काठमाडौं। नेपाल-चीन व्यापारमा संलग्न व्यवसायीहरुको संस्था चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कुल निक्षेप ७५ करोड रुपैयाँ नाघेको छ। संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा संस्थाको सेयर पुँजी करिब ८ करोड र कर्जा लगानी ३९ करोड रुपैयाँ पुगेको छ।
काठमाडौंको खिचापोखरीमा मुख्य कार्यालय रहेको संस्थाको काठमाडौंको बबरमहलमा शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। सभाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
संस्थामा हाल १ हजार ९७५ जना सेयर सदस्य छन्। २९ जना संस्थापक सदस्यबाट सुरु भएको सहकारीले आफ्नै आधुनिक भवनबाट सदस्यलाई वित्तीय सेवा दिँदै आएको जनाएको छ। संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको छ। प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामकीय निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिएको संस्थाले जनाएको छ।
साधारण सभाले निष्क्रिय सदस्य तथा भाखा नाघेको ऋण व्यवस्थापन, संस्थाको नाममा रहेको सम्पत्ति र गैरबैंकिङ सम्पत्ति बिक्री, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययन गर्नेलगायत प्रस्ताव पनि पारित गरेको छ।
संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, प्रोस्टेट क्यान्सर परीक्षण, पदयात्रा, सहभोज तथा मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साना तथा मझौला व्यवसायी सदस्यको व्यावसायिक क्षमता अभिवृद्धिका लागि ‘चिटकोल डिजिटल क्याटालिस्ट’ नामक डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरेको छ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि संस्थाले सदस्य संख्या, सेयर पुँजी र बचतमा वृद्धि गर्दै नियामकीय अनुशासन कायम राख्नु सकारात्मक भएको बताए। उनले संस्थाले सदस्यको विश्वास जित्न सफल भएको उल्लेख गर्दै यसको अभ्यास अन्य सहकारीका लागि पनि अनुकरणीय रहेको धारणा राखे।
काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले संस्थाले न्यूरोड क्षेत्रमा स्थानीय विकास, उद्यमशीलता प्रवर्द्धन र समृद्धिमा साझेदारी गरिरहेको बताए। कार्यक्रममा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले सफल सहकारी निर्माणमा सदस्यको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्वमा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले आगामी दिनमा डिजिटल सेवा विस्तार र सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।










