अमेरिका पढेर नेपाल उडान भरेका जय, पारिवारिक विरासतलाई प्रविधि र सोचले बदल्दै

टुना भट्ट
२०८३ असोज १४ गते १२:२९ | Sep 30, 2026
अमेरिका पढेर नेपाल उडान भरेका जय, पारिवारिक विरासतलाई प्रविधि र सोचले बदल्दै


अमेरिकाको व्यस्त न्यूयोर्क सहरमा पैदल हिँड्दै कलेज जाने जय गोल्छा आज करोडौँको अटोमोबाइल व्यवसायको स्टेयरिङ सम्हालिरहेका छन्। गाडी बेच्ने मात्र होइन, एउटा पुस्ताले बनाएको व्यवसायलाई अर्को पुस्ताको सोच, प्रविधि र काम गर्ने शैलीसँग जोड्ने प्रयासमा छन् २९ वर्षीय जय।

Vigo
GBIME
Tata

गोल्छा परिवारका लागि अटोमोबाइल नयाँ व्यवसाय होइन। उनका हजुरबुबाको पालादेखि नै यो परिवार गाडीको व्यापारमा जोडिएको छ। चार वर्षको हुँदा हजुरबुबा लोकमान्य गोल्छाले चढ्ने डाइहात्सु अप्लजमा बसेर घुमेका जयलाई त्यसबेलाका गाडीका धेरै कुरा सम्झना नहुन सक्छन्, तर त्यो यात्राको सम्झना भने अहिले पनि ताजा छ।

समयले उनलाई त्यही गाडीको पछाडिको सिटबाट अटोमोबाइल व्यवसायको नेतृत्व गर्ने ठाउँमा ल्याइपुर्‍याएको छ।

जयले अमेरिकामा इन्डस्ट्रियल इन्जिनियरिङ पढे। त्यहाँ जागिर गर्ने अवसर पनि थियो। तर, ‘इम्प्लोइ’ भएर करियर सुरु गर्नुभन्दा परिवारले पुस्तौँदेखि बनाउँदै आएको व्यवसायमा फर्किएर ‘इम्प्लोयर’ बन्ने सोचले उनलाई तान्यो।

कोभिड-१९ सुरु हुनुअघि नै उनी नेपाल फर्किए। त्यसपछि बुबा हेमन्त गोल्छासँगै व्यवसाय बुझ्न थाले। त्यही समय नेपालमा विद्युतीय गाडीको बजार विस्तार हुँदै थियो। जयले त्यसैमा भविष्य देखे। अहिले उनी ‘सांग्रिला मोटर्स’का निर्देशकका रूपमा अटोमोबाइल बजारमा सक्रिय छन्।

तर भूमिका बोर्डरुममा बसेर निर्णय गर्ने निर्देशकको मात्र छैन। उनी मार्केटिङ हेर्छन्, ग्राहकसँग प्रत्यक्ष कुरा गर्छन्, शोरुममा गाडी देखाउँछन् र नयाँ मोडल बजारमा ल्याउँदा ग्राहकले त्यसलाई कसरी लिन्छन् भन्ने विषयसम्म आफैं नियाल्छन्। ‘कहिलेकाहीँ एउटा गाडी बिक्री हुनु पनि ठूलो सफलता जस्तो लाग्छ,’ जय भन्छन्, ‘शोरुममा आएका ग्राहकलाई उहाँहरूको आवश्यकता र बजेटअनुसार सही गाडी रोज्न विश्वस्त बनाउन सक्दा निकै खुसी लाग्छ।’

जयको कथा गोल्छा परिवारको नयाँ पुस्ताको मात्र होइन, यो युवाहरूको सपनाको देश अमेरिकाबाट फर्किएका एक इन्जिनियरले पारिवारिक विरासतलाई आफ्नो पुस्ताको भाषा, प्रविधि र सोचसँग कसरी जोडिरहेका छन् भन्ने पनि हो। एकातिर हजुरबुबाको पालादेखिको अटोमोबाइल विरासत छ, अर्कोतिर इलेक्ट्रिक गाडी, डिजिटल मार्केटिङ, नयाँ प्रविधि र बदलिँदो ग्राहकको मनोविज्ञान। यी दुईबीच पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको महत्त्वाकांक्षालाई जोड्दै आफ्नै बाटो खोजिरहेका छन् जय।

