काठमाडौं। चालु आर्थिक वर्ष ४ महिनामा साढे १९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।
साउनदेखि कात्तिकसम्म विभिन्न क्षेत्रका ४९७ वटा परियोजनामा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो।
उद्योग विभागका अनुसार साना ४९१, मध्यम २ र ठूला ४ वटा परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। ती परियोजनामा ६ हजार २०१ जनाले रोजगारी पाउने छन्।
कात्तिकमा महिनामा मात्रै ८५ वटा परियोजनाका लागि ३ अर्ब ४२ करोड ४३ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। ती परियोजनामध्ये ८४ वटा साना र एउटा ठूला हुन्।
विभागका अनुसार सूचना प्रविधि क्षेत्रका २७२ वटा परियोजनामा ९७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
यस्तै पर्यटनमूलक क्षेत्रका १४६ परियोजनामा ८ अर्ब ६६ करोड ७८ लाख, सेवामूलक क्षेत्रका परियोजनामा ३ अर्ब ९५ करोड २९ लाख, ऊर्जामूलक क्षेत्रका ३ परियोजनामा ४ अर्ब ५ करोड, कृषि क्षेत्रमा १५ करोड र उत्पादनमूलक क्षेत्रका २९ परियोजनामा १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
विभागले चार महिनामा रोल्यटीबापत ९१ करोड ६६ लाख रुपैयाँ फिर्ता लैजान स्वीकृति दिएको छ।









