सम्भावनाबाट समृद्धितर्फ : सक्षम, स्वाधीन र आत्मनिर्भर नेपाल निर्माणको संकल्प

बिजमाण्डू
२०८३ कात्तिक ३ गते ०६:४७ | Oct 19, 2026
सम्भावनाबाट समृद्धितर्फ : सक्षम, स्वाधीन र आत्मनिर्भर नेपाल निर्माणको संकल्प


नेपाल प्राकृतिक स्रोत, युवा जनशक्ति, सांस्कृतिक विविधता र रणनीतिक भूगोलले सम्पन्न देश हो। उत्तरमा चीन र दक्षिण, पूर्व तथा पश्चिमतर्फ भारतसँग जोडिएको नेपालले आफ्नो भौगोलिक अवस्थालाई आर्थिक समृद्धि, ऊर्जा विकास, व्यापार र क्षेत्रीय सहकार्यको अवसर बनाउन सक्छ।

GBIME
Tata

तर यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपालले अपेक्षित आर्थिक समृद्धि, राजनीतिक स्थिरता र सुशासन किन हासिल गर्न सकिरहेको छैन?

जलस्रोतको सम्भावना छ, तर त्यसको लाभ जनतासम्म पुर्‍याउन बाँकी छ। युवा जनशक्ति छ, तर रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कायम छ। प्राकृतिक सम्पदा छ, तर त्यसलाई उत्पादन, उद्योग र राष्ट्रिय आम्दानीमा रूपान्तरण गर्न आवश्यक छ।

यसको मूल कारण सम्भावनाको कमी होइन, बरु कमजोर कार्यान्वयन, नीतिगत अस्थिरता, संस्थागत कमजोरी र जवाफदेहिताको अभाव हो।

यही यथार्थलाई बदल्न सामाजिक इन्जिनियरिङ अभियान-नेपालले वैज्ञानिक सोच, व्यावहारिक समाधान र नतिजामुखी शासनको अवधारणालाई अघि बढाउनुपर्छ।

१. सामाजिक इन्जिनियरिङ अभियान : समस्याको पहिचानदेखि समाधानको कार्यान्वयनसम्म

इन्जिनियरिङको विशेषता समस्या पहिचान गरेर त्यसको संरचनागत कारण पत्ता लगाउनु, तथ्यका आधारमा समाधान डिजाइन गर्नु र परिणाम परीक्षण गर्नु हो।

राष्ट्र निर्माणमा पनि यही दृष्टिकोण आवश्यक छ। यदि कुनै पुल कमजोर छ भने त्यसलाई नाराले बलियो बनाउन सकिँदैन। त्यसको डिजाइन, निर्माण सामग्री, संरचना र भार वहन क्षमताको अध्ययन गर्नुपर्छ।

त्यसैगरी, यदि राज्यको प्रशासन कमजोर छ भने केवल राजनीतिक प्रतिबद्धताले त्यसलाई सुधार्न सकिँदैन। निर्णय प्रक्रियाको ढिलाइ, कर्मचारी व्यवस्थापन, कानुनी अस्पष्टता, भ्रष्टाचारको जोखिम र जवाफदेहिताको कमजोरी पहिचान गर्नुपर्छ।

यदि विकास आयोजना ढिलो हुन्छ भने केवल ठेकेदार वा सरकारलाई दोष दिएर पुग्दैन। आयोजना छनोट, सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति, रुख कटान, बजेट व्यवस्था, खरिद प्रक्रिया, निर्माण व्यवस्थापन र अनुगमनमा कहाँ समस्या छ भन्ने पत्ता लगाउनुपर्छ।

यही समस्या समाधानमुखी सोचलाई राष्ट्रिय जीवनका सबै क्षेत्रमा विस्तार गर्नु सामाजिक इन्जिनियरिङ अभियानको व्यावहारिक उद्देश्य हो।

