काठमाडौं । शुक्रबारदेखि नै दसैंको कारण काठमाडौं उपत्यका सुनसान बन्दै गएका छन्। यही मौकामा चोरी तथा लुटपाटका घटना बढ्ने हुँदा प्रहरीले सक्रियता बढाएको छ।
यद्यपि, शुक्रबारदेखि काठमाडौंमा ठुला कुनै पनि आपराधिक गतिविधि नभएको प्रहरीले जानकारी दिएको छ। केही साना चोरी र झगडाका घटना भने भएका छन्।
‘यस पटक हामीले सक्रियता बढाएका छौं। अहिलेसम्म ठुला आपराधिक घटना भएको जानकारी आएको छैन,’जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले भने।
शनिबार राति काठमाडौंको एक दुई ठाउँमा चोरीका घटना भएको जानकारी प्रहरीलाई आएको थियो। सुनको सिक्री लुट्नेदेखि सिलिन्डर चोरी गर्ने सम्मका घटना भएका छन्।
सिलिन्डर चोरी भएको जानकारी आएपछि प्रहरीले सम्बन्धित घरमा पुगेर घरधनीलाई सजक बनाएको थियो। डेरामा बस्ने मानिस दसैं मनाउन घर गएको कारण सो घटना भएको देखिन्छ।
‘दसैं मनाएर फर्किएपछि केही उजुरीहरू आउँछन्। कतिलाई चोरी भएको जानकारी समेत हुँदैन,’एसपी थापाले भने।
त्यस्तै, जुवा तास खेल्नेहरू माथि पनि प्रहरीले निगरानी राखेको छ। दसैंको समयमा सबैभन्दा धेरै सडक दुर्घटना हुने देखिएका छन्।
काठमाडौं उपत्यकाभित्र मात्र ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।










