काठमाडौं। नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष शिवप्रसाद चौलागाईंले प्राथमिक सेयर निष्कासन (आइपीओ) र त्यसपछिको सेयर आपूर्तिलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।
संसद्को अर्थ समिति बैठकमा बुधबार उनले भने, ‘नयाँ सरकार आएपछि त लगानीकर्तालाई विश्वासमा लिनु पर्ला। थुन्ने र सुन्ने भन्नेबाट सरकार गयो। अनुसन्धान गरेर दण्डित गर्नुपर्ने भए आर्थिक जरिवाना गर्ने हो। यसले बजार बढ्दैन। थुनेर छोड्दा उ दोषी करार भइसक्यो। उसको विश्वास गुम्दै जान्छ।’
उनले परियोजना आइपीओमा आउँदा कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने र आईपीओसँगै संस्थापक तथा अन्य सेयरको निश्चित हिस्सा पनि सूचीकरण गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। उनका अनुसार बजारमा सेयरको आपूर्ति बढाउन सके मूल्यमा कृत्रिम उछाल आउने र त्यसपछि साना लगानीकर्ता फस्ने प्रवृत्ति कम गर्न सकिन्छ।
‘पम्पिङ एन्ड डम्पिङ टाइपको खेल भयो। त्यसलाई रोक्न र व्यवस्थित गर्न परियोजना आइपीओमा आउँदा कम्तीमा २५ प्रतिशत आइपीओ ल्याउनुपर्ने र आइपीओ आएपछि कम्पनीका प्रमोटर, सञ्चालक समिति तथा ऋणका लागि धितोमा राखिएको सेयरबाहेक अन्य सेयर पनि आईपीओसँगै सूचीकरण गर्ने व्यवस्था गर्नुपर्छ,’ चौलागाईंले भने।
बजारमा सेयरको आपूर्ति कम हुँदा मूल्यमा बबल बन्ने र त्यसपछि मूल्य घट्दा साना लगानीकर्ता प्रभावित हुने गरेको उनले बताए। ‘सप्लाइ बढ्नेबित्तिकै मूल्यमा बबलिङ हुँदैन र वास्तविक मूल्य तय हुँदै जान्छ,’ उनले भने।
चौलागाईंले परियोजना आईपीओका लागि न्यूनतम २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने व्यवस्था गर्नुपर्ने बताए। त्यससँगै संस्थापक, सञ्चालक र धितोमा राखिएको सेयरको प्रकृति हेरेर अन्य सेयरलाई समेत क्रमशः बजारमा ल्याउने व्यवस्था गर्न नयाँ निर्देशिका आवश्यक रहेको उनको भनाइ छ।
उनले आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या मात्र बढाउने नीतिले पुँजी बजारलाई बलियो नबनाउने बताए। पछिल्लो समय आईपीओ सूचीकरणपछि कम्पनीको वित्तीय प्रदर्शन र प्रतिफलभन्दा सेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति देखिएको उनले दाबी गरे।
‘हामी ५००-६०० वटा कम्पनी भन्दै संख्या मात्र बढाउनेतर्फ नजाऔँ। तीन वर्षअघि आईपीओ निष्कासन गरेर सूचीकरण भएका र प्रिमियममा आएका केही कम्पनीले अहिलेसम्म एक रुपैयाँ पनि लाभांश नदिई प्रमोटरले सेयर बेचेर बाहिरिने क्रम देखिएको छ,’ उनले भने।
उनले यस्तो प्रवृत्तिको प्रभाव अहिलेको बजारमा देखिएको बताए। कम्पनीका ठूला सेयरधनीले सेयर बिक्री गर्ने सूचना सार्वजनिक हुँदा बजारमा तीव्र प्रतिक्रिया देखिने र त्यसको असर साना लगानीकर्तामा पर्ने उनको भनाइ छ।
चौलागाईंले कम्पनीको सेयर आपूर्ति, संस्थापक सेयरको सूचीकरण तथा बिक्रीसम्बन्धी सूचना लगानीकर्तालाई अग्रिम रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने पनि बताए। उनका अनुसार कम्पनीको सञ्चालन र सेयर आपूर्तिसम्बन्धी स्पष्ट व्यवस्था भए बजारमा अनिश्चितता र अस्वाभाविक मूल्य उतारचढाव घटाउन सकिन्छ।
पुँजी बजारप्रति लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न नयाँ सरकारले नियामकीय दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने उनले बताए। बजारसम्बन्धी कसुरमा अनुसन्धान र कारबाही आवश्यक भए पनि पक्राउ र थुनालाई प्राथमिकता दिने शैलीले लगानीकर्ताको विश्वास कमजोर पार्ने उनको भनाइ छ।










