काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ भएका गाडी कसरी डेलिभरी गर्ने भन्ने विषयलाई लिएर गाडी विक्रेताहरु तनावमा देखिएका छन्।
मुख्य नाका रसुवा बाढीका कारण भदौ १० देखि बन्द रहेको र तातोपानी नाका १४ गतेदेखि चीनले नै नखोलेकामा अन्तिम विकल्पका रुपमा रहेको कोरला नाकाबाट हुने आयात पनि प्रभावित भएपछि अटो व्यवसायीहरु तनावमा देखिएका हुन्। व्यापार गर्ने मुख्य सिजनमै नाका र बाटोको अवस्थाले गाडीको व्यापार चौपट हुने देखिएको हो।
बुकिङ गरेका गाडी लिन दसैं नजिकिंदै गर्दा ग्राहकको चाप बढिरहँदा विक्रेता कम्पनीहरुले भने सवारीसाधन काठमाडौं ल्याउन सकेका छैनन्। अटो शोमा बुकिङ गराएकामध्ये अहिलेसम्म निकै कम ग्राहकले मात्र गाडी पाएका छन्।
नाडा र नाइमा अटो शोमा करिब ६ हजार गाडी बुकिङ भएका बाटोका कारण अहिलेसम्म १० प्रतिशत मात्र डेलिभरी भएको व्यवसायीहरु बताउँछन्।

कोरोला जाने सडक बाढी तथा पहिरोले अवरुद्ध भएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार बेनीदेखि जोमसोमसम्म ४६ स्थानमा अवरोध छ। जसले गर्दा व्यवसायीले आयात गरेका गाडी भन्सार क्षेत्रमै अड्किएका छन्।
नामी, बीवाइडी, चेरी, लिपमोटर लगायत विभिन्न ब्राण्डका करिब १५०० गाडी भन्सार र त्यसयताका क्षेत्रमा अड्किएको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार अरु गाडी आयातका क्रममा चीनतर्फको बाटोमा छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का सदस्य गौरव शारडाले बाटोका कारण दसैंमा गाडीको व्यापार नै बिग्रिने अवस्था निम्तिएको बताए।
‘हामीले बुकिङ भएका सबै गाडी दसैंसम्म डेलिभरी गर्ने तयारीसहित आयात गरेका थियौं। सबैजसो गाडी भन्सार नाका आइपुगे पनि अहिले तल झार्न समस्या भएको छ,’ उनले भने।
उनको कम्पनीले यतिखेर आफ्ना प्राय: कर्मचारीलाई गाडी ल्याउनका लागि खटाएको छ। बिक्रीदेखि सर्भिससम्मका कर्मचारीलाई कोरलाबाट गाडी ल्याउनका लागि खटाइएको हो। तर, बाटोका कारण व्यवसायीहरुको मुख्य ध्यान अहिले बिक्रीभन्दा पनि गाडी कसरी ल्याउनेमा केन्द्रित छ।

‘हामी सबै आयातकर्ताबीच अहिले यही विषयमा छलफल भइरहेको छ। जतिखेर पनि गाडी कसरी ल्याउने? कसलाई भन्ने? बाटो कहिले बन्ला? कसले बनाउला? भन्नेबाहेक अहिले बिजनेसको कुरा हुन छाडेको छ,’ शारडाले भने।
अहिले बजारमा नगद भुक्तानी गरेर जतिसक्दो छिटो गाडी लिन खोज्ने ग्राहकको संख्या बढेको छ। तर, व्यवसायीले बाटोका कारण मागअनुसार गाडी उपलब्ध गराउन सक्ने स्थिति छैन।
दसैं आउन दुई साता मात्र बाँकी छ। तर, सडक संचालनमा आउन अझै ७ देखि १० दिन लाग्न सक्ने सूचना व्यवसायीले पाएका छन्। त्यही कारण अटो शोमा दसैंअघि गाडी डेलिभरी गर्ने गरी बुकिङ लिएका व्यवसायी अहिले दबाबमा परेका छन्।
बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका हेड अफ नेसनल सेल्स एन्ड बिजनेस डेभलपमेन्ट आशुतोष गौतम पनि बाटोका कारण गाडी डेलिभरीमा समस्या निम्तिएको बताउँछन्।
‘ग्राहकसामु गरेको वाचा तोड्न मिल्दैन। हामीले दसैं अगाडि गाडी दिन्छौं भनेर बुकिङ लिएका हौं,’ उनले भने, ‘तर सबै गाडी बाटोमा अड्किएका छन्। दसैं अगाडि डेलिभरी गर्ने गरी आयात गरेर धमाधम भन्सार जाँचपास भएको थियो। तर, बाढी पहिरोका कारण बाटो बिग्रिएर समस्या भयो।’
गाडीको व्यापारका लागि दसैं मुख्य सिजन हो। दसैंका बेला नयाँ गाडी किन्ने प्रवृत्ति छ। त्यही कारण व्यवसायीले दसैंको मुख पारेर अटो शो गरी बुकिङ लिने गरेका हुन्। उनीहरुले बुकिङका आधारमा दसैंका लागि गाडी आयात गर्ने गरेका छन्।
बुकिङ अनुसार दसैंका बेला ग्राहकलाई गाडी दिन नसके अटो शोको औचित्यमाथि नै प्रश्न उठ्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए।

