काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ।
रिसोर्टमा विदेशी नागरिकहरुको शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
मंगलबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गरेको थियो।
त्यसक्रममा क्रममा ३१ जना पुरुष र ५ जना महिला गरि ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो। उनीहरु सबैलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको छ।
चेकजाँचका क्रममा रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
चिनियाँ नागरिक पक्राउ परेपछि शंकास्पद कारोबारबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट विज्ञ टोली काभ्रे पठाइएको छ। अहिले चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिइएको कोठा ‘शिल’ गरेर राखिएको छ।
घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ।










