काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा थप नीतिगत सुधार गर्ने घोषणा गरेका छन्। उनले भन्सारदेखि अन्तःशुल्कसम्मका क्षेत्रमा बोल्ड नीतिगत परिवर्तन गर्ने तयारी भइरहेको जानकारी दिँदै ‘कर सुधारको २.०’ ल्याउने बताएका छन्।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित समारोहमा बोल्दै अर्थमन्त्री वाग्लेले चालु वर्ष करका दर र दायरामा ऐतिहासिक सुधार गरिएको र आगामी वर्ष त्यसलाई थप निरन्तरता दिइने बताए।
‘यो वर्ष बजेट बनाउँदा पर्याप्त समय पाइएन। आगामी वर्षको बजेटमा भन्सारदेखि अन्तःशुल्कसम्म सबै क्षेत्रमा थप सुधारका बोल्ड नीति लिइनेछ। कर सुधारको २.० आउनेछ,’ उनले भने।
उनका अनुसार कर प्रणालीलाई सुशासनयुक्त र करदातामैत्री बनाउने प्रक्रिया निरन्तर अघि बढाइनेछ। कर विवादको निरुपण तथा कर अनुपालन बढाउन सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले विवाद समाधानका लागि विशेष अवसरसमेत उपलब्ध गराइएको बताए।
कर विवाद समाधानका लागि १ प्रतिशत मात्रै रकम तिरेर विवादमुक्त हुन सकिने व्यवस्था रहेको उल्लेख गर्दै उनले पुस मसान्तसम्म त्यसको लाभ लिन व्यवसायीलाई आग्रह गरे। ‘कर न्याय र इमान्दारिताका विषयमा सरकार प्रष्ट छ। व्यवसायीहरूले यो अवसरको फाइदा उठाउनुहोस्,’ उनले भने।
सरकारले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए। राजस्व लक्ष्य पूरा गर्न कर प्रशासनलाई प्रभावकारी बनाउनुका साथै करदातालाई स्वेच्छिक कर अनुपालनका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले अहिले मुलुकमा लगानीका लागि अनुकूल वातावरण बनेको दाबी गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गरे। उनका अनुसार करका दर घटाइएको छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा छ र स्थिर सरकार पनि छ।

‘लगानीको माहोल बनेको छ। कर घटेको छ, बैंकमा प्रशस्त पैसा छ, विदेशी विनिमय सञ्चिति पर्याप्त छ। स्थिर सरकार छ। यस्तो अनुकूल अवस्था बिरलै पाइन्छ,’ उनले भने, ‘सरकारले सबै अवस्था सहज बनाउँदा पनि निजी क्षेत्र किन डराइरहेको छ?’
निजी क्षेत्रको लगानी विस्तारमा देखिएको संकोचप्रति प्रश्न उठाउँदै उनले अब व्यवसायीको व्यावसायिक आचरण र जिम्मेवारीमाथि पनि प्रश्न गर्नुपर्ने अवस्था आएको बताए। ‘अब निजी क्षेत्रको क्यारेक्टरमा पनि प्रश्न गर्नुपर्ने अवस्था आएको हो कि!’ उनले भने।
सरकारले इमान्दार र मिहिनेती व्यवसायीलाई कुनै दुःख नदिने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले आर्थिक विकासका लागि सरकार, कर प्रशासन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
‘इमान्दार, मिहिनेती व्यवसायीलाई सरकारले कुनै दुःख दिँदैन। कर प्रशासन, निजी क्षेत्र र सरकार सबै सँगसँगै नहिँड्ने हो भने आर्थिक वृद्धि हासिल गर्न सकिँदैन,’ उनले भने।









