काठमाडौं। रुप्से होलिडेजले नेपाल र भियतनामबीच दुईतर्फी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मंसिर २३ र २७ गते काठमाडौं-दानाङ सिधा चार्टर्ड उडान गर्ने भएको छ।
नेपाली पर्यटकलाई भियतनामको दानाङ लैजाने तथा भियतनामी पर्यटकलाई नेपाल ल्याउने गरी उडान र भ्रमणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
दुवै देशका यात्रुले ट्रान्जिटको झन्झटबिना सिधा यात्रा गर्ने अवसर पाउनेछन्।
नेपाली पर्यटकले दानाङका समुद्री तट, बाना हिल्सको प्रसिद्ध गोल्डेन ब्रिज तथा ऐतिहासिक होई आनलगायतको आकर्षण अनुभव गर्न सक्नेछन्। त्यस्तै, भियतनामी पर्यटकलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यसँग परिचित गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
रूप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत रमेश पराजुलीले नेपाली पर्यटकलाई भियतनाम घुमाउनुका साथै भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले सिधा चार्टर्ड उडान गर्न लागेको बताए।










