तिहारको मिठास बेचेर आत्मनिर्भर निर्मला, चार हजार लगानीबाट सुरु उद्यम १० हजार घरपरिवारसम्म

टुना भट्ट
२०८३ कात्तिक २० गते ०९:३० | Nov 6, 2026
तिहारको मिठास बेचेर आत्मनिर्भर निर्मला, चार हजार लगानीबाट सुरु उद्यम १० हजार घरपरिवारसम्म


काठमाडौं। तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, देउसी-भैलो, फूलमाला र सेलरोटीको सम्झना आउँछ। घरघरमा पाक्ने सेलरोटीको बास्नाले चाडपर्वको रौनक नै थप्छ। तर बदलिँदो जीवनशैली र व्यस्तताका कारण पछिल्लो समय घरमै परम्परागत परिकार बनाउने चलन घट्दै गएको छ। बजारमा तयारी खानेकुराको माग बढिरहेका बेला ६४ वर्षीया निर्मला कार्की भने नेपाली भान्साको पुरानो स्वाद जोगाउने अभियानमा छिन्।

GBIME
Tata

चार वर्षअघि जम्मा चार हजार रुपैयाँबाट सुरु गरेको उनको ‘निर्मलाज् किचेन’ अहिले सेलरोटी, अर्सा, अनरसा, फिनी रोटीलगायत नेपाली परम्परागत परिकार खोज्ने ग्राहकको रोजाइ बन्दै गएको छ। उनका लागि यो व्यवसाय खानेकुरा बनाएर बेच्ने माध्यम मात्र होइन, बाल्यकालमा सिकेको सीपलाई व्यावसायिक पहिचान दिने र नेपाली खानपानको मौलिक स्वाद नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास पनि हो।

भोजपुरको कुलुङमा जन्मिएकी निर्मलाको बाल्यकाल गाउँघरकै परिवेशमा बित्यो। परिवार भोजपुरबाट विराटनगर बसाइ सरेपछि उनले त्यहीँ स्नातक तहसम्म अध्ययन गरिन्। चाडपर्व आउँदा घरमा आमा र हजुरआमाहरू मिलेर विभिन्न परिकार बनाउँथे। उनी पनि भान्सामा सघाउन पुग्थिन्। कहिले रहरले त कहिले अग्रजहरूले सिनेमा हेर्ने पैसा दिने लोभ देखाएर उनलाई काममा लगाउँथे। त्यही क्रममा उनले सेलरोटी, अर्सालगायत परम्परागत परिकार बनाउन सिकिन्।

‘आमा र हजुरआमाहरू मिलेर पकाएको देखेर मलाई पनि सिक्न मन लाग्थ्यो। दसैं–तिहारमा सबैजना मिलेर पकाउने चलन थियो। त्यही क्रममा धेरै कुरा सिकियो,’ निर्मला बाल्यकाल सम्झिन्छिन्।

स्नातक पढ्दै गर्दा काठमाडौंमा विवाह भएपछि उनको जीवन परिवार र छोराछोरीको जिम्मेवारीमा केन्द्रित भयो। दुई छोराको लालनपालन र घरव्यवहारमै समय बित्यो। आफूले जानेको पाककलालाई व्यवसायमा रूपान्तरण गर्ने चाहना भए पनि अवसर मिलेको थिएन। छोराछोरी आफ्नै व्यवहारमा लागेपछि नातिनातिनासँग समय बिताउन थालेकी उनी कोभिड महामारीका क्रममा श्रीमान्को निधन भएपछि एक्लोपन महसुस गर्न थालिन्। त्यही समय आफूलाई व्यस्त राख्ने र लामो समयदेखिको इच्छा पूरा गर्ने माध्यमका रूपमा सानो व्यवसाय सुरु गर्ने सोच बनाइन्।

चार वर्षअघि आफन्तकहाँ सुत्केरी भेट्न जाँदा उनले सुत्केरी मसला बनाएर लगिन्। त्यसको स्वाद मन पराएपछि अरूले पनि माग गर्न थाले। त्यसपछि सुत्केरी मसला, गुँदको लड्डु र अर्सा बनाउन थालिन्। आफन्त र चिनजानका मानिसबाट अर्डर आउन थालेपछि चार हजार रुपैयाँको लगानीमा व्यावसायिक यात्रा सुरु भयो।