उनको हातमा अहिले एउटा पुस्ताले बनाएको व्यवसायलाई अर्को पुस्ताको बाटोमा लैजाने जिम्मेवारीको स्टेयरिङ पनि छ।

‘इम्प्लोइ’ होइन, ‘इम्प्लोयर’

अमेरिकामा इन्डस्ट्रियल इन्जिनियरिङ पढ्दा जयले सिस्टम, प्रक्रिया र कामलाई व्यवस्थित ढंगले हेर्न सिके। उनले केही कम्पनीमा इन्टर्न पनि गरे। तर, जागिरमा करियर बनाउनेभन्दा आफ्नै देश फर्किएर पुस्तौँदेखि चलिरहेको पारिवारिक व्यवसायलाई काँध थाप्ने सोच बलियो हुँदै गयो।

‘अमेरिकामा काम पाउनु कठिन थियो। त्यसमाथि परिवारका सदस्यहरू नजिक नहुँदा एक्लोपन पनि महसुस हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले नेपालमा पुस्तौँदेखि चलिरहेको पारिवारिक व्यवसायलाई निरन्तरता दिनु नै ठीक लाग्यो अनि घर आएँ।’

उनी पारिवारिक व्यवसायको बलियो आधार जोगाउँदै त्यसमा आफ्नो पुस्ताको शैली थप्न चाहन्छन्। उनका लागि ‘फ्यामिली लिगेसी’ सुविधा मात्र होइन, जिम्मेवारी पनि हो।

नेपाल फर्कनुको अर्थ पुरानै शैलीमा व्यवसाय चलाउनु भने थिएन। अमेरिकाको अनुभवसँगै उनीसँग नयाँ पुस्ताले चाहेको बजार, प्रविधिको बुझाइ र काम गर्ने आफ्नै शैली थियो। त्यसैले अहिले उनको प्राथमिकता स्पष्ट छ, परम्परागत व्यवसायलाई अझ व्यवस्थित र आधुनिक बनाउने।

घरमै व्यवसाय, व्यवसायमै परिवार

गोल्छा परिवारमा व्यवसाय कुनै छुट्टै विषय होइन। घरमा खाना खाँदा होस् वा परिवारका सदस्यसँग बस्दा, व्यवसायका कुरा चलिरहन्छन्। जयका लागि यही वातावरण सामान्य छ।

हजुरबुबा, बुबा, आमा, काका-काकीसँग बस्दा नयाँ के गर्ने, बजार कसरी बदलिँदैछ, ग्राहकको आवश्यकता के हो भन्ने विषयमा छलफल भइरहन्छ। ‘परिवारसँग बस्दा पनि बिजनेसकै बारेमा कुरा हुन्छ,’ जय भन्छन्, ‘सायद संस्कारमै व्यवसाय भएर होला, यो वातावरण पनि रमाइलो नै लाग्छ।’

तर, पारिवारिक व्यवसायमा काम गर्नुको अर्को पाटो पनि छ। निर्णय गर्ने स्वतन्त्रता सधैं आफूले चाहेअनुसार हुँदैन। अनुभवी पुस्ताको निर्णय, सोच र काम गर्ने शैलीलाई सम्मान गर्दै आफ्नो पुस्ताको फरक विचार स्थापित गर्न समय लाग्छ भन्ने जयको बुझाइ छ।

उनी पारिवारिक व्यवसायको बलियो आधार जोगाउँदै त्यसमा आफ्नो पुस्ताको शैली थप्न चाहन्छन्। उनका लागि ‘फ्यामिली लिगेसी’ सुविधा मात्र होइन, जिम्मेवारी पनि हो।

हजुरबुबाको डाइहात्सुदेखि आफ्नै इभीसम्म

जयको अटोमोबाइलसँगको सम्बन्ध व्यवसाय सुरु गरेपछि मात्र बनेको होइन। चार वर्षको हुँदा हजुरबुबा लोकमान्य गोल्छाले चढ्ने डाइहात्सु अप्लजमा घुमेको सम्झना अझै ताजा छ। त्यतिबेला गाडीको ब्रान्ड, प्रविधि वा बजारबारे उनलाई के थाहा हुनु? तर, बाल्यकालका ती यात्राले अटोमोबाइलसँग भावनात्मक सम्बन्ध भने बनाइदियो।

अटोमोबाइल व्यवसायमा नयाँ मोडलका गाडी आयात गरेर शोरुममा राख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई बजारले स्वीकार गर्नुपर्छ।

