काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मंगलबार सामाजिक सञ्जालमार्फत चाडपर्वलाई लक्षित गर्दै कृष्णभीर क्षेत्रमा सडक मर्मतको काम तीव्र पारिएको पोस्ट गरे।
दसैं सुरु हुन अब पाँच दिन बाँकी छ। दसैंका बेला आ आफ्नो गाउँघर जाने चलन रहेका कारण सडकको अवस्थालाई लिएर धेरैको चासो छ।
खासगरी भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा गरेको कटान तथा असोज ८-११ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोपछि काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग र अन्य विभिन्न सडकको अवस्थालाई लिएर दसैं नजिकिएसँगै चासो बढेको हो।
दसैंका बेला करिब १० लाख मानिसले उपत्यका छाड्ने गरेका छन्। उनीहरुमध्ये अधिकांशले सडक प्रयोग गर्ने गरेका छन्। त्यही कारण पनि सडकको अवस्था कस्तो छ भन्नेमा उनीहरुले सोधखोज गरिरहेका छन्।
पृथ्वी राजमार्ग
पूर्व र पश्चिम जाने तथा ढुवानीका लागि एकमात्र विकल्प पृथ्वी राजमार्ग भदौ १४ गते कृष्णभीरमा पहिरो गएपछि असोज १ गते बल्ल खुलेको थियो। असोज ८-११ गतेको अविरल वर्षाका क्रममा यो राजमार्गका धेरै ठाउँमा पहिरो गयो। सडक विभागले ती सबै ठाउँमा पहिरो पन्छाइसकेको छ। अहिले पृथ्वी राजमार्ग सञ्चालनमा छ।
नागढुंगा-मुग्लिन सडक विस्तार योजना पूर्वी खण्डका इन्जिनियर राजिव मानन्धरका अनुसार पृथ्वी राजमार्गमा नागढुंगादेखि मुग्लिनसम्म १० वटा स्थानमा समस्या छ।
नागढुंगा चेकपोष्ट नजिकै भासिएको ठाउँमा सडक बनाउने काम भइरहेको छ। उनका अनुसार त्यहाँ केही दिनमा काम सकिन्छ। यस्तै नौबिसेबाट अगाडि ७ किलो, ११ किलो र १३ किलोको सडकमा केही जोखिम छ।

मानन्धरका अनुसार घाटबेसी पोखरे र बाङ्गेमा पनि सडक केही हदसम्म जोखिमपूर्ण नै छ। नौबिसेबाट ४० किलोमिटरको दूरीमा रहेको चालिसे भन्ने स्थानमा पनि सडक राम्रो अवस्थामा छैन। तर, सवारीसाधन संचालन भइरहेको छ।
परेवाभीरमा पहिरोको जोखिम छ। यहाँ यसअघि नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो संचालनमा ल्याइएको हो।
सिमलधारा र कृष्णभीरमा पनि पानी परेका बेलामा ढुक्क भएर यात्रा गर्न कठिन छ।
बिपी राजमार्ग
दसैंका बेला बिपी राजमार्गमा पनि चाप पर्ने गरेको छ। पूर्व जाने यात्रुहरुले यो बाटो प्रयोग गर्ने गरेका छन्। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बिपी राजमार्गमा अहिले खासै समस्या छैन।
‘अहिले हामीले पुरानै ट्र्याकबाट सवारीसाधन चलाइरहेका छौं। खोलाभन्दा माथिबाट ट्र्याक छ। त्यसैले खोला बढे पनि कुनै समस्या छैन,’ योगेशले भने, ‘राजमार्ग पुनर्निर्माणका लागि सबै खण्डमा ठेक्का लागेर काम भइरहेका कारण निर्माण व्यवसायीका इक्विपमेन्ट र म्यानपावर चौबिसै घन्टा स्ट्यान्डबाई रहेकाले कुनै समस्या आए तत्कालै अवरोध हटाउन सकिन्छ।‘

