ट्रम्प, पुटिन र सी चिनफिङबीच ८१ मिनेट छलफल : युद्धबारे मौन, निशानामा आईसीसी

बिजमाण्डू
२०८३ मंसिर ४ गते ०८:०१ | Nov 20, 2026
ट्रम्प, पुटिन र सी चिनफिङबीच ८१ मिनेट छलफल : युद्धबारे मौन, निशानामा आईसीसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता सम्पन्न भएको छ।

GBIME
Tata

एपेक सम्मेलनको साइडलाइनमा तीन नेताबीच पहिलोपटक वार्ता भएको हो। उनीहरुबीच करिब ८१ मिनेट छलफल भएको थियो।

बैठकपछि तीनै देशले चार बुँदे संयुक्त घोषणापत्र जारी गरेका छन्। वार्तामा नेताहरूले जटिल बन्दै गएको विश्व परिस्थितिलाई सम्हाल्न आआफ्नो साझा जिम्मेवारी रहेको बताएका छन्।

बैठकमा युक्रेन युद्ध, इरान द्वन्द्व, आणविक हतियार नियन्त्रण र एआई जस्ता विषयमा छलफल भएको थियो। तर, संयुक्त घोषणापत्रमा युक्रेन र इरान युद्धबारे उल्लेख गरिएको छैन।

तीन पक्षबीच संयुक्त राष्ट्रसंघको सुधारबारे सहमति भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यका हैसियतले विश्वव्यापी चुनौतीहरूको प्रभावकारी सामना गर्न राष्ट्रसंघमा आवश्यक सुधार गर्न प्रतिबद्धता व्यक्त भएको छ।

त्यस्तै, विश्वभरका राष्ट्रहरूको हित र स्थिर ऊर्जा प्रवाह सुनिश्चित गर्न प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजना बनाउने भनिएको छ।

राज्यको सहमति र सरकारी अधिकारीहरूको उन्मुक्तिको सम्मानलाई सर्वोपरि मान्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) जस्ता निकायले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्न नहुनेमा सहमति गरिएको छ।

साथै, आणविक युद्ध कसैले जित्न नसक्ने र कहिल्यै लड्न नहुनेमा पुनः प्रतिबद्धता जनाइएको छ। छलफलमा आणविक जोखिम घटाउन संवाद अघि बढाउने निर्णय भएको छ।

युक्रेन युद्धको ५ वर्षपछि विश्व मञ्चमा फर्किएका पुटिनका लागि यो भेट र आईसीसीसम्बन्धी बुँदा ठूलो कूटनीतिक उपलब्धि मानिएको छ। आईसीसीको निर्णयलाई लिएर अमेरिका र चीनले समेत यसअघि आपत्ती जनाउँदै आएको थियो।