काठमाडौं । दसैं भन्नासाथ परिवार आफन्तको जमघट, टीकाको रौनक र मासुका परिकारको स्वाद सम्झिन्छौं। दसैंको चहलपहलसँगै घरमा खसी काट्ने, मासु भाग लगाउने, पकाउने र पाहुनाका लागि सञ्चित गरेर राख्ने चलन पनि छ। तर, दसैंभरि स्वादिलो मासुका परिकारको मज्जा लिन मासु किन्ने बेलादेखि पकाउने र भण्डारण गर्नेसम्म सावधानी अपनाउन उत्तिकै जरुरी छ।
किनकि, मासु राख्ने तरिका नमिल्दा चाडपर्वको खुसीसँगै खाद्यजन्य रोगको जोखिम पनि निम्तिन सक्छ। त्यसैले यो दसैंमा मासुको स्वादसँगै परिवारको स्वास्थ्यको ख्याल गर्न होटल पौवाका सेफ बेगबहादुर माझी र नवीन पाण्डेले दिएका छन् मासु सुरक्षित राख्ने १० व्यावहारिक सुझाव।
१. मासु किन्दैदेखि स्वच्छतामा ध्यान दिनुहोस्
मासु सुरक्षित राख्ने प्रक्रिया खरिद गर्ने ठाउँबाटै सुरु हुन्छ। सफा ठाउँमा काटिएको, ताजा र अस्वाभाविक गन्ध नभएको मासु छान्नुपर्छ। मासु काट्ने चक्कु, ठाउँ र भण्डारण गर्ने भाँडा पनि सफा हुनुपर्छ। घर ल्याएपछि मासुलाई लामो समय कोठाको तापक्रममा खुला राख्नु हुँदैन।
२. काँचो मासु फ्रिजमा सही तरिकाले राख्नुहोस्
छिट्टै पकाएर खाने मासुलाई चार डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा राम्रोसँग ढाकेर राख्नुपर्छ। मासु सफा, बन्द भाँडा वा प्याकेटमा राख्दा अन्य खानेकुरासँग सम्पर्क हुन पाउँदैन। काँचो मासुलाई फ्रिजको तल्लो तहमा राख्नुपर्छ, ताकि त्यसबाट निस्कने रस अन्य खानेकुरामा नचुहियोस्।

३. धेरै दिनका लागि राख्दा मासु फ्रिजर गर्नुहोस्
दशैंमा एकैपटक धेरै मासु काटिएको छ भने केही दिनपछि मात्र पकाउने मासुलाई प्याकेट वा भाँडामा राम्रोसँग बन्द गरी फ्रिजरमा राख्नुपर्छ। फ्रिजरको तापक्रम माइनस १८ डिग्री सेल्सियस वा सोभन्दा कम हुनुपर्छ। आवश्यकताअनुसार छुट्याएर राख्दा पटकपटक सबै मासु पगाल्नुपर्ने समस्या हुँदैन।
४. पकाएको मासु पनि सुरक्षित राख्नुहोस्
पकाएको मासु भान्सा वा टेबलमा लामो समय छाड्नु हुँदैन। सफा र बन्द भाँडामा राखेर दुई घण्टाभित्र फ्रिजमा राख्नुपर्छ। फ्रिजमा राखिएको पकाएको मासु सामान्यतः तीनदेखि चार दिनभित्र खपत गर्नु उपयुक्त हुन्छ। फेरि खानुअघि भित्रसम्म राम्ररी तात्ने गरी तताउनुपर्छ।
५. काँचो र पकाएको मासु अलग राख्नुहोस्
काँचो मासुमा रहेका हानिकारक जीवाणु पकाएको मासु तथा अन्य खानेकुरामा सर्न सक्छन। त्यसैले दुवैलाई सँगै वा खुल्ला राख्नु हुँदैन। काँचो मासु काट्न प्रयोग गरिएको चक्कु र चपिङ बोर्ड सफा नगरी अन्य खानेकुरामा प्रयोग गर्नु हुँदैन। मासु छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।
६. जमेको मासु सुरक्षित तरिकाले पगाल्नुहोस्
फ्रिजरमा राखिएको मासु पकाउनुअघि फ्रिजको सामान्य चिसो भागमा राखेर पगाल्नु सुरक्षित हुन्छ। भान्साको टेबलमा वा कोठाको तापक्रममा लामो समय खुला छाडेर पगाल्नु स्वास्थ्यकर हुँदैन। माइक्रोवेभ वा चिसो पानीको सुरक्षित विधिबाट पगालिएको मासु भने तुरुन्त पकाउनुपर्छ।
७. परम्परागत विधि अपनाउँदा सावधानी अपनाउनुहोस्
मासु लामो समयसम्म राख्न नेपाली समाजमा सुकुटी बनाउने, नुन बेसार लगाउने र भुटेर राख्ने चलन छ। तर, यी विधिले मात्र मासु सुरक्षित हुन्छ भन्ने हुँदैन। मासु सफा तरिकाले प्रशोधन गर्ने, पर्याप्त मात्रामा आगोमा सुकाउने र ओसिलोपन तथा प्रदूषणबाट जोगाएर राख्ने व्यवस्था गर्नुपर्छ।

