काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८४० जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार पदाधिकारीमा ७९ र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा ७६१ जनाको उम्मेदवारी परेको हो।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पनि पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचनसम्बन्धी विवरणमा उल्लेख छ।
पदाधिकारीका अन्य पदमा पनि विभिन्न नेताले उम्मेदवारी दिएका छन्। खुला तथा समावेशी समूहका उपसभापति र महामन्त्री पदमा पनि प्रतिस्पर्धाका लागि उम्मेदवारी परेको छ।
निर्वाचन समितिले प्रथम नामावलीमाथि दाबी विरोध र आपत्तिका लागि बुधबार बिहान १० बजेदेखि १२ बजेसम्मको समय दिएको छ। उम्मेदवारीसम्बन्धी दाबी विरोध आवश्यक कागजातसहित निर्वाचन समितिको कार्यालयमा दर्ता गर्न सकिनेछ।
दाबी विरोधमाथि जाँचबुझ गरेपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ। त्यसपछि उम्मेदवारी फिर्ता र विवरण सच्याउने प्रक्रियासमेत पूरा गरेर अन्तिम प्रतिस्पर्धीको टुंगो लाग्नेछ।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान गर्ने निर्वाचन कार्यतालिका छ।