२. सोच बदलौँ, विकासको मोडेल बदलौँ, समृद्ध नेपाल निर्माण गरौँ

नेपाली समाज गरिबी, अव्यावहारिक शिक्षा, न्यून चेतना र राजनीतिक ध्रुवीकरणबाट प्रभावित छ। हामीसँग जलस्रोत लगायत प्रशस्त सम्भावना छन्, तर तिनको सदुपयोग गर्न नसक्दा आर्थिक समृद्धि हासिल गर्न सकेका छैनौँ।

जलस्रोतको अधिकतम उपयोग, हरित ऊर्जाको सन्तुलित उत्पादन र आन्तरिक खपत मार्फत उद्योग, कृषि र रोजगारी विस्तार गर्नु नै समृद्धिको आधार हो।

यसका लागि राजनीतिक दल, संसद, सरकार र नागरिकबीच साझा राष्ट्रिय एजेन्डा र दृढ सङ्कल्प आवश्यक छ।

यही चेतना जगाउन, समाजलाई विभाजनबाट सहकार्यतर्फ र उपभोगबाट उत्पादनतर्फ उन्मुख गराउन सामाजिक इन्जिनियरिङ अभियान आवस्यक छ।

हाम्रो लक्ष्य: आफ्नै स्रोत, आफ्नै सोच र आफ्नै सामर्थ्यबाट समृद्ध नेपाल निर्माण।

३. राष्ट्रिय हित र सन्तुलित कूटनीतिका लागि

नेपालले भारत, चीन, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग पारस्परिक हितमा आधारित सम्बन्ध विस्तार गर्नुपर्छ। कुनै शक्तिको अन्धसमर्थन वा अन्धविरोध होइन, नेपालको सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।

रणनीतिक भूगोलले अवसर दिन्छ, तर त्यसलाई समृद्धिमा बदल्न राज्य सक्षम हुनुपर्छ।

४. संसद, सरकार र प्रतिपक्षको जिम्मेवारी

सरकारले जनमतलाई सुशासन र विकासमा रूपान्तरण गर्नुपर्छ। संसदले प्रभावकारी कानुन निर्माण र सरकारी कामको निगरानी गर्नुपर्छ। प्रतिपक्षले आलोचनासँगै व्यावहारिक विकल्प प्रस्तुत गर्नुपर्छ।

सरकारले नतिजा दिनुपर्छ, संसदले जवाफदेहिता सुनिश्चित गर्नुपर्छ र प्रतिपक्षले समाधानको विकल्प दिनुपर्छ।

५. प्राकृतिक स्रोत, उत्पादन र रोजगारी

ऊर्जा, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र सम्भाव्यता पुष्टि भएका प्राकृतिक स्रोतको जिम्मेवार उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुपर्छ।

युवालाई स्वदेशमै सीप, रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्छ। सार्वजनिक लगानीको सफलता ढुकुटीमा जम्मा भएको र खर्च भएको रकमबाट होइन, त्यसले सिर्जना गरेको उत्पादन, रोजगारी र जनताको लाभबाट मापन गर्नुपर्छ।

६. सुशासन र संस्थागत सुधार

भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सुधार, पारदर्शी खरिद प्रक्रिया र सक्षम प्रशासन आर्थिक समृद्धिका आधार हुन्।

सरकार परिवर्तन हुँदैमा राष्ट्रिय प्राथमिकता बदलिनु हुँदैन। शिक्षा, ऊर्जा, पूर्वाधार, उत्पादन र राष्ट्रिय सुरक्षासम्बन्धी दीर्घकालीन नीतिमा निरन्तरता आवश्यक छ।

नेपाललाई केवल स्थिर सरकार होइन, स्थिर नीति, सक्षम संस्था र नतिजामुखी नेतृत्व चाहिएको छ।

७. सामाजिक एकता र राष्ट्रिय सुरक्षा

नेपालको विविधता हाम्रो शक्ति हो। समान अवसर, निष्पक्ष न्याय, नागरिक अधिकार र सामाजिक सम्मानबाट राष्ट्रिय एकता बलियो बनाउनुपर्छ।

बाह्य प्रभावका जोखिमलाई तथ्यका आधारमा मूल्याङ्कन गर्दै पारदर्शी संस्था, सन्तुलित कूटनीति र आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ।

