तलब कम भएको भन्दै एनएसीका ६ पाइलटको राजीनामा, भियतनामको एयरलाइन्समा जाँदै

बिजमाण्डू
२०८३ असोज १६ गते १४:३३ | Oct 2, 2026
तलब कम भएको भन्दै एनएसीका ६ पाइलटको राजीनामा, भियतनामको एयरलाइन्समा जाँदै


काठमाडौं। आर्थिक संकट झेलिरहेको नेपाल वायुसेवा निगम (एनएसी)का ६ जना पाइलटले सेवा सुविधा अपुग भएको भन्दै राजीनामा दिएका छन्। एनएसीको वाइडबडी चलाउने ४ र न्यारोबडी चलाउने दुई जनाले राजीनामा दिएका हुन्।

Vigo
GBIME
Tata

एनएसीका प्रबन्ध निर्देशक जनक कालाखेतीले ६ जना पाइलटले केही दिनअघि राजीनामा दिएको जानकारी दिँदै राजीनामा स्वीकृत भने नभएको बताए। ‘उहाँहरुले राजीनामा दिनुभएको छ। अहिलेको अवस्थामा राजीनामा स्वीकृत गर्न सकिने अवस्था छैन,’ उनले बिजमाण्डूसँग भने, ‘यसलाई व्यवस्थापन गर्न खोजिरहेका छौं।’

एनएसीका अनुसार प्रणव मल्ल, संजय पौडेल, मनिषविक्रम शाह, रचेन्द्र जोशी, प्रशान्त श्रेष्ठ र रेश्मा सिजापतिले राजीनामा दिएका हुन्।

एनएसीमा जहाज उडान गर्ने पाइलटले मासिक पाँच लाख रुपैयाँ तलब सुविधा पाउँछन्। विदेशी एयरलाइन्सले यसको दोब्बरभन्दा बढी सुविधा दिने भएका कारण पाइलटहरु धमाधम राजीनामा दिएर विदेशिन थालेका हुन्।

स्रोतका अनुसार राजीनामा दिएका पाइलट भियतनामको सनफुक्वा एयरवेजमा जान लागेका हुन्। उनीहरु विदेशी एयरलाइन्समा जानु पहिले राजीनामा स्वीकृत हुनुपर्छ। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिनुपर्ने हुन्छ।

तलब सुविधा बढाउने प्रस्ताव पेन्डिङ

तलब सुविधा बढाउनका लागि एनएसीले दुई वर्षअघि नै प्रस्ताव गरेको थियो। एनएसीका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले तलब सुविधा बढाउने प्रस्ताव पर्यटन मन्त्रालयमा पठाएकामा पेन्डिङमा राखिएको थियो।

आधा खर्बभन्दा बढी ऋणभार रहेको एनएसीको आर्थिक अवस्था अत्यन्तै नाजुक छ। आर्थिक अवस्था खराब रहेकै कारण तलब सुविधामा पुनर्विचार भएको छैन। जसका कारण पाइलट लगायत प्राविधिकहरु धमाधम बाहिरिन थालेका हुन्। एनएसीका चार वटा ठूला जहाजमध्ये दुईवटा ग्राउन्डेड छन्।