्थ यस्ता क्षेत्रको कारोबार बढ्न थालेको रुपमा हेरिएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संघका पूर्वअध्यक्ष सीए अरुण राउतले घरजग्गा र सेयर कारोबारले पुँजीगत लाभकर बढाउन र समग्र व्यक्तिगत आयकर बढाउन भूमिका खेलेको बताए। ‘आयकरको सीमामा गरिएको फेरबदलले पारिश्रमिक कर घटायो। तर समग्र व्यक्तिगत आयकर बढ्नुको अर्थ घरजग्गा र सेयर किनबेच वा कारोबार संख्या बढेको हुनुपर्छ,’ उनले भने।

संस्था र व्यक्ति दुवैमा लाग्ने आयकर घट्यो

व्यक्ति र संस्था दुवैलाई लाग्ने आयकर चाहिँ चालु वर्षको कात्तिकसम्म ८ करोडले कमी आएको छ। यो साउन-कात्तिकमा १४ अर्ब ९० करोड ८२ लाख संकलन भएको यस्तो आयकर गत वर्ष सोही अवधिमा १४ अर्ब ९८ करोड ४ लाख रुपैयाँ उठेको थियो।

निक्षेप वा लगानीको ब्याज आम्दानीमा लाग्ने ब्याज कर चालु आवको चार महिनामा ८२ करोड १७ लाख रुपैयाँ घटेको छ। अर्थ मन्त्रालयको तथ्यांक अनुसार साउन-कात्तिकमा ११ अर्ब ९ लाख ब्याज कर संकलन भएको छ। जबकि गत वर्ष पहिलो चार महिनामा ११ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ संकलन भएको थियो।

निक्षेपको ब्याजदरमा निरन्तर भइरहेको गिरावट र बचतपत्र वा अन्य ब्याज दिने वित्तीय उपकरणबाट प्राप्त हुने ब्याजमा आएको कमीले यसमा भूमिका खेलेको सीए राउतले बताए। ‘ब्याजदर लगातार घट्दो छ। जसको प्रभाव लगानीबाट पाइने ब्याज र निक्षेपबाट पाइने ब्याज दुवैमा गिरावट देखिन्छ,’ उनले भने।

लगानीसम्बन्धी अन्य आयमा लाग्ने कर पनि घटेको अर्थ मन्त्रालयको तथ्यांक छ। यस शीर्षकबाट संकलन हुने आयकर पोहोर चार महिनाको तुलनामा यसपालि २० करोड ३४ लाख रुपैयाँ घटेको छ।

पोहोर चार महिनामा लगानीसम्बन्धी अन्य आयमा लाग्ने कर २७ करोड २९ लाख संकलन भएकामा यसपालि ६ करोड ९४ लाख ६८ हजार मात्रै उठेको छ।

अर्थ मन्त्रालयका अनुसार ब्याज, लाभांशजस्ता छुट्टै राजस्व शीर्षकमा नपर्ने तर लगानीबाट प्राप्त हुने अन्य विविध आम्दानीमा लाग्ने आयकर वा अग्रिम करलाई अन्यमा राखेर उठाउने गरिएको छ। म्युचुअल फन्ड, बीमा, अवकाश कोषजस्ता क्षेत्रबाट प्राप्त हुने लाभमा सरकारले यस्तो कर लगाउने गरेको हो।

सम्पत्ति, बहाल वा लिजमा लाग्ने कर भने ११ करोड ६५ लाख रुपैयाँ बढेको छ। गत आवको पहिलो चार महिनामा ६२ करोड ६५ लाख संकलन भएको सम्पत्ति कर यसपालि ७४ करोड २९ लाख रुपैयाँ उठेको छ।

लाभांशमा लाग्ने कर संकलन पनि बढेको मन्त्रालयले जनाएको छ। तथ्यांक अनुसार गत वर्ष साउन-कात्तिकमा १ अर्ब ४७ करोड संकलन भएको लाभांश कर यसपालि ७७ करोड ८० लाख रुपैयाँ वृद्धि भएको छ। सेयर वा लगानीको लाभांशमा यो कर लाग्ने गरेको छ।

चालु आवको चार महिनामा समग्र राजस्व संकलन १४.५६ प्रतिशतले बढेको छ। उपभोगको प्रत्यक्ष प्रभाव पर्ने मूल्य अभिवृद्धि कर (भ्याट) २५ प्रतिशतले बढेको छ। सरकारी अधिकारीहरू आयकर घटाएर उपभोग बढाउने सरकारी नीतिभन्दा करदाता प्रोत्साहन र मूल्यवृद्धिले समग्र राजस्व बढाएको बताउँछन्।

‘पुसको तथ्यांक आएपछि वास्तविक चित्र देखिएला तर अहिले समग्र राजस्व र भ्याट वृद्धिमा सरकारले ल्याएको चिठ्ठा र मूल्यवृद्धिले भूमिका खेलेको हो कि जस्तो लाग्छ,’ अर्थका एक उच्च अधिकारीले भने।