काठमाडौं। ठेक्का सम्झौताका सर्तअनुसार काम नगर्दा २० वटा निर्माण कम्पनी एवम् आपूर्तिकर्ता फर्मलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयको शुक्रबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि दुई वर्षसम्मको लागि कालोसूचीमा राखिएको हो।
सामाजिक विकास कार्यालय धुलिखेलको सिफारिसमा कागेश्वरी मनोहराको बुदे पोखरी कन्स्ट्रक्सन प्रालि १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ। त्यसैगरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधामको सिफारिसमा हिमांशु/लोकस देव जेभी (काठमाडौं), ब्रदर्स कन्स्ट्रक्सन (जलेश्वर, महोत्तरी), आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि (धनगढी, कैलाली) लाई पनि १ वर्ष ६ महिनाका लागि कार्बाही गरिएको छ।
जय निर्माण सेवा (जलेश्वर, महोत्तरी), सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि (सामाखुसी, काठमाडौं), सुरेखा निर्माण सेवा (धबौली, धनुषा) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। सोही आयोजनाको सिफारिसमा शिवम कन्स्ट्रक्सन (जनकपुर), साईबाबा निर्माण सेवा (जनकपुर) र शिवमहिमा कन्स्ट्रक्सन (हलखोरी, महोत्तरी) लाई एक/एक वर्षको लागि कालोसूचीमा राखिएको छ।
यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेको सिफारिसमा इन्द्र कन्स्ट्रक्सन एण्ड सप्लायर्स (ईश्वरपुर, सर्लाही), बेलबारी नगरपालिकाको सिफारिसमा बस्नेत निर्माण सेवा (दुहबी, सुनसरी), भागेश्वर गाउँपालिकाको सिफारिसमा माया कन्स्ट्रक्सन (अमरगढी, डडेल्धुरा), ताँजाकोट गाउँपालिकाको सिफारिसमा लगनशील निर्माण सेवा (अदानचुली, हुम्ला), महाभारत गाउँपालिकाको सिफारिसमा सिर्जना कन्स्ट्रक्सन (नमोबुद्ध, काभ्रेपलाञ्चोक) र तिलागुफा नगरपालिकाको सिफारिसमा मालिका बिल्डर्स (वीरेन्द्रनगर, सुर्खेत) लाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसै गरी सुन्दरहरैँचा नगरपालिकाको सिफारिसमा अम्बर निर्माण सेवा (म्याङ्लुङ, तेह्रथुम) र सडक डिभिजन सुर्खेतको सिफारिसमा जनता बिल्डर्स (भेरीगंगा, सुर्खेत) लाई २/२ वर्षका लागि कालोसूचीमा राखिएको छ। शिवराज नगरपालिकाको सिफारिसमा जय निर्माण सेवा (कपिलवस्तु) र म्यागङ गाउँपालिकाको सिफारिसमा आश्रीया कन्स्ट्रक्सन (सूर्यविनायक, भक्तपुर) लाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउदैनन्।