‘मैले धेरै अगाडिदेखि केही गर्न चाहेको थिएँ। तर सबै कुरा मिल्नुपर्छ नि, त्यस्तै चार वर्षअघि मौका जुर्‍यो र सुरु गरेँ,’ उनी भन्छिन्, ‘सुरुमा सुत्केरी मसला, गुँदको लड्डु र अर्सा बनाउँथेँ। पछि सबैले सेलरोटीको माग गर्न थाल्नुभयो। त्यसपछि सेलसँगै मस्यौरा, गुजिया, फिनीलगायत बनाउन थालेँ।’

निर्मलाले कुनै औपचारिक तालिम लिएर यो व्यवसाय सुरु गरेकी होइनन्। परिवारका अग्रजबाट सिकेको सीप र पारिवारिक रेसिपीलाई आफ्नै अभ्यासबाट निखार्दै व्यवसाय अघि बढाइन्। सुरुमा सबै काम आफैं गर्थिन्। पछि सहयोग गर्न आउने महिलाहरूलाई पनि परिकार बनाउन सिकाउन थालिन्।

अहिले निर्मलाज् किचेनमा सेलरोटी, अर्सा, अनरसा, गुजिया, निम्की, फिनी रोटी, गुँदको लड्डु, मेथीको लड्डु, खजुरी, मस्यौरा र तितौरालगायत परिकार तयार हुन्छन्। अफ सिजनमा मस्यौरा, तितौरा र गुन्द्रुकजस्ता घरेलु उत्पादन पनि बनाइन्छन्। सेलरोटी, अर्सा र फिनी रोटी उनका सबैभन्दा बढी बिक्री हुने उत्पादन हुन्। दसैं–तिहारमा मात्र होइन, विवाह र व्रतबन्धका लागि पनि ठूला अर्डर आउने गरेका छन्।

चाडपर्वको समयमा माग बढ्दा परिवारका सदस्यदेखि कर्मचारीसम्म उत्पादनमा जुट्छन्। अहिले किचेनमा ६ जना कर्मचारी कार्यरत छन्। डेलिभरीका लागि छुट्टै कर्मचारी राखिएको छ भने विभिन्न डेलिभरी पार्टनरसँग पनि सहकार्य गरिएको छ।

आमाको सीपलाई बजारसँग जोड्दै नयाँ पुस्ता

निर्मलाको पाककलालाई व्यावसायिक रूप दिने सोच परिवारमा पहिलेदेखि नै थियो। करिब १० वर्षअघि नै ‘निर्मलाज् किचेन’ नाममा फेसबुक पेज बनाइएको थियो। तर व्यवसायलाई औपचारिक रूपमा अघि बढाउने अवसर कोभिड महामारीपछि जुर्‍यो। मानिसहरू घरमै सीमित हुँदा अनलाइनबाट किनमेल र खानेकुरा अर्डर गर्ने प्रवृत्ति बढेको थियो। यही अवसरलाई उपयोग गर्दै जेठा छोरा सुशान्त कार्कीले आमाको सीपलाई बजारसँग जोड्न सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको प्रयोग गरे।

जेठा छोरा सुशान्त र कान्छी बुहारी सन्ध्या पनि व्यवसायमा आमासँग जोडिएका छन्। दुवै छोरा पेसाले इन्जिनियर भए पनि पारिवारिक व्यवसायको विस्तारमा उनीहरूले भूमिका निर्वाह गरिरहेका छन्। यसरी पुरानो पुस्ताबाट हस्तान्तरण भएको पाककलामा नयाँ पुस्ताको प्रविधिगत सोच जोडिएको छ।

सुशान्तका अनुसार निर्मलाज् किचेनले अहिलेसम्म करिब १० हजार युनिक ग्राहक अर्थात् घरपरिवारसम्म उत्पादन पुर्‍याइसकेको छ। तीमध्ये करिब ५० प्रतिशत ग्राहक नियमित अर्डर गर्ने छन्। काठमाडौं उपत्यकाबाहेक विराटनगर, वीरगन्ज, नेपालगन्ज र पोखरालगायत विभिन्न स्थानबाट अर्डर आउने गरेको छ। विदेश जाने आफन्तमार्फत उनका परिकार अस्ट्रेलिया, अमेरिका र बेलायतसम्म पनि पुग्ने गरेका छन्। यद्यपि किचेनले प्रत्यक्ष रूपमा विदेशमा उत्पादन आपूर्ति गर्दैन।

बजार विस्तारसँगै गुणस्तर कायम राख्नु निर्मलाका लागि मुख्य चुनौती र प्राथमिकता दुवै बनेको छ। कतिपय ग्राहकले उनका परिकार महँगो भएको गुनासो गर्ने गरेका छन्। तर गुणस्तरीय कच्चा पदार्थ प्रयोग गर्ने र पकाउन प्रयोग भएको तेल तथा घिउ पुनः प्रयोग नगर्ने भएकाले लागत बढी पर्ने उनको भनाइ छ।