दुई वर्ष अगाडि रोशी खोलामा आएको बाढीले वास आउट गरेको सडक यतिखेर पुनर्निर्माण भइरहेको छ। बिपी राजमार्गको चौकीडाँडा, कटुन्जेबेसीको घुमाउने र माप्ती खण्डमा ठूलो पानी परेको बेलामा समस्या हुन सक्छ।
पुष्पलाल मध्यपहाडी राजमार्ग
सडक विभागका अनुसार पुष्पलाल मध्यपहाडी राजमार्गका ४ वटा स्थानमा जोखिम देखिएको छ। भोजपुरको बोखिम भन्ने स्थानमा सडक खुले पनि जोखिम हटेको छैन। यो राजमार्गमा पर्ने खोटाङको पन्खु खोला र फालिटारमा पनि केही जोखिम रहेको विभागका अधिकारीहरुको भनाइ छ। ती ठाउँमा अहिले सवारीसाधन भने संचालनमा छन्।
पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने रुकुम पश्चिमको कालेगाउँ खोला र काक्री खण्डमा सडक आंशिकरुपमा संचालनमा छ। पर्वत खण्डमा बन्द छ। बागलुङको काथे खोलाको दुई स्थानमा असोज ८-११ को वर्षाले सडक बिग्रेकामा अहिले बनाएर सवारीसाधन संचालनमा ल्याइएको छ।
बेनी-जोमसोम-कोरला सडक अझै बन्द
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा असोजभित्र यातायात संचालनमा ल्याउने गरी काम भइरहेको छ।
असोज ८-११ को वर्षाका कारण क्षतिग्रस्त बनेको यो खण्डमा म्याग्दीको राहुपारेदेखि पोखरेबगरसम्म करिब १५ किलोमिटर मर्मत गर्न बाँकी छ।

पोखरादेखि मालढुंगासम्मको सडक सञ्चालनमा छ। मालढुंगामा मुस्ताङसँगको सम्पर्क टुटेका कारण अहिले काम भइरहेको छ।
त्यहाँ कालिगण्डकी पुलमा पहुँच सडक काम भइरहेको डक योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। उनका अनुसार कम्तीमा ७ दिनमा सडक संचालनमा आउनेछ। यसका लागि जियोब्याग राखेर फिलिङको काम भइरहेको छ। हालसम्म ८०० ब्याग भर्ने काम सकिएको छ।

मालढुंगादेखि बेनी सडक र बेनीदेखि गलेश्वोर सडक संचालनमा छ। गलेश्वरदेखि बैसेरीसम्मको ८ किलोमिटर सडक संचालनमा छ। बैसेरीका तीन मध्ये दुई पहिरो हटाइएको छ। शर्माका अनुसार एउटा ठूलो पहिरो हटाउन बाँकी छ।
बाढीले कुइनेटामा करिब १०० मिटर रोड वासआउट भएकामा अहिले फिल गर्ने काम भइरहको छ। बेगखोलामा ५ मध्ये ४ ठाउँको पहिरो हटाइएको छ। महभीरमा पहिरो पन्छाउन बाँकी छ।
रातापानीमा पहिरो हटाइएको छ। पोखरेबगरमा पुलका लागि पहुँच सडक बनाउनु पर्नेछ। तातोपानी क्षेत्रमा २० वटा पहिरो हटाइएको छ।
अन्य राजमार्गको अवस्था
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको तीन नम्बर पुल नजिकैको सडक जोखिममा रहेकाले अहिले आंशिक रुपमा सवारीसाधन संचालन भइरहेको विभागले जनाएको छ।
मेची राजमार्गमा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिममा पर्ने रोङको सडक समस्याग्रस्त छ। तैपनि गाडी भने चलिरहेका छन्। राजदुवाली भन्ने स्थानमा आंशिक रुपमा मात्रै सवारीसाधन संचालन भइरहेको छ।
कोशी राजमार्ग संखुवासभाको चुमसुरी भन्ने स्थानमा पहिरोले क्षति भएकामा सडक सञ्चालनमा ल्याइएको छ।
अरनिको राजमार्गमा सवारीसाधन सञ्चालनमा रहे पनि खाडीचौरदेखि कोदारीसम्म दुई वटा स्थानमा समस्या छ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको लामिडाँडादेखि सिमभञ्ज्याङसम्मको सडक अहिले आंशिक रुपमा संचालनमा छ भने कान्ति राजपथको हेटौंडा-बागमती-टीकाभैरव-भैसेपाटी-एकान्तकुना सडक दुईतर्फी सञ्चालन भइरहेको छ।

सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल-बुर्तिबाङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड दुईतर्फी नै सञ्चालनमा छ। तर, चिडिया खोलादेखि दोभानसम्मको सडक जोखिमपूर्ण रहेको विभागले जनाएको छ।
स्वर्गद्वारी राजमार्गमा पर्ने भालुवाङ-लिवाङको करिम खोला र कालोफिरोमा सडक आंशिक रुपमा संचालनमा छ।
कर्णाली राजमार्गको जमुनाहा-नेपालगंज-कोहलपुर-सर्खेत-खुलालु-हिल्सा सडक सञ्चालनमा रहे पनि हुम्लाको खच्चामा केही बिग्रिएको छ।








