१० खेलाडीमा सीमित युनाइटेड लिभरपुलसँग फराजित, पोचेटिनोको बिर्सनलायक डेब्यु

बिजमाण्डू
२०८३ मंसिर ७ गते ०५:१७ | Nov 23, 2026
१० खेलाडीमा सीमित युनाइटेड लिभरपुलसँग फराजित, पोचेटिनोको बिर्सनलायक डेब्यु
लिभरपुलको सेलेब्रेसन। (Photo by Paul ELLIS / AFP via Getty Images)

काठमाडौं। म्यानेचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो।

GBIME
Tata

लिभरपुलको घरेलु मैदान एनफिल्डमा १० खेलाडीमा सीमित युनाइटेडमाथि लिभरपुलले एकपक्षीय जित निकाल्दा युनाइटेडको खराव यात्राले अझै निरन्तरता पाएको छ।

म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि पहिलो खेल नै निराशाजनक बन्यो। खेलको आठौं मिनेटमै डिफेन्डर लेनी योरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।

लिभरपुलका स्ट्राइकर अलेक्जेन्डर इसाक गोल गर्ने अवसरमा अगाडि बढिरहेका बेला योरोले उनलाई फल गरेका थिए। रेफ्रीले गोल गर्ने स्पष्ट अवसर रोकेको ठहर गर्दै योरोलाई सिधै रातो कार्ड देखाए।

त्यसको फाइदा लिभरपुलले तत्कालै उठायो। १०औं मिनेटमा डोमिनिक सोबोस्लाईले फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

१३औं मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। रियो एन्गुमोहाको क्रसमा विर्ट्जले उत्कृष्ट भलीमार्फत बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ६६औं मिनेटमा रियो एन्गुमोहाले गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाए। ब्राड्ली बारकोलाको उत्कृष्ट मुभपछि प्राप्त पासलाई उनले सहजै गोलमा परिणत गरे।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका भिक्टर मुनोजले ८२औं मिनेटमा चौथो गोल थपे। फ्लोरियन विर्ट्जको उत्कृष्ट पासमा उनले गोल गरेका थिए।

खेलमा लिभरपुलले गोलका थप अवसर सिर्जना गरेको थियो। तर युनाइटेडका गोलकिपर सेन लम्मेन्सले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर थप फराकिलो हुनबाट रोके।

यस हारसँगै प्रिमियर लिगमा युनाइटेडको खराब प्रदर्शनले निरन्तरता पाएको छ। ११ खेलबाट ८ अंक जोडेको युनाइटेड १९औं स्थानमा छ। टोलीले पछिल्ला नौ लिग खेलमा जित निकाल्न सकेको छैन।

अर्कोतर्फ जितपछि लिभरपुल २१ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सनलभन्दा लिभरपुल सात अंकले पछाडि छ।