म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वयम्सेवी युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन्।
बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्या राख्ने, डोरी झुण्डाउने काम गरेका हुन्। १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनाएका रुखहरु काटेर हटाउने काम पनि गरेका संयोजक पौडेलले बताए।
‘यो सडक मर्मत सकिएर नियमित रुपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पैदलयात्रा गरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौँ,’ उनले भने, ‘फेसबुकमा अपिल र साथीहरुलाई बोलाएर स्वयमसेवक परिचालन गरेर सडक सहज बनाउने प्रयास गरिएको हो।’
गत हप्ताको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कतिपय ठाउँहरुमा पैदलयात्रा गर्न पनि कठिन अवस्था छ। एक हप्ताअघिसम्म दैनिक हजारौँ गाडी गुड्ने बेनी जोमसोम सडकको बेनीदेखि काभ्रेभिर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छियाछिया बनाएको छ।
पक्की सडक भत्किएको मात्रै छैन केही ठाउँमा नामनिसान नभेटिनेगरी बगेको र भत्किएको छ। सडक मर्मत नहुँदासम्म मुस्ताङमा फसेका पर्यटक, तीर्थयात्री, व्यवसायी र स्थानीयबासी अत्यावश्यक कामका लागि यो बाटो हिडेर गन्तव्यमा पुग्ने एकमात्र विकल्प बनेको छ।
सडकमा पदयात्रा जोखिमपूर्ण र असहज छ। बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्ये ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ तातोपानी खण्डमा मर्मत जारी रहेको बताए।
इन्धन र उपकरणको व्यवस्था मिलाएर थप ठाउँमा पनि उपकरण र मजदुर परिचालन गरेर अवरुद्ध बनेको कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालन गर्न युद्धस्तरमा कामलाई तीव्रता दिएको शर्माले बताए। रासस











