दुई वर्षअघि नै मलेसियामा प्रहरीले भेटेको जीबी राईलाई नेपाल ल्याइएन, फर्काउन नसकेको कि नचाहेको?

सविन ढकाल
२०८३ कात्तिक २ गते १५:०० | Oct 18, 2026
दुई वर्षअघि नै मलेसियामा प्रहरीले भेटेको जीबी राईलाई नेपाल ल्याइएन, फर्काउन नसकेको कि नचाहेको?


काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले असोज १३ गते मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीले सोधेको ‘जीबी राईलाई किन पक्राउ गर्न नसकेको?’ प्रश्नमा उल्टै ‘जीबी राई कहाँ छन्?’ भनेर प्रतिप्रश्न गरे। उनले राईको अहिलेको अवस्थाबारे आफूलाई जानकारी नभएको र प्रहरीले अनुसन्धान गरिरहेको बताए।

GBIME
Tata

तर, दुई वर्षअघि नै नेपाल प्रहरीले राई मलेसियामा रहेको पत्ता लगाइसकेको थियो। उनको खोजीका लागि प्रहरीको टोली मलेसिया पुगेर क्वालालम्पुरको देशापण्डन क्षेत्रमा राईको बसोबासबारे जानकारीसमेत संकलन गरेको थियो। त्यसपछि पनि उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढ्न सकेन।

२०८१ भदौमा नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) र एक नायब निरीक्षक (सई) राईको खोजीमा मलेसिया पुगेका थिए। प्रहरी टोली करिब १० दिन मलेसियामा बसेर फर्किएको थियो। त्यसबेला राई देशापण्डनमा अपार्टमेन्ट लिएर बसेको र त्यहाँ व्यवसायसमेत गरिरहेको सूचना प्रहरीले पाएको थियो। सार्वजनिक विवरणअनुसार मलेसियामा रहेको उनको लोकेसनबारे नेपाल प्रहरीले यसअघि नै सूचना प्राप्त गरेको थियो।

मलेसिया पुगेका एक प्रहरी अधिकारीका अनुसार राईले त्यहाँ सानो व्यवसाय संचालन गरिरहेका थिए। प्रहरीले उनको अपार्टमेन्ट र उनी आवतजावत गर्ने स्थानबारे समेत सूचना संकलन गरेको थियो। तर, उनलाई नेपाल ल्याउने विषयमा मलेसियाली पक्षबाट अपेक्षित सहयोग नपाएपछि टोली फर्किएको थियो।

राईविरुद्ध नेपालमा सहकारी ठगीका विभिन्न मुद्दा छन्। पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिमलगायत सहकारीको बचत हिनामिनासँग उनको नाम जोडिएको छ। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिससमेत जारी भइसकेको छ। रेड नोटिस जारी भएपछि पनि उनलाई नेपाल ल्याउन नसकिएको विषयमा मलेसियासँग सुपुर्दगी सन्धि नभएको विषय उठ्दै आएको छ।

राईलाई नेपाल ल्याउन नसकिएको विषय नयाँ सरकारका लागि पनि पेचिलो बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि सहकारी ठगीका फरार अभियुक्तलाई पक्राउ गर्ने विषय प्राथमिकतामा राखिएको थियो। तर, सरकार गठन भएको करिब ६ महिनासम्म पनि राई पक्राउ नपरेपछि सरकारमाथि प्रश्न उठेको हो।

फाइल फोटो

यसबीच सहकारी ठगीका अन्य अभियुक्तमाथि भने अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढिरहेको छ। सहकारी बचत हिनामिनालाई सम्पत्ति शुद्धीकरणसँग समेत जोडेर अनुसन्धान गर्न थालिएपछि ठूला सहकारी ठगी प्रकरणमा थप अनुसन्धान र पूरक निवेदनको क्रम बढेको प्रहरी अधिकारीहरू बताउँछन्।

कति छन् सहकारीसम्बन्धी मुद्दा?

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्षको भदौसम्म सहकारी ठगीका १० वटा मुद्दा दायर भएका छन्। ती मुद्दामा ९० जना फरार प्रतिवादी छन् भने अहिलेसम्म एक जना पनि पक्राउ परेका छैनन्। यी प्रकरणमा १९ करोड ८५ लाख ३० हजार ३३० रुपैयाँ ठगी भएको देखिएको छ।

त्यसअघिको आर्थिक वर्षमा देशभर सहकारी ठगीका ७९ वटा मुद्दा दायर भएका थिए। ती मुद्दामा ५५ जना पक्राउ परेका थिए भने ४४८ जना फरार प्रतिवादी थिए। उक्त अवधिमा १ अर्ब ६३ करोड २८ लाख ४७ हजार ८ सय रुपैयाँ ठगी भएको प्रहरी तथ्यांक छ।

आर्थिक वर्ष २०८०/८१ मा भने सहकारी ठगीका १०१ वटा मुद्दा दायर भएका थिए। त्यसमा २९४ जना पक्राउ परेका र ८७० जना फरार रहेको नेपाल प्रहरीले जनाएको छ। सो अवधिमा ११ अर्ब ६८ करोड ६५ लाख ८० हजार ७९६ रुपैयाँ ठगी भएको देखिएको छ।

अडियो प्रकरणपछि के हुँदैछ ?

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले सहकारी ठगीमा फरार रहेका अभियुक्तविरुद्ध रेड नोटिस जारी गर्ने र पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको बताए।

‘मुद्दा चलेकाहरूको रेड नोटिस जारी छ। केही प्रक्रियामै छन्,’ उनले भने। ठगीपछि विदेश पुगेका संचालकलाई स्वदेश फर्काउने विषय भने अझै चुनौतीकै रूपमा छ।

राईको हकमा प्रहरी स्वयं मलेसिया पुगेर खोजी गरे पनि उनलाई नेपाल ल्याउन नसकेको घटनाले अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय र कूटनीतिक पहलबीचको दूरीसमेत देखाएको छ।

उनलाई फर्काउनुपर्छ भनिरहँदा सरकारले उनीपछिका विभिन्न कसुरका आरोपितलाई इन्टरपोलको मद्दतले फर्काइरहेको छ। तर, जीबी राईका विषयमा भने सरकारले मौन बस्नुमा शंका गर्नुपर्ने देखिएको छ।

यता जीबी राईको आवाज भनिएको अडियो बाहिरिएपछि प्रहरीले त्यसको समेत छानबिन सुरु गर्ने तयारी गरेको छ। अडियोमा जीबीले सहकारीसम्बन्धी सबै जिम्मेवारी आफ्नो रहेको भन्दै नेपाल आएर समस्या समाधान गर्ने बताएका छन्।

‘अडियोको विषयमा छलफल भएको छ। उहाँको आवाज हो होइन परिक्षण गर्न सकिन्छI पत्रचार गरे प्रक्रिया थाल्छौं,’ एक उच्च प्रहरी अधिकृतले भने।