पकाएको मासु वा बोसोमा डुबाएको मासु कोठाको तापक्रममा लामो समय सुरक्षित रहन्छ भन्ने सोच्नु हुँदैन। पकाएर राख्ने हो भने प्याज लसुन गोलभेडा नहाली नुन वेसार मात्रै लगाएर भुटेर राख्नु पर्छ।
८. मासु बिग्रिएको संकेत चिन्नुहोस्
मासुमा अस्वाभाविक गन्ध आउनु, चिप्लो हुनु वा रङ बदलिनु बिग्रिएको संकेत हुन सक्छ। यस्तो मासु नखानुहोस्। मासु भण्डारण र तापक्रमको पनि ख्याल गर्नुपर्छ।
९. मासु भित्रसम्म राम्ररी पकाउनुहोस्
मासुको बाहिरी भाग मात्र पाकेर पुग्दैन, भित्रसम्म पर्याप्त ताप पुग्नुपर्छ । खाद्य थर्मोमिटर उपलब्ध भए प्रयोग गर्नु राम्रो हुन्छ। खसीको मासु पकाउन समय लाग्ने हुँदा कसौंडी, कराईमा ढाकेर वा कुकरमा सिट्ठी लगाएर राम्रोसँग पकाउनुपर्छ।
काँचो मासु छोएको हातले पाकेको मासु नछुने र पकाउने क्रममा भाँडा तथा भान्सा सफा राख्ने कुरामा ध्यान दिनुपर्छ।

१०. फ्रिज नभएमा के गर्ने ?
यदि तपाईँसँग फ्रिज उपलब्ध छैन भने धेरै मासु एकैपटक काटेर कोठाको तापक्रममा लामो समय राख्नु हुँदैन। आवश्यकताअनुसार थोरै मासु काट्ने र सकेसम्म चाँडै पकाउने व्यवस्था गर्नुपर्छ। यदि पकाएर राख्नु परेमा तेल घिउ, नुन बेसार मात्रै लगाएर राम्रोसँग भुट्ने र सेलाएपछि ढाकेर राख्न सकिन्छ।
उपभोग गर्ने जति मात्रै निकालेर मसलाहरु प्रयोग गरी पकाउने र बाँकीलाई सुरक्षित रुपमा ढाकेर राख्दा दुई तीन दिनसम्म यो सुरक्षित रहन सक्छ। मासु किनेको वा पकाएको दुई घण्टाभित्र चिसो ठाउँमा ढाकेर राख्नुपर्छ। तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि भए एक घण्टाभित्रै चिसोमा राख्नु उचित हुन्छ।
दसैंमा मासुका परिकारको स्वादसँगै परिवारको स्वास्थ्यको ख्याल गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। स्वच्छ मासु खरिद गर्ने, काँचो र पकाएको मासु अलग राख्ने, उचित तापक्रममा भण्डारण गर्ने र राम्ररी पकाएर खाने बानीले खाद्यजन्य रोगको जोखिम घटाउन मद्दत गर्छ।