‘सबैले तपाईंको सामान महँगो छ भन्नुहुन्छ। तर राम्रो गुणस्तरका सामग्री छानेर प्रयोग गर्दा महँगो पर्न जान्छ। हामी सबै परिकार घिउबाट बनाउँछौं। कसैले तेलमा बनाएको अर्डर गर्नुभयो भने तेलमा बनाउँछौं, तर हामी तेलसमेत पुनः प्रयोग गर्दैनौँ,’ उनी भन्छिन्।

उनका अनुसार परिकार बनाउन प्रयोग हुने घिउ इलामबाट र खुवा पाँचखालबाट ल्याइन्छ। चामल, पिठो र ड्राइफ्रुट्स छनोटमा पनि ध्यान दिइन्छ। गुणस्तरमा सम्झौता नगर्ने नीतिले उत्पादनको मूल्य केही प्रिमियम भए पनि ग्राहकको विश्वास नै व्यवसाय अघि बढाउने आधार बनेको सुशान्त बताउँछन्।

निर्मलाका लागि यो व्यवसाय आम्दानीको स्रोतसँगै आफूले जानेको सीप अरूलाई सिकाउने र परिवारसँग समय बिताउने माध्यम पनि बनेको छ। नेपाली परिकारको मौलिक स्वाद हराउँदै जान नहुने उनको चाहना छ।

‘हामीले आफ्नो घरमा जस्तो खाना खान्छौँ, अरूले पनि त्यस्तै शुद्ध र राम्रो खाना खान पाऊन् भन्ने मेरो चाहना हो। अहिलेका नयाँ पुस्ताले पनि अर्सा, अनरसा र सेलरोटीको स्वाद नबिर्सिऊन्। नेपाली खानेकुरा लोप भएर नजाऊन् भन्ने उद्देश्यले नै यो व्यवसाय सुरु गरेकी हुँ,’ उनी भन्छिन्।

तिहारमा परम्परागत स्वादको उपहार

तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच उपहार आदानप्रदान गर्ने चलनलाई लक्षित गर्दै निर्मलाज् किचेनले परम्परागत नेपाली परिकारका गिफ्ट प्याकेजसमेत तयार पार्न थालेको छ। सेलरोटी, फिनी, लड्डु, अनरसा, खजुरी र गुजियालगायत परिकारलाई सानो आकारमा तयार पारेर ग्राहकको रोजाइअनुसार प्याकेज बनाइन्छ। विदेशमा रहेका नेपालीले नेपालमा आफन्तलाई पठाउने सरप्राइज गिफ्टका रूपमा पनि यस्ता प्याकेजको माग आउन थालेको सुशान्त बताउँछन्।

आफ्नै घरको एउटा तलामा सञ्चालित निर्मलाज् किचेन २०७९ सालमा घरेलु उद्योगका रूपमा दर्ता भएको हो। चार हजार रुपैयाँबाट सुरु भएको व्यवसायले अहिले आधा दर्जनभन्दा बढीलाई रोजगारी दिएको छ। माग बढ्दै गएपछि उत्पादन क्षमता विस्तार गर्ने तयारीसमेत भइरहेको छ। आवश्यक मेसिनरी चीनबाट मगाउने प्रक्रिया अघि बढाइएको छ। आगामी दिनमा व्यवस्थित फ्याक्ट्री स्थापना गरी बजारका रिटेल स्टोरसम्म उत्पादन पुर्‍याउने परिवारको योजना छ।

लामो समय परिवारको जिम्मेवारीमा बिताएकी निर्मला अहिले आफ्नै व्यवसायको नेतृत्व गरिरहेकी छन्। उमेरले नयाँ काम सुरु गर्न नरोक्ने र ठूलो लगानी नै सफलताको आधार नहुने उनको अनुभव छ।

‘सीपअनुसार व्यवसाय गर्न उमेरले छेक्दैन। ठूलो लगानी नै सफलताको आधार होइन। धैर्य गर्नुपर्छ। राम्रोसँग निरन्तर काम गर्‍यो भने अवश्य सफल हुन सकिन्छ,’ उनी भन्छिन्। चार हजार रुपैयाँबाट सुरु भएको आफ्नो उद्यमले अहिले बजारमा आफ्नो पहिचान बनाइरहँदा उनी पुस्तौँदेखि घरभान्सामा सीमित नेपाली मौलिक स्वादको सीप नयाँ पुस्ताले जोगाउनुपर्ने बताउँछिन्।