समय बदलियो। उनी अमेरिका पुगे, इन्जिनियरिङ पढे र नेपाल फर्किए। नेपाल आएपछि बुबा हेमन्त गोल्छाले उनलाई निसानको ‘लीफ’ चलाउन दिए। त्यसपछि व्यवसायसँगै उनको गाडीप्रतिको रुचि पनि बदलिँदै गयो। अहिले उनी आफैंले नेतृत्व गरिरहेको व्यवसायको विद्युतीय एसयूभी चलाउँछन्।

जयका लागि गाडी केवल ‘स्टेटस’ होइन। यो प्रविधि, डिजाइन, सुरक्षा, रेन्ज र ग्राहकको आवश्यकतासँग जोडिएको उत्पादन हो। त्यसैले उनी ग्राहकसँग प्रत्यक्ष कुरा गर्न रुचाउँछन्। जयको कामको एउटा रोचक पक्ष यही हो। निर्देशक भएर पनि उनी केवल बोर्डरुममा बस्न रुचाउँदैनन्। मार्केटिङ, डिजिटल मार्केटिङदेखि सेल्ससम्म उनी प्रत्यक्ष संलग्न हुन्छन्।

शोरुममा ग्राहकको आवश्यकता र बजेट बुझेर सही निर्णय लिन सहयोग गर्नु उनको कामको एउटा हिस्सा हो। उनका लागि शोरुमसम्म आएको ग्राहक खाली हात फर्किनु बिक्री गुम्नु मात्र होइन, आफ्नो प्रयास असफल भएको अनुभूति पनि हो। ‘नयाँ मोडल बजारमा ल्याएर ग्राहकले मन पराउनुभएन भने दुःख लाग्छ,’ उनी भन्छन्, ‘अटोमोबाइल व्यवसायमा नयाँ मोडलका गाडी आयात गरेर शोरुममा राख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई बजारले स्वीकार गर्नुपर्छ।’

इभी किन?

जय नेपाल फर्किँदा नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडीको चर्चा तीव्र हुँदै थियो। छिमेकी चीन विश्वकै ठूलो इभी उत्पादन केन्द्रका रूपमा अघि बढिरहेका बेला नेपालमा नयाँ प्रविधि भित्र्याउने सम्भावना पनि बढिरहेको थियो। उनले त्यसैमा अवसर देखे।

उनका लागि इभी केवल नयाँ गाडी होइन, अटोमोबाइलको बदलिँदो भविष्य हो। तर, उनी बजारका चुनौतीबाट अनभिज्ञ छैनन्।

नेपालका सडकको अवस्था, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स, सर्भिस, मूल्य र ब्याट्री रिसाइक्लिङ ग्राहकका लागि महत्त्वपूर्ण विषय हुन्। त्यसैले नेपालमा गाडी बेच्न प्रविधि मात्र पर्याप्त नभएको उनको बुझाइ छ। ‘नेपाली सडक र नेपाली ग्राहकको आवश्यकता बुझ्नुपर्छ,’ उनी भन्छन्।

उनलाई लाग्छ, ग्राहकले साथीले किनेको गाडी वा छिमेकीले चलाएको ब्रान्ड हेरेर मात्र निर्णय गर्नेभन्दा आफ्नो आवश्यकता बुझेर गाडी रोज्ने संस्कार विकास गर्नुपर्छ।

ब्याट्री रिसाइकल गर्ने विषयमा सरकारले नै सोच्नुपर्छ। यस क्षेत्रमा भविष्यमा केही गर्न सकिन्छ कि भनेर म आफू पनि अध्ययन र अनुसन्धान गरिरहेको छु, हेरौँ।

ब्याट्री व्यवस्थापनको प्रश्न

इभीको प्रयोग बढ्दै जाँदा जयको ध्यान अर्को महत्त्वपूर्ण विषयतर्फ पनि गएको छ, ब्याट्री रिसाइक्लिङ।

नेपालमा विद्युतीय गाडीको प्रयोग बढिरहेको भए पनि केही वर्षपछि प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन ठूलो चुनौती बन्न सक्ने उनको बुझाइ छ। त्यसैले यसको व्यवस्थापनबारे सरकारले अहिले नै सोच्नुपर्ने उनी बताउँछन्।