राष्ट्रिय सुरक्षा सीमा रक्षामा मात्र सीमित हुँदैन; आर्थिक विश्वसनीयता, सामाजिक सद्भाव र सक्षम राज्य पनि यसका आधार हुन्।

८. सामाजिक इन्जिनियरिङ अभियानको कार्यदिशा

यस अभियानका प्रमुख उद्देश्य हुन्:

राष्ट्रिय हितमा आधारित दीर्घकालीन नीति निर्माण।

उत्पादनशील अर्थतन्त्र र रोजगारी सिर्जना।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन।

प्राकृतिक स्रोतको वैज्ञानिक तथा जिम्मेवार उपयोग।

सार्वजनिक संस्थाको जवाफदेहिता र प्रभावकारिता वृद्धि।

सामाजिक विश्वास, राष्ट्रिय एकता र नागरिक सहभागिता सुदृढीकरण।

सबैभन्दा महत्वपूर्ण उद्देश्य हरित ऊर्जाको सन्तुलित उत्पादन र खपत नै नेपालको विकास मोडेल हो र हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नु हो।

अभियानको उद्देश्य समस्या देखाउनु मात्र होइन, त्यसको कारण पहिचान गरी व्यावहारिक समाधान प्रस्तुत गर्नु र नतिजाको मूल्याङ्कन गर्नु हो।

निष्कर्ष : अब भाषण होइन, नतिजा चाहिन्छ

नेपालको भविष्य प्राकृतिक स्रोत वा भौगोलिक अवस्थाले मात्र निर्धारण गर्दैन। राजनीतिक नेतृत्वको दूरदृष्टि, संस्थागत क्षमता, आर्थिक उत्पादन र नागरिकको सहभागिताले यसको भविष्य निर्माण गर्छन्।

त्यसैले सरकार, संसद, प्रतिपक्ष, निजी क्षेत्र, प्राविधिक समुदाय र नागरिक सबैले साझा जिम्मेवारी लिनुपर्छ।

हामीले राष्ट्रिय हितलाई चुनावी नाराभन्दा माथि राख्नुपर्छ। राजनीतिक प्रतिस्पर्धालाई राष्ट्र निर्माणको सकारात्मक प्रतिस्पर्धामा बदल्नुपर्छ। विकासको सफलता भाषणबाट होइन, जनताको जीवनमा आएको परिवर्तनबाट मापन गर्नुपर्छ।

‘सामाजिक इन्जिनियरिङ अभियान’ को मूल उद्देश्य हरित ऊर्जाको सन्तुलित उत्पादन र खपतका माध्यमबाट सक्षम राज्य, आत्मनिर्भर अर्थतन्त्र, उत्तरदायी शासन र एकताबद्ध समाज निर्माण गर्नु हो।

सार्थक आह्वान

के हामी नेपाललाई राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र अधुरो आर्थिक सम्भावनाको चक्रबाट बाहिर निकाल्न तयार छौँ?

के हामी राष्ट्रिय हितमा साझा सहमति निर्माण गर्दै सम्भावनालाई जनताले अनुभव गर्ने समृद्धिमा बदल्न सक्छौँ?

आउनुहोस्, राष्ट्रिय हितलाई प्राथमिकता दिऔँ, सुशासनलाई संस्थागत गरौँ र राजनीतिक शक्तिलाई जनताको सेवामा रूपान्तरण गरौँ।

नेपालको भूगोल रणनीतिक छ। हाम्रो राजनीति दूरदर्शी बनोस्, विकास वैज्ञानिक बनोस्, शासन जवाफदेही बनोस् र राष्ट्रिय एकता बलियो बनोस्।

सम्भावनाबाट समृद्धितर्फ, नाराबाट नतिजातर्फ- हरित ऊर्जाको सन्तुलित उत्पादन र खपतलाई नेपालको विकास मोडेल बनाई सक्षम, स्वाधीन र आत्मनिर्भर नेपाल निर्माणको साझा अभियानमा अघि बढौँ।

सामाजिक इन्जिनियरिङ अभियन्ता श्रीराम न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद छन्।