आकासमा दुई पाइलटबीच लडाइ चलिरहेको थियो। घाइते भएर घाँटी र टाउकोबाट रगत बगिरहँदा पनि ३८ वर्षीय क्याप्टेन स्मित मच्छरले बल्लतल्ल ककपिटको ‘अनलक’ स्विच थिचे। ढोका आधा खुल्यो र उनी अचेत भएर पछाडि ढले। त्यही एउटा स्विच थिचेपछि ५ हजार २०० मिटरको उचाइबाट खसिरहेको फ्लाई दुबईको एफजेड १०७३ उडान ठूलो दुर्घटनाबाट जोगिन सफल भयो।
बुधबार दुबईबाट इजरायलको तेल अबिवतर्फ उडिरहेको बोइङ ७३७ विमानमा सबै कुरा सामान्य नै थियो। तर, अवतरण हुनुभन्दा करिब एक घण्टा अगाडि अचानक क्याबिनभित्र ठूलो स्वरमा आवाज आउन थाल्यो। विमान दुई मिनेटभन्दा कम समयमै करिब १७ हजार फिट तल खस्यो।
‘अचानक जहाज रोलरकोस्टर जस्तै तीव्र गतिमा तल झर्न थाल्यो। कुनै डरलाग्दो शक्तिले हामीलाई तल तानिरहेको जस्तो महसुस भइरहेको थियो,’ उडानका एक यात्रु अल्मोग इटालीले त्यो क्षण सम्झिँदै भने, ’भित्र मानिसहरु रोइरहेका थिए, मेरो भाइ कराइरहेको थियो हामी अब बाँच्दैनौँ।’
ककपिटभित्र भने अर्कै तनाव थियो। विमानका को-पाइलट नियन्त्रण आफ्नो हातमा लिने र विमान दुर्घटना गराउने मनसायमा थिए। उनले क्याप्टेन स्मित मच्छरमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिसकेका थिए। गम्भीर घाइते र अचेत हुने अवस्थामा पुगेका क्याप्टेन स्मितले ककपिटको ढोका अनलक गरिदिएका थिए। ढोका खुल्नेबित्तिकै बाहिर रहेका यात्रुहरु भित्र छिरे।
‘म भित्र छिर्दा क्याप्टेन भुइँमा रगतले लत्पतिएका थिए र आक्रमण गर्नेले विमानका उपकरणहरु भत्काउने प्रयास गरिरहेको थियो,’ ककपिटमा पसेर को–पाइलट नियन्त्रणमा लिने इजरायली यात्रु यानिव हयूनले भने।
यात्रुहरु र केबिन क्रुले आफ्नै हेडफोनको तार र जिप-टाईले को-पाइलटलाई बाँधेर नियन्त्रणमा लिए। त्यसैबीच, विमानको पछाडिको सिटमा यात्रा गरिरहेका अन्य दुई अफ ड्यूटी पाइलटहरु अगाडि आए। उनीहरुले जहाजको कमान्ड सम्हाल्दै साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गराए।
गम्भीर घाइते क्याप्टेन स्मितलाई तत्काल साउदी अरबको अस्पतालमा भर्ना गरियो। त्यहाँ उनको उपचार भइरहेको छ र अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
भारतीय एयरलाइन स्पाइस जेटमा लामो समय तालिम दिइसकेका र ९ हजार ७५० घण्टाभन्दा बढी उडानको अनुभव बोकेका अनुभवी क्याप्टेन स्मितको यो साहसको अहिले विश्वभर प्रशंसा भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले गम्भीर घाइते भएर पनि आक्रमणकारीको प्रतिकार गरेर ककपिटको ढोका खोलेको भन्दै भनेका छन्, ‘उनले १७४ जनाको ज्यान जोगाए। उनले आकासमै हुन लागेको ठूलो दुर्घटना टारे।’
त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्मितको प्रशंसा गरेका छन्। चक्कु प्रहारबाट घाइते भएर पनि ककपिटको ढोका खोल्न सक्नु र सहयोग लागि गुहारेको भन्दै उनले सस्मित साँचो अर्थमा हिरो भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्मितलाई ’हिरो’ भनेका छन्। स्मितले प्रतिकूल परिस्थितिमा पनि यात्रुहरुलाई बचाउन देखाएको साहसको प्रशंसा मोदीले पुरै भारतले उनीमाथि गर्व गरिरहेको बताएका छन्।
को-पाइलट अहिले प्रहरी नियन्त्रणमा छन्। उनीसँग सोधपुछ भइरहेको छ। उनको नाम सार्वजनिक गरिएको छैन।










