उत्पादन थालेको सात वर्षमै बन्द हुँदै टेस्ला साइबरट्रक, बिक्री घटेपछि मस्कको ध्यान रोबोट्याक्सीतर्फ

बिजमाण्डू
२०८३ कात्तिक २१ गते १३:०४ | Nov 7, 2026
उत्पादन थालेको सात वर्षमै बन्द हुँदै टेस्ला साइबरट्रक, बिक्री घटेपछि मस्कको ध्यान रोबोट्याक्सीतर्फ


न्युयोर्क। विज्ञानकथाका फिल्ममा देखिने युद्धक ट्यांकजस्तो बनावट, चम्किलो स्टिलको बाहिरी आवरण र परम्परागत पिकअप ट्रकभन्दा बिल्कुलै फरक डिजाइनका कारण विश्वभर चर्चा कमाएको टेस्लाको साइबरट्रक अब बजारबाट बाहिरिने भएको छ। अमेरिकी विद्युतीय सवारी उत्पादक टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने निर्णय गरेको छ।

GBIME
Tata

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत साइबरट्रकको उत्पादन सन् २०२७ को मध्यतिर क्रमशः बन्द गरिने जानकारी दिएका हुन्। टेक्सासको अस्टिननजिकै रहेको कम्पनीको कारखानामा साइबरट्रक उत्पादन हुँदै आएको छ। यसको उत्पादन बन्द गरेर कम्पनीले स्वचालित ट्याक्सी (रोबोट्याक्सी) साइबरक्याबको उत्पादन बढाउने योजना बनाएको मस्कले बताएका छन्।

टेस्लाको भविष्य स्वचालित सवारी प्रविधिमा केन्द्रित गर्ने मस्कको रणनीतिले साइबरट्रकको उत्पादन अन्त्य गर्ने निर्णयलाई पनि प्रभावित गरेको देखिन्छ। कुनै समय मस्कले साइबरट्रकलाई आफ्नो कम्पनीको सबैभन्दा उत्कृष्ट उत्पादन भन्दै यसको वार्षिक उत्पादन क्षमता २ लाख ५० हजार युनिट पुर्‍याउने लक्ष्य सार्वजनिक गरेका थिए। तर बजारमा अपेक्षित माग सिर्जना हुन नसकेपछि कम्पनीले उत्पादन बन्द गर्ने निर्णय गरेको हो।

केली ब्लु बुकको अनुमानअनुसार टेस्लाले सन् २०२५ मा २० हजार २३७ युनिट साइबरट्रक बिक्री गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशत कम हो। सन् २०२६ को सेप्टेम्बरसम्मको बिक्री पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत घटेको छ। बिक्री निरन्तर ओरालो लागेपछि ठूलो उत्पादन क्षमताको लक्ष्य पूरा गर्न कम्पनीलाई कठिन भएको देखिन्छ।

साइबरट्रकको उत्पादन बन्द गर्ने निर्णयसँगै टेस्लाको एउटा महत्वाकांक्षी परियोजनाको अन्त्य हुँदैछ। सन् २०१९ मा सार्वजनिक गरिएको यो विद्युतीय पिकअप ट्रक आफ्नो असामान्य डिजाइनका कारण सुरुदेखि नै चर्चामा थियो। परम्परागत गाडीको डिजाइनभन्दा फरक त्रिकोणीय संरचना, स्टेनलेस स्टिलको बाहिरी भाग र भविष्यको युद्धक सवारीजस्तो स्वरूपले यसलाई अटोमोबाइल बजारमा अलग पहिचान दिएको थियो।

गाडी सार्वजनिक गर्दा टेस्लाका डिजाइनरले यसको सिसा नफुट्ने प्रमाणित गर्न धातुको बल प्रहार गरेका थिए। तर बल लागेपछि सिसा फुटेपछि उक्त प्रदर्शन उल्टै कम्पनीका लागि चर्चाको विषय बनेको थियो। त्यसका बाबजुद मस्कले साइबरट्रकको डिजाइन र क्षमताको बचाउ गर्दै आएका थिए। उनले यसलाई पोर्शे ९११ भन्दा राम्रो स्पोर्ट्स कार र फोर्ड एफ–१५० भन्दा राम्रो पिकअप ट्रकका रूपमा समेत प्रस्तुत गरेका थिए।

मस्कले साइबरट्रकलाई ४० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बजारमा ल्याउने संकेत गरेका थिए। तर पहिलोपटक बिक्रीमा आउँदा यसको मूल्य प्रतिबद्धताभन्दा दोब्बर वा त्योभन्दा बढी पुगेको थियो। मूल्य अपेक्षाभन्दा निकै महँगो भएपछि सुरुवाती बुकिङ गरेका कतिपय ग्राहकले समेत खरिद गरेनन्।

साइबरट्रकको बिक्री घट्नुमा मूल्य र डिजाइन मात्रै कारण थिएनन्। मस्कको राजनीतिक गतिविधि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत दक्षिणपन्थी राजनीतिक व्यक्तित्वसँगको निकटताले पनि टेस्लाको ग्राहक आधारमा असर पारेको विश्लेषण गरिएको छ। मस्कको राजनीतिक छविप्रति असन्तुष्ट बनेका कतिपय टेस्ला ग्राहकले आफ्ना गाडी बिक्री गर्न थालेका थिए। कम्पनीका शोरुमबाहिर प्रदर्शनसमेत भएका थिए। त्यसको असर साइबरट्रकका ग्राहकमा पनि परेको थियो।

टेस्लाका पूर्वकार्यकारी स्पेन्सर पेनका अनुसार साइबरट्रक विवादास्पद व्यक्तिले विवादास्पद बजारमा ल्याएको असामान्य उत्पादन थियो। उनका अनुसार यसले विद्युतीय पिकअप ट्रकको बजारमा माग सिर्जना गर्ने प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेन।

यद्यपि साइबरट्रकले अटोमोबाइल उद्योगमा नयाँ डिजाइन र प्रविधिको प्रयोगबारे बहस सिर्जना गरेको छ। यसको अन्त्यलाई टेस्लाको असफल उत्पादनका रूपमा मात्रै नभई कम्पनीको प्राथमिकता फेरिएको संकेतका रूपमा पनि हेरिएको छ। विद्युतीय गाडी उत्पादनबाट स्वचालित सवारी प्रविधि र रोबोट्याक्सीतर्फ मस्कले लगानी तथा उत्पादन केन्द्रित गर्न थालेका छन्।

टेस्लाको यो निर्णयले एउटा प्रश्न पनि उठाएको छ, अटो उद्योगमा नयाँ प्रविधि र आकर्षक डिजाइन मात्रै पर्याप्त हुन्छ कि त्यसलाई टिकाइराख्न प्रतिस्पर्धी मूल्य, ग्राहकको विश्वास र बजारको वास्तविक माग पनि उत्तिकै आवश्यक हुन्छ? (एपी)