अहिले प्रयोग भइसकेका ब्याट्री रिसाइकल गर्न भारत वा चीनतर्फ पठाउनुपर्ने अवस्था छ। त्यसमा थप खर्च लाग्छ। नेपालमै यसको सम्भावना खोज्नुपर्ने भए पनि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने भएकाले तत्काल ठूलो लगानी गर्ने अवस्थामा व्यवसायी नरहेको उनको भनाइ छ।

‘ब्याट्री रिसाइकल गर्ने विषयमा सरकारले नै सोच्नुपर्छ,’ जय भन्छन्, ‘यस क्षेत्रमा भविष्यमा केही गर्न सकिन्छ कि भनेर म आफू पनि अध्ययन र अनुसन्धान गरिरहेको छु, हेरौँ।’

‘वर्किङ सिस्टम’ बदल्न मन छ

जयको भविष्यको योजना गाडी बेच्नेमा मात्र सीमित छैन। उनलाई सबैभन्दा बढी खड्किएको विषय हो, नेपालको काम गर्ने शैली।

उनको बुझाइमा कुनै एक व्यक्तिको उपस्थितिले मात्र कम्पनी चल्ने सिस्टम दीर्घकालीन हुन सक्दैन। यस्तो प्रणाली आवश्यक छ, जहाँ कोही अनुपस्थित हुँदा पनि काम नरोकियोस्, निर्णय प्रक्रिया स्पष्ट होस् र कम्पनी व्यक्तिभन्दा आफ्नै सिस्टमबाट चल्न सकोस्।

परम्परागत व्यवसायिक शैलीलाई अझ कर्पोरेट र सिस्टममा आधारित बनाउने उनको सोच छ। यस्तो परिवर्तन एक्लैले सम्भव नभए पनि आफूबाट त्यसको सुरुवात गर्न सकिने उनी मान्छन्।

हजुरबुबाको डाइहात्सु अप्लजबाट सुरु भएको उनको गाडी यात्रा ईभीसम्म आइपुगेको छ। यो यात्रामा गाडी मात्र फेरिएका छैनन्, पुस्ता फेरिएको छ, सोच फेरिएको छ र पुस्तौँदेखि चल्दै आएको व्यवसायलाई नयाँ अर्थ दिने प्रयास पनि भइरहेको छ।

पुरानो शैलीको व्यवसाय सम्हालिरहेका भए पनि त्यसलाई नयाँ पुस्ताको सोचअनुसार क्रमशः बदल्दै लैजाने उनको योजना छ।

पारिवारिक विरासत अवसरसँगै ‘प्रेसर’ पनि

गोल्छा परिवारको नामसँगै अवसर स्वाभाविक रूपमा आएको जय स्वीकार गर्छन्। तर, त्यससँगै आउने अपेक्षाले दबाब पनि सिर्जना गर्छ।

‘पुस्तौँदेखि चलिरहेको व्यवसायलाई अझ राम्रो बनाउने जिम्मेवारी छ,’ उनी भन्छन्, ‘परिवारले बनाएको आधारलाई कमजोर हुन नदिई नयाँ पुस्ताको आवश्यकताअनुसार अगाडि बढाउनुपर्ने चुनौती पनि उत्तिकै छ।’

तर, त्यही दबाबलाई उनी अगाडि बढ्ने ऊर्जाका रूपमा लिन्छन्।

‘परिवारको लिगेसी राम्रो ‘बेस’ हो, त्यसलाई अझ राम्रो बनाउने जिम्मेवारी हाम्रो पुस्ताको हो।’

अमेरिकामै बसेको भए सायद जय इन्जिनियरिङ वा फाइनान्ससम्बन्धी कुनै क्षेत्रमा जागिर गरिरहेका हुन्थे। तर, आज उनी नयाँ पुस्ताको सोच बोकेर पारिवारिक विरासतको स्टेयरिङमा छन्। अटोमोबाइल व्यवसायको बदलिँदो बजारसँगै दौडिरहेका छन्।

हजुरबुबाको डाइहात्सु अप्लजबाट सुरु भएको उनको गाडी यात्रा ईभीसम्म आइपुगेको छ। यो यात्रामा गाडी मात्र फेरिएका छैनन्, पुस्ता फेरिएको छ, सोच फेरिएको छ र पुस्तौँदेखि चल्दै आएको व्यवसायलाई नयाँ अर्थ दिने प्रयास पनि भइरहेको छ।