भोटेकोशी बाढीपीडितका लागि न्यूह्यामसरका नेपालीबाट १ करोड ८४ लाख रुपैयाँ सहयोग

बिजमाण्डू
२०८३ असोज १२ गते १०:४८ | Sep 28, 2026
भोटेकोशी बाढीपीडितका लागि न्यूह्यामसरका नेपालीबाट १ करोड ८४ लाख रुपैयाँ सहयोग


काठमाडौं। अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली-अमेरिकी समुदायले भोटेकोशीका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी (१ लाख २० हजार अमेरिकी डलर) सहयोग उपलब्ध गराएको छ।

Vigo
GBIME
Tata

न्यूह्यामसर नेपाली समाजको अगुवाइमा संकलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको हो। समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित समारोहमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेको छ।

सहयोग रकम ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले विपद्को अवस्थामा मद्दत पुर्‍याउने न्यूह्यामसरस्थित नेपाली समुदाय तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरे। प्राप्त सहयोग रकम उचित र पारदर्शी ढंगले पीडितसम्म पुर्‍याइने विश्वास उनले दिलाए।

समाजका अध्यक्ष शेर्पा र उपाध्यक्ष माधव गुरुङले विपत्तिमा परेकालाई सहयोग गर्नु प्रवासी नेपालीको कर्तव्य भएको बताउँदै अभियानमा सहभागी सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरे।

यस्तै बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै न्यूह्यामसर दिदीबहिनी ग्रुपले हरितालिका तीज कार्यक्रम स्थगित गरी त्यसका लागि संकलित करिब १५ हजार अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। यस्तै, समाजले आगामी अक्टोबर १० का लागि तय गरेको आफ्नो वार्षिक ‘दसैं साँझ’ कार्यक्रम पनि रद्द गरेको जनाएको छ।