चारआलीमा १८ हजार ९०० केएल इन्धन भण्डारण गृह बन्ने, सिलिगुडी-झापा पाइपलाइन शिलान्यास

बिजमाण्डू
२०८३ मंसिर ७ गते १४:५८ | Nov 23, 2026
चारआलीमा १८ हजार ९०० केएल इन्धन भण्डारण गृह बन्ने, सिलिगुडी-झापा पाइपलाइन शिलान्यास

काठमाडौं। भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ ल्याउन निर्माण गरिने पाइपलाइन तथा झापामा पेट्रोलियम भण्डारण गृहसहितको ग्रिनफिल्ड टर्मिनल परियोजनाको निर्माण अघि बढ्ने भएको छ।

GBIME
Tata

भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा परियोजनाको संयुक्त शिलान्यास गरिएको हो।

नेपाल-भारत द्विपक्षीय समझदारीअनुसार अघि बढाइएको यो परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको ढुवानी लागत घट्नुका साथै कोशी र मधेस प्रदेशमा इन्धन आपूर्ति सहज हुनेछ। परियोजनाअन्तर्गत सिलिगुडीदेखि चारआलीसम्म करिब ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ।

उक्त पाइपलाइन भारतीय भूभागमा ३६ किमि र नेपाली भूभागमा १४ किमि रहनेछ। पाइपलाइन ८ इन्च व्यासको हुनेछ।

त्यस्तै, चारआलीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि १८ हजार ९०० किलो लिटर क्षमताको स्वचालित प्रणालीमा आधारित ग्रिनफिल्ड टर्मिनल निर्माण गरिनेछ। यसमा ३ वटा २ हजार किलोलिटर क्षमताका डिजेल भण्डारण ट्यांक र ३ वटा १ हजार किलोलिटर क्षमताका मट्टितेल भण्डारण ट्यांक रहनेछन्।

नेपाल आयल निगमको स्वामित्वमा रहेको चारआलीस्थित २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा टर्मिनल निर्माण हुनेछ। परियोजनाको कुल अनुमानित लागत ११ अर्ब १४ करोड रुपैयाँ छ। त्यसमध्ये पाइपलाइन निर्माणमा करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रिनफिल्ड टर्मिनल निर्माणमा करिब ६ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुनेछ। निर्माणका लागि भारत सरकार र इन्डियन आयल कर्पोरेसनलाई धन्यवाद दिँदै नेपाल आयल निगमले परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण सुधार आउने जनाएको छ।

परियोजना सम्पन्न भएपछि कोशी प्रदेशसहित मधेस प्रदेशका सप्तरी र सिरहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ। हाल ट्यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा लाग्ने समय र लागत घट्नेछ। सडकमा इन्धन ट्यांकरको चाप कम हुने, दुर्घटनाको जोखिम घट्ने, प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तथा आपत्कालीन अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न थप सहज हुने निगमको भनाइ छ।

परियोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, रुट सर्वेक्षण तथा टर्मिनलको डिजाइन र नक्सांकनको काम भइसकेको छ। दुवै देशका सम्बन्धित निकायबीच आवश्यक प्राविधिक कार्यविधि र कार्यतालिका निर्धारण गरिएको छ। आवश्यक उपकरण तथा सामग्री खरिद प्रक्रिया पनि अघि बढिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन, जग्गा विकास र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया पनि अगाडि बढाइएको निगमले जनाएको छ।

परियोजना करिब ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर इन्डियन आयल कर्पोरेसनले करिब ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ। यसका लागि सडक विभाग, विद्युत् प्राधिकरण, स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाबाट आवश्यक सहयोग र स्वीकृति समयमै प्राप्त हुनुपर्नेछ।

नेपाल आयल निगमका अनुसार परियोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रूपमा अघि बढाउन तथा निर्माण कार्यका लागि आवश्यक सरकारी स्वीकृति र सहजीकरण समयमै उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

यसअघि नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको छ। सिलिगुडी–झापा पाइपलाइन निर्माणले पूर्वी नेपालमा पेट्रोलियम आपूर्तिको अर्को पूर्वाधार तयार गर्नेछ। यसले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको ढुवानी प्रणालीलाई थप व्यवस्थित बनाउनुका साथै पूर्वी नेपालमा भण्डारण क्षमतासमेत विस्तार गर्नेछ।