‘गाडी चाडबाडमा डेलिभरी गर्न नसके अटो व्यवसायीले ठूलो बिजनेस गुमाउनुपर्ने अवस्था आउँछ। रिकभर गर्न सकिदैंन। यसले बिजनेसलाई नराम्रोसँग हान्छ,’ उप्रेतीले भने, ‘हामी खर्च गरेर अटो शो गर्छौं र गाडीको बुकिङ लिन्छौं। तर गाडी डेलिभरी दिने बेला जहिल्यै बाटोको समस्या भइरहेको छ। दसैं अगाडि डेलिभरी गर्न नसके अटो शोको औचित्य नै हराएर जान्छ।’
व्यवसायीहरुले बाढी पहिरोले भएको अवरोध तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्। नाडाका अध्यक्ष उप्रेतीले दसैंसम्म गाडी डेलिभरी गर्न बिग्रिएको बाटो चाँडो बनाउने बाहेक अरु विकल्प देखेका छैनन्। ‘अहिले चीनबाट सामान ल्याउन कोरला नाकाको विकल्प छैन। बाटोमा रहेको अवरोध सरकारले छिटोभन्दा छिटो हटाउनुपर्छ,’ उनले भने।
जुन नाकामा सिफ्ट भए पनि समस्या एउटै
व्यवसायीले यसअघि रसुवा र तातोपानी नाकाबाट गाडी ल्याउने गरेका थिए। चीनबाट सामान ल्याउन रसुवा मुख्य नाका थियो। तर, भदौ १० गतेको बाढीले रसुवा नाका कोल्याप्स भयो। साथै व्यवसायीले आयात गरेका करिब ८०० गाडी पनि बाढीमा हराए।
चीनसँगको अर्को नाका तातोपानी कोदारी क्षेत्रको सडक भत्किएका कारण साउन महिनाभर बन्द भयो। जब सडक बनाउने काम सकियो तब चीनले भदौ १४ देखि यो नाका अकस्मात बन्द गर्यो।
त्यसपछि व्यवसायीसामु कोरोला नाकाको विकल्प भएन। उनीहरुले रसुवा नाकाबाट ल्याउन अर्डर गरेका गाडी कोरलातर्फ डाइभर्ट गरे। यसो गर्दा उनीहरुको लागत महँगो पर्यो। तैपनि कोरलाबाट धमाधम गाडी भित्रिए। जाँच पास भएका करिब १ हजार हारचहारी गाडी भन्सार क्षेत्रमा थिए। शुक्रबारदेखि कोरला क्षेत्रमा हिमताप भएकाले ल्याउने अवस्था थिएन।
त्यही दिनदेखि आइतबारसम्म लगातार भएको वर्षाले सडक धेरै ठाउँमा अवरुद्ध भएको छ। जसले गर्दा सयौं गाडी भन्सार क्षेत्र र बीच बाटोमा रोकिएका हुन्।
‘७ देखि १० दिनमा बाटो खोल्ने भनिएको छ। तर दसैं आइसक्यो। दसैं आउन १०/१५ दिन मात्रै छ। बाटोकै कारण हरेक वर्ष हामीलाई गाडी ल्याउन जात्रैजस्तो हुन थालेको छ,’ शारडाले भने, ‘जुन नाकाबाट गाडी भित्र्याउन पनि वर्सेनि उही तनाव बेहोर्नुपरेको छ। यस्तो भएपछि हामीले कसरी व्यापार गर्ने?’

पोहोरको दसैंमा पनि रसुवा नाका बाढीले असारमा बगाएको पुल नबनेका कारण व्यवसायीले कोरला नाकाबाट नै गाडी आयात गरेका थिए। बाटोकै कारण व्यवसायीले पोहोर पनि दसैंको नवमीका दिन मात्र गाडीको डेलिभरी सुरु गरेका थिए।
दक्षिणी नाकाबाट आउने गाडीका हकमा भने समस्या छैन। टाटा, डिपल, महिन्द्रा, एमजी जस्ता गाडी विक्रेताले तनाव लिनुपरेको छैन। डिपल गाडीको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स (एमएडब्लू) वृद्धिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र बहादुर चन्दले पृथ्वी राजमार्ग सञ्चालन भएको अवस्थामा दक्षिणी नाकाबाट सवारीसाधन ल्याउन समस्या नहुने बताए।










