काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।
लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि लाभांश वितरण गरेको थिएन। पछिल्लो पटक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद वितरण गरेको थियो।









