दशैंमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ?

बिजमाण्डू
२०८३ कात्तिक ३ गते १३:३४ | Oct 19, 2026
दशैंमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ?


काठमाडौं । सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा संचालन गरेको छ।

GBIME
Tata

दशैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा संचालन गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस सेवा सोमबारबाट लगातार तीन दिन, बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ।

काठमाडौं उपत्यकामा संचालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।

यसै गरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलंकी, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा संचालन गर्दै आइरहेको छ।